newskoseli.Com

जसले साटिदिए परीक्षार्थीका उत्तरपुस्तिका : त्रिवि कर्मचारीको यो हदको अपराध !

सामान्यतः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्तीर्ण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानुन र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पना समेत गर्न सकिँदैन । तर, देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयका कर्मचारीले नै परीक्षाको मर्यादा नराखेको पाइएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीसँग रकम लिई परीक्षाका उत्तरपुस्तिकाको प्राप्ताङ्क फेरबदल र साटासाट गरेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई प्रभावमा पारी विद्यार्थीले लेखेको उत्तरपुस्तिकाको बाहिरी कभरपेज उही राखी भित्री पाना घर लगेर विज्ञलाई बेग्लै लेख्न लगाइएको पाइएको छ ।

बाहिर अन्य व्यक्तिलाई नै लेख्न लगाइएको उत्तरपुस्तिकालाई पछि वास्तविक कभरपेजमा नत्थी गरेर गैरकानुनी काम गरेको अभियोगमा आयोगले आइतबार चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुको लेखा शाखामा कार्यरत लेखा अधिकृत कमलप्रसाद दाहालले त्रियुगास्थित जनता बहुमुखी क्याम्पस, गाईघाटका प्रशासन सहायक तेजनारायण चौधरीमार्फत उत्तरपुस्तिाका साटफेर गर्न लगाएको पाइएको छ ।

चौधरीले सोही क्याम्पसकी परीक्षार्थी जानुका आलेमगर र बरुवा क्याम्पस, गाईघाटका हिरा कटुवालसँग एकआपसमा मिलेमतो गरी पुस्तिका साटफेर गरेको पाइएको छ । परीक्षार्थी आलेमगर र कटुवालका उत्तरपुस्तिकाको कभर पेजभित्र केन्द्रबाहिर अरूले नै लेखिदिएका उत्तरपुस्तिका तेजनारायण चौधरीमार्फत लिई साटफेर गरेर आफ्नो ओहोदा र पदको दुरुपयोग गरेको आयोगको अध्ययनमा फेला परेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उत्तरपुस्तिका साटफेर गरी परीक्षाको परिणाममा फेरबदल गराएर लाभ दिने–दिलाउने कार्यमा संलग्नलाई कारबाहीको माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर