newskoseli.Com

प्रचण्डको प्रशिक्षण : ‘पार्टीलाई गुटबन्दीरहित पार्छौं’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीभित्रको गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदै लगेकाले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन् । गुटबन्दीरहित पार्टी निर्माण गर्ने, सबै सदस्यहरुलाई मार्क्सवादी विचारमा प्रशिक्षण दिने र त्यसैअनुसार पार्टी सदस्यलाई जिम्मेवार बनाएर समस्या समाधान गरिने उनको भनाइ छ ।

नेकपा दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्लास्तरीय वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘हाम्रो दुश्मन हामीभित्रै नै छ, बाहिरको दुश्मनलाई त हामीले पराजित गर्दै आएका छौं र अब हामी पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्नतर्फ लाग्छौं ।’ यो कार्यमा केही चुनौती भए पनि यसरी अघि बढेमा कम्युनिस्टको भविष्य सुरक्षित रहने उनले बताए ।

पार्टीको सिद्धान्त समाजवादउन्मूख जनताको जनवाद रहेकाले अहिले पार्टीको सिद्धान्तका विषयमा विभिन्न टीकाटिप्पणी हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले एकताका क्रममा तत्कालीन एमालेको जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रको २१औं शताब्दीको जनवादलाई समायोजन र परिमार्जन गरेर समाजवादउन्मूख जनताको जनवाद बनाइएको खुलाए ।

सोही कार्यक्रममा बोल्दै नेकपाका प्रदेश– ५ का इन्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोख्रेलले आलोचनाको सामना गर्न सक्नु नै सक्षम नेतृत्व भएको बताए । आलोचना गरेमा आत्तिने र प्रशंसा गर्दैमा रमाउने गरेमा आफैं कमजोर हुने भन्दै यसमा सजग रहनुपर्ने उनले बताए । चुनाव जितेर सरकार बनाउनलाई मात्रै नभई समाजलाई रुपान्तरण गर्न पार्टी एकता गरिएको उनले बताए ।

नेकपाकी प्रदेश अध्यक्ष ओनसरी घर्ती र जिल्ला अध्यक्ष टीकाराम खड्काले पार्टी एकीकरणको भावनालाई आत्मसात् गरेर अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रममा जिल्लाका प्रदेशसभा तथा प्रतिनिधिका सांसदसहित जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर