newskoseli.Com

कालिञ्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटना : १५ को निधन, १६ घाइते (नामावलीसहित)

दोलखाको कालिञ्चोकमा तीर्थयात्रा गएर फर्केको बस लामोसाँघु–जिरी सडक खण्डको ६ किलो नजिकै आइतबार बिहान साढे ७ बजे दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । भक्तपुरको च्यामासिंह क्षेत्रमा सञ्चालन हुने बा २ ख ४४६८ नम्बरको सो बस तीर्थयात्रा गएर फर्कने क्रममा सडकबाट १ सय ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

१३ यात्रुको घटनास्थलमा नै मृत्यु भएको थियो भने २ जनाको उपचारका क्रममा सिन्धु सदाबहार अस्पताल खाडीचौरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये हालसम्म एक जनाको मात्रै सनाखत भएको छ । भीमेश्वरी नगरपालिका– ४, दोलखाकी ३६ वर्षीया जुना तामाङको सनाखत भएको छ ।

लामोसाँघु–जिरी सडक खण्डको ६ किलो भन्ने ठाउँको घुम्तीबाट बस तल खसेको सुनकोशी गाउँपालिका– ६ का वडाध्यक्ष रामकुमार थापाले जानकारी दिए । ब्रेक फेल भएर दुर्घटना भएको घाइते दीपक तामाङले जानकारी दिए । दुर्घटनामा १७ यात्रु घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पतालमा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई त्यहाँ प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

को–को हुन् मृतक ?

मृत्यु भएका १५ मध्ये १४ यात्रुको सनाखत भएको छ । दुर्घटनामा दोलखा, भीमेश्वर नगरपालिका– ९ की ४२ वर्षीया लक्ष्मी श्रेष्ठ, दोलखा, शैलुङ्गेश्वरी गाउँपालिका फस्कुका १० वर्षीय रञ्जित बस्नेत रामेछाप, उमाकुण्ड गाउँपालिका– ४, प्रीतिका २४ वर्षीय महेश तामाङ, रामेछाप सुनापति– ५ की ४२ वर्षीया जुना तामाङ, काभ्रे बेथानचोक– ५ का ३५ वर्षीय रामशरण खत्री र उनकी ३५ वर्षीया श्रीमती मैया, सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका– ४ की ५५ वर्षीया गङ्गामाया तामाङ, जुगल गाउँपालिका– ७, याङ्लकोटकी ७ वर्षीया सविना तामाङ, सोही ठाउँकी ३० वर्षीया रेश्मा तामाङ, १५ महिनाकी रोशनी तामाङ, २८ वर्षीया मञ्जु तामाङ, २८ वर्षीय सुकबहादुर तामाङ, बलेफी गाउँपालिका– ५, चिम्लिङकी ३७ वर्षीया फूलमाया तामाङ र भक्तपुर, सूर्यविनायक– ८ की ३२ वर्षीया चिनु बस्नेतको शव सनाखत भएको छ ।

बाँकी एक २४ वर्षीयाको भने केएमसी सिनामङ्गलमा उपचार हुँदाहुँदै मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताएका छन् । घटनामा १६ जना घाइते भएका छन् । भक्तपुरबाट शनिबार रिजर्भ गएको बस बेलुकी कालीञ्चोक नजिकै कुरीमा बास बसेर बिहान राजधानीतर्फ आउने क्रममा दुर्घटनामा परेको सो बसमा चालकसहित ३२ यात्रु रहेकामा चालक भने फरार रहेको जानकारी काफ्लेले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर