newskoseli.Com

प्रचण्डले दोहोर्‍याए : ‘कालापानी विवाद अन्तर्राष्ट्रियकरण नगरौं, झन् जटिल बन्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानी विवादलाई अहिल्यै अन्तर्राष्ट्रियकरण गर्नु नहुने कुरा दोहोर्‍याएका छन् । पहिले राजनीतिक र कूटनीतिक पहलबाट संवाद गरेर कालापानी सीमा समस्याको समाधान गर्न कोशिस गर्नुपर्ने उनले बताएका छन् ।

प्रेस सङ्गठन नेपालद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कालापानीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पाइँदैन, आवश्यक छैन भन्ने भाषामा आफूले नभनेको बताउँदै सुरुमा नै अन्तर्राष्ट्रियकरण गरिएमा समस्या झन् जटिल बन्ने विचार उनले व्यक्त गरे । सर्वपक्षीय–सर्वदलीय बैठकको सुझाव अनुसार नै सरकारले सो विषयमा भारतलाई पत्र पठाएको बताउँदै त्यसको जवाफ भने आइनसकेको उनले बताए ।

यसअघि संसदीय समितिमा समेत अध्यक्ष प्रचण्डले यही किसिमकाे धारणा व्यक्त गरेका थिए । उनकाे साे भनाइप्रति सार्वजनिक रूपमा कतिपयले असहति जाहेर गरेका थिए । अहिले उनले यसैलाई प्रष्ट्याउने प्रयास गरेका हुन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सर्वपक्षीय–सर्वदलीय बैठक गरेर सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको बताउँदै उनले भने– ‘लिम्पियाधुरा नै महाकाली नदीको मुहान हो, महाकाली सीमानदी हो, यसमा कहीं–कतै अन्योल छैन ।’ प्रधानमन्त्री ओली अस्पतालमा उपचाररत रहेको अवस्थामा अर्का अध्यक्षले अध्ययन भ्रमणमा जाने कुरा स्वाभाविक नदेखिँदा हाललाई चीन भ्रमण स्थगन गरिएको समेत उनले प्रष्ट्याए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा र निर्वाचनका चरणपछि अब अलि बढी ध्यान राज्यद्वारा विगतमा पछि पारिएका क्षेत्रका जनताको विकास र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने पार्टीको नीति रहेको पनि पूर्वप्रधानमन्त्री प्रचण्डले जिकिर गरे । मन्त्रिपरिषद् पुनर्गठनपछि सरकारको काममा गति आउने अपेक्षा र विश्वास जनता, सरकार र पार्टीले गरेको समेत उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर