newskoseli.Com

‘ठूलठूला आक्रमण गर, सदरमुकाम हान्देऊ भन्थे गिरिजा’ : प्रचण्डको खुलासा

तत्कालीन विद्रोही नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का अध्यक्ष, पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धकालको उत्कर्षपूर्ण अवधिमा ठूलठूला फौजी आक्रमण गरिदिन र सदरमुकाममाथि हमला गर्न आफूहरुलाई तत्कालीन संसदीय धारका प्रमुख नेता गिरिजाप्रसाद कोइरालाले बारम्बार आग्रह गर्ने गरेको खुलासा गरेका छन् ।

२५औं जनयुद्ध दिवसका दिन बिहीबार सत्ताधारी पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा आयोजित ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरुकाे स्मृतिमा आयोजित श्रद्धाञ्जली सभा’ मा बोल्दै अध्यक्ष प्रचण्डले सो खुलासा गरेका हुन् । ‘निरंकुश राजतन्त्रविरुद्ध आन्दोलन’ चलिरहेका बेला कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले ठूलठूला आक्रमण गर्न आफूलाई सुझाउने गरेको उनले बताए । राजाविरुद्धको अभियानलाई बलियो बनाउन आक्रमणका लागि आफूलाई कोइरालाबाट आग्रह आउने गरेको उनले बताए ।

‘नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालासँग मेरो दिनदिनै जस्तो कुरा हुन्थ्यो । फौजी आक्रमण अलि बढाइदिनुप¥यो, सदरमुकाम हान्नुप¥यो भन्नुहुन्थ्यो, बडो विचित्रको कुरा हुन्थ्यो’– अध्यक्ष दाहालले सुनाए । दलहरुबीच फरक किसिमबाट बनेको एकताले देशमा संविधान निर्माण र संघीयता आएको उनको भनाइ छ ।

‘परम्परागत कम्युनिस्ट होइनौं, लडिरहेकै भए गोन्जालो हुन्थ्यौं’

कम्युनिस्टहरु आन्दोलन र युद्धका बेला दुःख, त्याग र तपस्या गर्न तथा रातभर भोकै बस्न तयार हुने गरेको उनले बताए । ‘तर, सत्तामा पुगेपछि त्यसरी बस्न सक्दैनौं, यो कम्युनिस्टहरुलाई लाग्ने रोग हो । नेपालमा यो रोग नलागोस् भनेर समीक्षा गर्नुपर्छ’– उनले भने ।

आफूहरु परम्परागत कम्युनिस्ट नभएको अध्यक्ष प्रचण्डले बताए । ‘दस वर्ष विद्रोह गरेपछि अब जे–जे पर्छ, आँखा चिम्लेर अन्तिमसम्म जाऔं भनेको भए हाम्रो नियति श्रीलंकाको तमिल र पेरुको गोन्जालोको जस्तो हुने खतरा थियो । फिलिपिन्स, टर्की र कोलम्बियामा जस्तो असफल हुन सक्थ्यो’– उनले भने ।

मुक्ति र समृद्धिका लागि जनयुद्ध : वामदेव गौतम

सोही कार्यक्रममा बोल्दै नेकपाका उपाध्यक्ष वामदेव गौतमले जनताको मुक्ति र समृद्धिका लागि जनयुद्ध भएको बताए । ‘जनयुद्धका बेला तीन सयभन्दा बढी एमाले कार्यकर्ताले रगत बगाएका छन्’– उनले भने ।

प्रचण्डको भनाइ आपत्तिजनक : कांग्रेस

आफ्ना दिवंगत नेता गिरिजाप्रसाद कोइरालासँग जोडेर प्रचण्डले दिएको यस्तो अभिव्यक्तिप्रति नेपाली कांग्रेसले भने आपत्ति जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै ‘माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णांयक पहल गर्नुहुने शान्तिका नायक दिवंगत गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत छ’ भनेको खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर