newskoseli.Com

५६२८२ शिक्षक अपुग, १५ जिल्लामा चाहिनेभन्दा बढी

देशभर ५६ हजार २ सय ८२ शिक्षकको अभाव देखिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अबको दुई महिनाभित्र देशैभर शिक्षक दरबन्दी पुनर्वितरण गर्ने गरी काम सुरू गरिएको जनाए तापनि अपुग रहेका शिक्षकको बारेमा के गर्ने भन्नेमा निर्णय गर्न सकेको छैन ।

तथ्यांकअनुसार सबैभन्दा बढी शिक्षकको अभाव मावि तहमा देखिएको छ । मावि तहमा १९ हजार १ सय १ जना शिक्षक अपुग छन् । त्यस्तै, निमावि तहमा १८ हजार १ सय ४० र प्राविमा १६ हजार ६ सय २१ तथा उच्च माविमा २ हजार ४ सय २० शिक्षक अपुग रहेको बताइएको छ ।

पूर्वसचिव महाश्रम शर्माको कार्यदलले देशैभर तहगतरूपमा अपुग भएका शिक्षकको संख्या उल्लेख गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । सोही आधारमा शिक्षा विकास तथा मावन स्रोत विकास केन्द्रले अपुग शिक्षकको तथ्याङ्क निकालेको हो ।

दरबन्दी पुनर्वितरण कार्यविधि, २०७६ पास गरेसँगै शिक्षक मन्त्रालयले पुनर्वितरण गरिसकेपछि अपुग शिक्षकको विषयमा छलफल गर्ने र स्थायी शिक्षकको आवेदन खुला गर्ने तयारी शिक्षक सेवा आयोगले गरेको छ । पुनर्वितरण प्रक्रिया सकेपछि आवश्यक पर्ने शिक्षक स्थानीय तहको सहयोगमा व्यवस्थापन गर्ने गरी तयारी भएको केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले जानकारी दिए ।

के गर्दैछन् सम्बन्धित निकाय ?

अपुग शिक्षक व्यवस्थापन गर्न हाल केन्द्रले प्रावि तहका विद्यालयलाई १०–१० लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही बजेटभित्र रहेर प्रावि तहका विद्यालयले केही शिक्षक व्यवस्थापन गरिरहेको केन्द्रले जनाएको छ । शिक्षक थप गर्दा अपुग रकम व्यवस्थापन गर्ने विषयमा अर्थ मन्त्रालयलसँग छलफल भइरहेको जानकारी गराउँदै आगामी आर्थिक वर्षमा बजेट व्यवस्थापन भएपछि समस्या समाधान हुने उपमहानिर्देशक श्रेष्ठले दाबी गरे ।

‘केन्द्रले शैक्षिक सत्र २०७७ सँगै सबै तहमा शिक्षक पुनर्वितरण हुने गरी काम शुरू गरिसकेको छ, नयाँ शैक्षिक सत्रसँगै १२ हजार ८ सय २७ शिक्षकको दरबन्दी पुनर्वितरण हुनेछ’– उनले भने ।

कतै बढी पनि…

एकातिर शिक्षक अपुग छन् भने केही जिल्लामा बढी दरबन्दी पनि छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेश १ को तेह्रथुममा ३९, प्रदेश ३ को ललितपुरमा १ सय ४४, भक्तपुरमा १ सय ६० र काठमाडौंमा ८ सय २७ गरी १ हजार १ सय ३१ दरबन्दी बढी छ । त्यस्तै, गण्डकी प्रदेशमा १ हजार ६७, कर्णालीको डोल्पा र जाजरकोटमा १२–१२ शिक्षक दरबन्दी बढी छन् ।

बढी भएका १५ जिल्लाका शिक्षकलाई अन्य जिल्लामा मिलान गर्ने तयारी मन्त्रालयले गरिरहेको खबर ईश्वरराज ढकालको बाइलाइनमा आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर