newskoseli.Com

उपेन्द्र यादवको लाचारी : ‘प्रधानमन्त्रीले झन् बढी माया गर्नुभो, परामर्श गरिराख्नु पर्दैन’

तस्बिरहरूः रासस

उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्रीमाथि व्यंग्यात्मक टिप्पणी गर्दै आफ्नो लाचारी समेत प्रकट गरेका छन् । सत्ता साझेदार दलले प्रतिनिधित्व गरिरहेको मन्त्रालय फेरबदल गर्दा प्रधानमन्त्रीले सम्बन्धित दलसँग परामर्श गरिरहनु नपर्ने भन्दै समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादवले लाचारी प्रकट गरेका छन् ।

स्वास्थ्यमन्त्रीबाट विभागीय परिवर्तन भई कानुन मन्त्री बनाइएका यादवले ‘सरुवा’ को ५ दिनपछि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गर्दै त्यस्तो लाचारी प्रकट गरेका हुन् । पदभार ग्रहण गर्दै प्रधानमन्त्रीले आफूलाई बढी नै माया गरेर कानुन मन्त्रालयमा पठाएको बताए । आफू समेत प्रभावित हुने गरी प्रधानमन्त्रीले गरेको जिम्मेवारी हेरफेरलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया उनले दिए ।

‘तपाईंसँग परामर्श नै नगरी प्रधानमन्त्रीले जिम्मेवारी परिवर्तन गरिदिनुभयो नि ?’ सञ्चारकर्मीहरुको जिज्ञासामा उनले भने– ‘परामर्श गरिराख्नु पर्दैन, यो सामान्य कुरा हो र प्रधानमन्त्रीको विशेषाधिकार समेतको कुरा हो ।’

‘मलाई अझ बढी अनुभवी होस्, धेरै मन्त्रालको अनुभव सँगालोस् भनेर प्रधानमन्त्रीले अलि बढी नै माया गरेर यो मन्त्रालयको जिम्मेवारी दिएको हुन सक्छ’– एकैसाथ आफ्नो लाचारी प्रकट गर्दै र प्रधानमन्त्रीमाथि व्यंग्यात्मक कटाक्ष गर्दै उनले भने । संघीयता अनुकूल हुने गरी कानुनहरु संशोधनको काममा आफूले ध्यान केन्द्रित गर्ने उनले बताए ।

नयाँ कार्यभार सम्हाल्दै उनले मन्त्रालयका कर्मचारीहरुलाई अझै राम्रोसँग कार्यसम्पादन गर्न निर्देशन दिए । कुनै समस्या भए आफूसँग निसंकोच कुरा राख्न कर्मचारीलाई सम्झाउँदै काम गर्ने क्रममा देखिएका कुनै पनि समस्या समाधानका लागि सचिवमार्फत आफूकहाँ आउन उनले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर