newskoseli.Com

गीतसङ्गीत, देउसीभैलो, मदिरा र पटाकासम्ममा गृह मन्त्रालयको यस्तो चेतावनी !

राष्ट्रिय सांस्कृतिक पहिचान र गौरव बोकेको नेपालीको महत्त्वपूर्ण चाड यमपञ्चक (तिहार) लाई अनुशाशित, मर्यादित, सभ्य र मितव्यायी रुपमा मनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

वैमनश्यता र तिक्तता त्यागेर आपसी सद्भाव, समन्वय तथा मित्रता अभिवृद्धि गरी चाड मनाउन अनुरोध गर्दै विकृतिपूर्ण क्रियाकलाप भए–गरेमा कानुनअनुसार कारबाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासनबाट तोकिएको समयावधि र प्रक्रियाको परिपालना गरी देउसी–भैलो कार्यक्रमलाई मनोरञ्जनात्मक रुपमा मात्र लिएर आयोजना गर्न आग्रह गर्दै कुनै अनुचित र दबाबमूलक माग राखेर पत्राचार नगर्न समेत भनेको छ ।

लागू पदार्थ निषेध र मदिरा नियन्त्रण अभियानलाई उच्च प्राथमिकतामा राखेर विविध कार्यक्रम सञ्चालनमा ल्याइएको सन्दर्भमा त्यसको परिपालना गर्न अग्रह गर्दै मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘नेपाली भाषा, धर्म–संस्कृति र सभ्यतालाई विकृत तुल्याई समाजमा नकारात्मक असर पर्ने खालका गीतसङ्गीत तथा श्रब्यदृष्य सामग्री उत्पादन, गायन, प्रसारण र बिक्रीवितरण नगर्न–नगराउन अनुरोध गर्दछौं ।’

त्यस्ता गतिविधि गरेमा प्रचलित कानुनअनुसार कारबाही गर्ने व्यवस्था गर्न मातहताका निकायलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । यमपञ्चक (तिहार) को समयमा यात्रुहरुको सहज आवागमन, सुपथ मूल्यमा गुणस्तरयुक्त खाद्यान्नको सहज उपलब्धता तथा शान्ति र सुव्यवस्था कायम गर्न मातहतका निकायलाई २४सै घन्टा परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । जिल्लागत रुपमा चाडबाडकेन्द्रित विशेष सुरक्षा योजना बनाई लागू गरिसकिएको भन्दै उक्त कार्यमा यातायात व्यवसायी, सञ्चारकर्मीलगायत सबैले सामाजिक उत्तरादायित्वअन्तरर्गत आ–आफ्नो तर्फबाट सेवा पुर्‍याउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रज्वलनशील पदार्थको आयात, उत्पादन र प्रयोगमा कडाइपूर्वक निषेध

प्रज्वलनशील पदार्थको आयात, उत्पादन तथा प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको जनाउँदै यस्ता गतिविधि गरे कारबाही हुने मन्त्रालयले जनाएको छ । दीपावली मनाउने क्रममा भुइँचम्पा, पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थको प्रयोगबाट सर्वसाधारण जनताको स्वास्थ्य र सुरक्षामा प्रतिकूल असर पर्ने, घाइते हुने र आगलागी भएर जनधनको क्षति हुने भएकाले त्यस्ता विष्फोटक र प्रज्वलनशील पदार्थको उत्पादन, आयात, खरिद, बिक्री र वितरण नगर्न–नगराउन समेत मन्त्रालयले आग्रह गरेको छ । कसैले यस्तो गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कुनै गुनासो वा कानुनविपरीतका कार्य भएमा नजिकको सुरक्षा निकायमा खबर गर्न आग्रह गर्दै अनुचित फाइदाका लागि हुने अवाञ्छित गतिविधिको निगरानी भइरहेको मन्त्रालयले उल्लेख गरेको छ । ठगी गर्ने, कानुन मिच्ने, लागूऔषको प्रयोग, प्रतिबन्धित मदिराको अवैध बिक्रीजस्ता गतिविधि गरेको पाइएमा कानुनअनुसार कारबाही हुने चेतावनी मन्त्रालयले दिएको खबर राससले प्रेषित गरेको छ ।

थप यो पनि पढ्नुहोस्–
टुंगियो तिहारको विवाद : ‘१३ गते होइन, १२ गते नै भाइटीका’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर