newskoseli.Com

दाहालले बल्ड्याङ खाँदै, देउवाले उछिट्याउँदै !

नयाँ बजेटको घोषणासँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ । केपी ओली नेतृत्वको सरकारले नै निरन्तरता पाएर उनकै नेतृत्वमा स्थानीय र संसदीय निर्वाचन सम्पन्न भई अर्को वर्ष मात्रै सरकार परिवर्तन हुने वा यो सरकार बिस्थापित भई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा नयाँ सरकार बन्ने भन्ने दुईथरी चर्चाले यतिबेला बजार पिटिरहेका छन् ।

तर, केही राजनीतिक विश्लेषकहरुले भने यी दुवै सम्भावनाले हावा खाने र एकाध हप्ताभित्रै कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने ठोकुवा गरेका छन् । तीमध्ये माओवादी केन्द्रकै शुभचिन्तक रहेका एक विश्लेषकले न्युजकोसेलीसँग भने– ‘तपाईं लेखेर राख्नोस्, ०७३ सालको असार १५ सम्ममा कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री भइसक्ने छन् ।’

झन्डै १ महिनाअघि तत्कालीन एमाओवादीले ओली सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि एमाले पार्टी तथा प्रधानमन्त्री ओली तिल्मिलाउन पुगेका थिए । नेपाली कांग्रेससँगको सहमतिसहित तत्कालीन एमाओवादीले उक्त कदम उठाएपछि प्रधानमन्त्री ओली तथा एमालेका शीर्ष नेताहरु र एमाओवादीको शीर्ष नेतृत्वपंक्तिबीच ९ बुँदे सहमति भई ओली सरकारले केही समयका लागि निरन्तरता पाएको थियो ।

ओली सरकारले नीति तथा कार्यक्रम र बजेट घोषणा गरी संसदले तिनलाई पारित गरेसँगै एमालेको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्नेगरी ३ बुँदै ‘भद्र सहमति’ समेत नौ बुँदेसँगै भएको थियो । त्यही सहमतिलाई आधार मानेर यतिबेला नेकपा (माओवादी केन्द्र) ले अब एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिई नयाँ प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अध्यक्ष दाहाललाई प्रस्तावित गरेर सघाउनुपर्ने दावी गरिरहेको छ ।

एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्री झलनाथ खानालले माओवादीको उक्त दावी सही भएको बताउँदै एमाले–एमाओवादीबीच ‘भद्र सहमति’ भएको र आफू समेत त्यसको साक्षी रहेको उल्लेख गरेर ‘बजेटपछि सरकारको नेतृत्व गर्न काँध फेर्ने सहमति भएको’ तथ्य सार्वजनिक गरिसकेका छन् ।

त्यसैगरी एमालेका अर्का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि नीति तथा कार्यक्रम र बजेट पारित भएलगत्तै ओलीले मैदान खालि गर्ने र दाहालको नेतृत्वमा ‘राष्ट्रिय सहमतिको सरकार बनाउन’ एमालेले समर्थन गर्ने ‘भद्र सहमति’ भएको सार्वजनिक गरिसकेका छन् । तर, बहुमतीय सरकार बनाउन भने ओलीले छाडेर दाहाललाई अघि सार्न एमालेले नसक्ने र सहमतिको ‘स्पिरिट’ पनि ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउने कुरामा मात्रै केन्द्रित रहेको वरिष्ठ नेता नेपालको दावी छ ।

यस्तो पृष्ठभूमिबीच प्रधानमन्त्री ओलीले भने नौ बुँदे लिखित सहमतिमा जे–जे कुरा सार्वजनिक भए, तीबाहेक कसैसँग कुनै सहमति नभएको दावीलाई दोहोर्याउँदै आएका छन् । आफ्नै नेतृत्वमा स्थानीय र संसदीय निर्वाचन गराएपछि आउने नयाँ संसदले अर्को सरकार चुनेपछि मात्रै आफूले छाड्ने दावी प्रधानमन्त्री ओलीले निरन्तर दोहोर्याइरहेका छन् ।

यस्तो अवस्थामा शेरबहादुर देउवा कसरी बन्छन् त केही साताभित्रै नेपालको प्रधानमन्त्री ? न्युजकोसेलीको प्रश्नमा ती विश्लेषकको जवाफ छ– ‘ओलीले आफ्नो जिद्दी दोहोर्याइरहन्छन् । तर, बजेट पारित हुनासाथ माओवादी केन्द्रले ‘फर्मल डिसिजन’ नै गरेर सरकारबाट बाहिरिई आफ्नो समर्थन फिर्ता लिन्छ । ओलीले संसदसमक्ष गई ‘विश्वासको मत’ माग्नेछन् । त्यहाँ उनले बहुमत नपाउने निश्चित छ । त्यसपछि ओली सरकार स्वतः ‘कामचलाउ’ मा बदलिन्छ ।’

अनि के हुन्छ त ? ती विश्लेषक भन्छन्– ‘त्यसपछि राष्ट्रपतिले सहमतिका आधारमा प्रधानमन्त्री बन्ने व्यक्तिको नाम माग्नेछिन्, म्याद गुज्रन्छ, कसैको नाम दर्ता हुँदैन । बहुमतीय प्रक्रिया सुरु हुन्छ । अध्यक्ष दाहाल र सभापति देउवाको उम्मेदवारी पर्छ । संसदमा प्रधानमन्त्रीय निर्वाचन हुन्छ, पहिलो चरणमा एमालेले कसैलाई सघाउँदैन अनिर्णीत हुन्छ । दोस्रो चरणमा एमालेले देउवालाई सघाउँछ र धेरैजसो साना समूहले पनि उनैलाई सघाउँछन् । दाहालले बल्ड्याङ खान्छन्, देउवाले उछिट्याउँछन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर