newskoseli.Com

अमेरिकाको धम्की : ‘एमसीसी सच्चिँदैन, लागू नगरे अप्ठ्याराे पर्ला’

नेपालको राष्ट्रिय सार्वभौमिकता र अन्तर्राष्ट्रिय कूटनीतिक मूल्य–मान्यतालाई ध्वस्त पार्ने गरी अमेरिकाले लादेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई परिमार्जन गरेर संसदबाट अनुमोदन गरिन्छ भन्दै सत्ताधारी नेकपाले कसरत गरिरहेकै बेला अमेरिकाले भने त्यसमा कुनै परिमार्जन–परिवर्तन नहुने र त्यो जस्ताको तस्तै लागू नगरे नेपालले ‘अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने’ धम्की दिएको छ ।

एमसीसी सम्झौता कार्यान्वयन प्रक्रियामा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारुढ दलका नेताहरूलाई भेटेर अमेरिकाको धारणा प्रस्ट पार्दै यस्तो चेतावनी दिएका हुन् ।

कार्यान्वयनको चरणमा गएपछि परिवर्तनको गुञ्जायस नहुने भन्दै ब्रुक्सले स्पष्ट सन्देश दिए– ‘अबको परिवर्तन अमेरिकालाई मान्य हुँदैन ।’ सत्तारुढ दल नेकपाभित्र एमसीसी सम्झौता संशोधन गरी अनुमोदन गर्न सकिने चर्चा चलिरहेका बेला अमेरिकाको यस्तो चेतावनी आएको हो । एमसीसी कम्प्याक्टबारे परामर्शका लागि नेपाल आएका ब्रुक्सले सबै पक्षसँगको छलफलका क्रममा उक्त धारणा राखेको सहभागी एक अधिकारीले बताए ।

ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओली, एमसीसीबारे अध्ययन गर्न बनेको सत्तारुढ दलको कार्यदल संयोजक पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सदस्यद्वय परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वगृह–रक्षामन्त्री भीम रावल, अन्य नेता तथा सरकारी अधिकारीसँग भेट गरेका थिए । उनी मंगलबार स्वदेश फर्किएका छन् ।

एमसीए नेपालको सञ्चालक समितिसँग अहिले भइरहेको कामको प्रगति र देखिएका समस्याबारे पनि उनले छलफल गरेका थिए । कार्यदलका सदस्य र अन्य नेताले एमसीसीबारे उनको धारणा सुनेका थिए । त्यसपछि ‘समस्या नरहेको’ भन्दै कम्प्याक्टलाई यथाशीघ्र अघि बढाउने जानकारी नेताहरूले उनलाई दिए ।

एमसीसी कार्यान्वयनमा जानेमा ढुक्क हुन सरकारले ब्रुक्सलाई आश्वस्त पारेको भेटमा सहभागी भएका एक अधिकारीले बताए । सरकारको प्रतिबद्धताप्रति खुसी हुँदै स्वीकार गरेर काम अघि बढाउन सुझाएर ब्रुक्स फर्किएका हुन् । एमसीसी अनुमोदनका लागि असार ३० मा प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भए पनि अझै अनुमोदन हुन नसकेपछि अमेरिका चिढिएको–झस्किएको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर