newskoseli.Com

रवीन्द्र अधिकारीको जन्मघरबाटै विद्या भट्टराईले चुनावी अभियान थाल्ने

मङ्सिर १४ मा हुने कास्की– २ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा रत्ताधारी नेकपाका तर्फबाट उम्मेदवार निश्चित भएकी विद्या भट्टराईले पोखरा महानगरपालिका– ३३, भरतपोखरीबाट चुनावी अभियान सुरु गर्ने बताएकी छन् ।

सदपंष्त रवीन्द्र अधिकारीको जन्मघर, जहाँ रवीन्द्रले जीवनको बाल्यकालसँगै राजनीतिक जीवनको यात्रा सुरुआत गरेका थियो, सोही स्थानबाट नै विद्याले चुनावी अभियानको सुरुआत गर्ने नेकपा कास्कीका निर्वाचन उम्मेदवार व्यवस्थापन समितिका संयोजक धनराज आचार्यले जानकारी दिएका हुन् । त्रिभुवन विश्वविद्यालयको प्राध्यापन पेशाबाट राजीनामा दिएर निर्वाचनमा आएकी भट्टराईले उक्त स्थानका स्थानीयवासीसँग अन्तर्क्रिया र भेटघाट गरेर अभियान सुरु गर्न लागेकी छन् ।

प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले खेमराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मनोनयन दर्ताका लागि एक दिन मात्र बाँकी रहँदा साना दल साझा पार्टी, विवेकशील नेपाली दल, समाजवादी पार्टी र राप्रपाले पनि उम्मेदवार टुङ्गो लगाइसकेका छन् । उम्मेदवारको टुङ्गो लागेसँगै कास्कीमा साना दल चुनावी अभियानमा सक्रिय भैसकेका छन् ।

आ–आफ्नै एजेन्डा अघि सारेका अधिकांश उम्मेदवारमध्ये केहीको पुरानो राजनीतिक पृष्ठभूमि देखिन्छ भने केही नयाँ छन् । उम्मेदवारहरू विकास, समृद्धि र सुशासन एवं पहिचानलगायतका मुद्दालाई चुनावी एजेन्डा बनाएर घरदैलोमा पुग्दैछन् ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्यको पदका लागि कास्की– २ मा उपनिर्वाचन हुन लागेको हो । कूल ७१ हजार ८ सय ७१ मतदाता रहेको सो क्षेत्रमा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र रहेका छन् । उम्मेदवारले कात्तिक २१ मा मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर