newskoseli.Com

अर्थमन्त्री खतिवडा र भारतीय वित्तमन्त्रीबीच भेटवार्ता, के–के भयो कुराकानी ?

भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन आएको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडा र भारत सरकारकी वित्तमन्त्री निर्मला सितारमणबीच भारतको वित्त मन्त्रालयमा शिष्टाचार भेट भएको छ । भेटका अवसरमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिँदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गरेका छन् ।

अर्थमन्त्री डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी गराए् । भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा उनले जानकारी गराए । साना विकास अनुदान आयोजना, हुलाकी सडक, एकीकृत चेकपोस्टको कार्यान्वयन अवस्थाबारेमा समेत अर्थमन्त्री खतिवडाले जानकारी गराए । नेपाल इन्फ्रास्ट्रकचर बैंक लिमिटेडमा भारतीय लगानीकर्ताबाट समेत इक्विटीमा लगानी गर्नका लागि प्रक्रिया अघि बढेको जानकारी दिँदै सो कार्य अघि बढाउन पनि उनले अनुरोध गरे ।

भारत सरकारले भा.रु. ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनुभन्दा पहिले नेपालमा मौज्दात भा.रु. ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न पनि अर्थमन्त्री डा. खतिवडाले भारतीय वित्तमन्त्रीसँग अनुरोध गरे । भारतबाट नेपालतर्फ जाने व्यक्तिहरुले आफूसँग लैजान पाउने ठूला दरका भा.रु. नोटहरु फर्काउने सम्बन्धमा द्विविधा भएकाले त्यो स्पष्ट हुने गरी आवश्यक सूचना जारी गरिदिन समेत अर्थमन्त्री खतिवडाले अनुरोध गरे ।

पछिल्लो आर्थिक स्थिति, लगानीको वातावरण तथा राजस्वका क्षेत्रमा भएका सुधारका प्रयास, द्विपक्षीय व्यापार, वाणिज्य सन्धिलगायतका विषयमा समेत खतिवडाले सितारमणसँग छलफल गरे । नेपालको वैदेशिक व्यापारको दुईतिहाई हिस्सा भारतसँग भएको उल्लेख गर्दै अर्थमन्त्री बढ्दो व्यापार घाटा सम्बोधन गर्न भारत सरकारबाट पनि सहयोग प्राप्त हुने अपेक्षा डा. खतिवडाले व्यक्त गरे ।

भारतकी वित्तमन्त्री सितारमणले नेपाल–भारतबीचको सम्बन्ध सदियौंदेखि भएको उल्लेख गर्दै आगामी दिनमा सहायता बढाउने जानकारी गराइन् । भारतीय सहयोगमा सञ्चालित आयोजना तथा विगतको भा.रु. नोट प्रचलनमा भएको बन्देज र भा.रु. नोट प्रयोगका क्रममा उत्पन्न समस्यालाई दुवै देशको सहमतिमा समाधान गरिने उनले बताइन् । नेपाल भ्रमणका लागि निमन्त्रणा गरेकामा अर्थमन्त्री डा. खतिवडालाई धन्यवाद दिँदै आफूले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने उनले जानकारी गराइन् ।

भेटमा नेपाली राजदूतावास नयाँ दिल्लीका नियोग उपप्रमुख भरत रेग्मी र अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याल समेत उपस्थित रहेको अर्थमन्त्रीका प्रेस संयोजक यमन पौडेलले जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर