newskoseli.Com

नेकपाका अध्यक्षद्वयको आत्मालोचना : पार्टी संस्थागत नभएको स्वीकार (राजनीतिक प्रस्तावकाे सारांशसहित)

पार्टीको बैठक नियमित बस्न नसकेकामा नेकपाका अध्यक्षद्वयले लिखितरूपमै आत्मालोचना गरेका छन् । तीन–तीन महिनामा बस्नुपर्ने स्थायी समितिको बैठक एक वर्षपछि आइतबार सुरु भएको छ । विधानको व्यवस्थाअनुसार बैठक बस्न नसकेकामा आत्मालोचना गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीनमहिने कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।

दाहालले अर्का अध्यक्ष प्रधानमन्त्री केपी ओली समेतको संयुक्त प्रतिवेदनका रूपमा स्थायी समितिको बैठकमा सो दस्तावेज पेस गरेका हुन् । २०७७ भित्र एकता महाधिवेशन गर्नुपर्ने प्रस्ताव समेत प्रतिवेदनमा समावेश छ । एक वर्षसम्म बैठक बस्न नसक्नु स्थायी समितिसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता र मर्मविपरीत हुन पुगेको अध्यक्षद्वयले प्रतिवेदनमा उल्लेख गरेका छन् । अध्यक्षद्वयले यसलाई कमजोरी र विचलनको संकेतका रूपमा आत्मसमीक्षा गर्दै कमजोरी दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘स्थायी समितिका दुई बैठकका बीचमा यो लामो अन्तराल, प्रत्येक तीन महिनाभित्र बैठक बस्नैपर्ने आफ्नै निर्णय एवं स्थायी समितिसम्बन्धी अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मान्यता र मर्मसमेतका विपरीत हुन गएको छ,’ प्रतिवेदनमा लेखिएको छ– ‘विचार र विधिमा आवश्यक स्पष्टता र विकाससँग कम्युनिस्ट पार्टीका नियमित बैठकहरूको द्वन्द्वात्मक अन्तर्सम्बन्ध रहेको हुन्छ । यस दृष्टिले स्थायी समितिका दुई बैठकका बीचको लामो दूरीलाई विचारको गति र सिर्जना एवं विधिको पालना र परिमार्जनका प्रश्नमा रहेको गम्भीर कमजोरी र विचलनको संकेतका रूपमा आत्मसात् गरी भविष्यमा यस प्रकारका कमजोरी दोहोरिन नदिने प्रतिबद्धतासहित यो बैठकमा प्रवेश गर्नु आवश्यक छ ।’

बैठकको सुरुमै नेताहरू भीम रावल, रघुजी पन्तलगायतले लामो समय बैठक नबोलाइनुको कारण माग गरेका थिए । त्यसपछि अध्यक्ष दाहालले ‘गम्भीर आत्मालोचना’ प्रतिवेदनमै उल्लेख गरेर ल्याएको भन्दै आगामी दिनमा त्यस्तो अवस्था आउन नदिने प्रतिबद्धता जनाए । त्यसपछि मात्रै दाहालले दुई अध्यक्षका तर्फबाट प्रतिवेदन बैठकमा पेस गरे । उनले माघको पहिलो साताभित्र केन्द्रीय समिति बैठक, त्यस बैठकबाट तीनमहिने ठोस कार्यक्रम निर्धारण गरी सातै प्रदेश एवं विशेष प्रदेशहरूमा भेला, प्रशिक्षण र बैठक सञ्चालन गर्ने प्रस्ताव गरेका छन् । सबै प्रदेश, विभाग, जनवर्गीय संगठन र मोर्चाहरूलाई आ–आफ्नो कार्यक्षेत्रभित्र तीनमहिने कार्यक्रम बनाएर संगठन विस्तार र सुढृढ गर्ने तथा जनसम्बन्ध विस्तार र सुदृढ गर्ने ठोस कार्ययोजना बनाई कार्यान्वयनमा जाने पनि प्रतिवेदनमा उल्लेख छ ।

‘पहिले तीनमहिने कार्ययोजना पूरा गरी अर्को कार्ययोजना अवधिलाई जिल्ला पार्टी अधिवेशनको तयारी अवधिका रूपमा अगाडि बढाउने,’ प्रतिवेदनमा छ– ‘२०७७ सालको अन्त्यसम्म केन्द्रीय महाधिवशेन सम्पन्न गर्ने उद्देश्यका साथ पार्टी, विभाग, जवस र अन्य सबै मोर्चाका कामलाई व्यवस्थित पार्न जोड गर्ने ।’

प्रतिवेदन सात उपशीर्षकमा समेटिएको छ । अन्तर्राष्ट्रिय परिस्थितिका संकेत र हाम्रो दायित्व, राष्ट्रिय राजनीतिक परिस्थितिका सम्बन्ध, पार्टी एकता सुदृढ गर्ने सम्बन्ध, सरकारका कामहरूको सामान्य समीक्षा, उपचुनावको समीक्षा, सचिवालयले गरेका निर्णयहरूको अनुमोदनसम्बन्धी प्रस्ताव र पार्टीका आगामी कार्यक्रमको रूपरेखामा केन्द्रित प्रतिवेदन बैठकमा आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा मूलतः नियम्न विषय समेटिएका छन्–

– सरकार प्रभावकारी हुनु आवश्यक
– उपनिर्वाचनले धक्का
– संस्थागत भएन पार्टी
– सीमा मिच्नु असह्य

नेता वामदेव गौतमलाई उपाध्यक्ष बनाउने गरी सचिवालयले गरेको निर्णय अनुमोदन र त्यसका लागि विधान संशोधनसहितको प्रस्ताव पनि बैठकमा पेस भएको छ । सो प्रस्ताव महासचिव विष्णु पौडेलले पेस गरेका छन् ।

राजनीतिक प्रतिवेदनमाथि नेताहरूले सोमबारदेखि छलफल चलाउनेछन् । सदस्यहरुलाई १० मिनेट बोल्न दिने प्रस्ताव शीर्ष नेताले गरे पनि सदस्यले भने कम्तिमा आधा घन्टा बोल्न पाउनुपर्ने माग गरेका छन् । स्थायी समितिको बैठक बस्नुअघि आइतबारै प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक बसेको थियो । प्रधानमन्त्री ओली पनि केहीबेर बैठकमा सहभागी भएका थिए । उनले आफ्नो स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका थिए । स्थायी समितिमा पेस भएको प्रतिवेदनमा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना पनि गरिएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर