newskoseli.Com

‘नेता–कार्यकर्ता अनुशासनबाट विचलित, समाजवादको यात्रामा आफैंबाट अप्ठ्यारो’ : प्रचण्ड

फाइल तस्बिरः रासस

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना नेता–कार्यकर्ता अनुशासनबाट विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महान यात्रामा कहीं–कतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैंबाट हुने विचार व्यक्त गरेका छन् ।

विभिन्न पर्वका अवसरमा नेकपा चितवनले बिहीबार आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै परिवर्तनमा कहीं–कतैबाट खतरा नभई आफैंबाट हुन सक्ने उनले बताए । सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु आफ्नै जिम्मेवारी र दायित्व भएको भन्दै प्रचण्डले भने– ‘हामी बिग्रियौं भने प्रतिक्रियावादीले केही गर्नु पर्दैन, सजिलै सोभियत सङ्घजस्तै बन्ने खतरा हुन्छ ।’ पछिल्लो समय आफू सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विषयमा चिन्तित भएको भन्दै उनले प्रश्न गरे– ‘कसैले हल्लाएर हल्लिने स्थिति बिल्कुलै छैन तर हामी आफैंले ल्याएको परिवर्तनप्रति र त्यसको रक्षा, कार्यान्वयन गर्ने कामप्रति हामी कति गम्भीर छौं ? प्राप्त उपलब्धिलाई संस्थागत गर्ने कुरामा अलि बढी हेलचेक्र्‍याइँ, लापरबाही या अलि बढी आत्मकेन्द्रित हुँदै त गएका छैनौं ?’

पार्टीका नेता र कार्यकर्ताले कहिलेकहीं क्रान्तिको केन्द्रलाई ठीक ढङ्गले आत्मसात् गर्न सकेनन् भने त्यस्तो प्रतिक्रान्तिको खतरा हुने प्रचण्डले बताए । चितवन यतिबेला प्रतिगामीको खेल्ने ठाउँ बनेको भन्दै अराजकता फैलाउने काममा पार्टीका समर्थक, शुभचिन्तक पनि पछि लागेको आफूले सुनेको र देखेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

शुभकामना आदान–प्रदान गर्दै गर्दा कमी–कमजोरीका विषयलाई गहिरो गरी विचार गरियो भने मात्र शुभकामना सार्थक हुने प्रचण्डले बताए । चिनियाँ राष्ट्रपतिले त्यहाँका कम्युनिस्ट नेता–कार्यकर्ताको अनुशासनका बारेमा सुनाउँदा आफूलाई यहाँको अवस्था देखेर अप्ठ्यारो महशुस भएको उनले बताए ।

गृहमन्त्री र पूर्वअर्थमन्त्रीले के–के भने ?

सोही कार्यक्रममा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले समाजमा विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति रहेको बताए । उनले भने– ‘उनीहरुका विरुद्ध सङ्घर्ष गर्न सबै एकजुट हुनु जरुरी छ ।’ सरकारले नयाँ लक्ष्य प्राप्तिका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै नेपाललाई नयाँ उचाइमा पुर्‍याउन र एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको उनले बताए ।

सोही अवसरमा बोल्दै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिस्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताए । नेकपा चितवनका अध्यक्ष यमबहादुर परियारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका प्रदेश– ३ का सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश– ३ का अध्यक्ष नारायण दाहाल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले शुभकामना व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर