मौसम परिवर्तनको क्रममा हुने डिप्रेसनलाई मौसमी डिप्रेसनका रूपमा चिनिन्छ । जाडो मौसममा देखिने डिप्रेसनका लक्षणलाई ‘विन्टर डिप्रेसन’ भनिन्छ । मौसमको परिवर्तनअनुसार हुने डिप्रेसनलाई चिकित्सकीय भाषामा ‘सिजनल अफेक्टिभ डिसअर्डर’ भनिन्छ ।
डिप्रेसनका विभिन्न प्रकारमध्ये एक किसिमको डिप्रेसन हो विन्टर डिप्रेसन । मौसमी डिप्रेसनको समस्या धेरैजसो जाडो मौसममा देखिन्छन् । व्यक्ति लामो समयसम्म निराश भएको खण्डमा डिप्रेसनको समस्या हुन सक्छ ।
लक्षण डिप्रेसनकै जस्ता
विन्टर डिप्रेसन भएको अवस्थामा दिक्क लाग्ने, थकाई लाग्ने, कुनै कुरामा पनि रमाइलो लिन नसक्ने, दिक्दारीपूर्ण सोचाइ बढ्नेजस्ता लक्षण देखिन्छन् । यस्तो समस्या भएको अवस्थामा काममा आत्मबल कम हुने, पहिले गरिरहेको काम पनि गर्न सक्दिन भनेजस्तो लाग्ने, सानो कुरालाई पनि अनावश्यक रूपमा लिने, चाँडै रुन मन लाग्ने, भावुक बन्नेजस्ता लक्षण देखिन सक्छन् । समस्या बढ्दै गए व्यक्तिले बाच्नुँलाई नै भार सम्झिएर मृत्युको बाटो रोज्ने सम्भावना समेत निम्तन सक्छ । डिप्रेसनको पनि तह हुन्छ । कडा भएको अवस्थामा आत्महत्यासम्मको सोचाइ आउन सक्छ । डिप्रेसनका यस्ता लक्षण मौसम परिवर्तनअनुसार देखिएको खण्डमा मौसमी डिप्रेसन अर्थात् ‘सिजनल अफेक्टिभ डिस्अर्डर’ का रूपमा लिन सकिन्छ । कतिपय व्यक्तिलाई जाडो सुरु भएसँगै डिप्रेसनको लक्षण बढ्दै जान्छ र जाडो कम हुँदै जाँदा डिप्रेसनको लक्षण पनि कम हुँदै जान्छ ।
व्यक्तिलाई एउटा जाडो मौसममा विन्टर डिप्रेसन भयो भन्दैमा त्यस्तो व्यक्तिलाई डिप्रेसन नै भएको ठान्न मिल्दैन । एउटा जाडो मौसममा डिप्रेसनको लक्षण देखिएको व्यक्तिमा अर्को मौसममा त्यस्तो लक्षण नदेखिन पनि सक्छ । तर, प्रत्येक वर्ष जाडो मौसम सुरु भएसँगै डिप्रेसनका लक्षण देखिएमा भने विन्टर डिप्रेसनको शङ्का गर्न सकिन्छ । मन दुःखी तथा उदास हुने, झर्को लाग्ने, शरीरमा ऊर्जा नै नभएको महशुस हुने, रुन मन लाग्नेजस्ता डिप्रेसनका लक्षण हुन् । यस्ता लक्षण लगातार देखिएको खण्डमा सजग हुनु आवश्यक छ ।
विन्टर डिप्रेसन जाडोमै किन ?
जाडोमै विन्टर डिप्रेसन हुने कारणहरूका सम्बन्धमा विभिन्न अनुमान छन् । ठ्याक्कै यही कारणले विन्टर डिप्रेसन हुन्छ भन्न मुस्किल छ । तर, धेरैजसो अवस्थामा घामको अभावका कारण विन्टर डिप्रेसन हुने सम्भावना देखिन्छ । घाममा अत्यन्तै कम बस्ने व्यक्तिमा यस्तो समस्या हुन सक्छ ।
घाममा बस्दा यो समस्याबाट छुटकारा पाउन सकिन्छ । भिटामिन ‘डी’ को कमीले विन्टर डिप्रेसनको सम्भावना हुन्छ भनिए पनि यसको प्रत्यक्ष सम्बन्ध देखिँदैन । तर, घामको अभावमा यस्तो डिप्रेसनको सम्भावना बढी हुने भएकाले भिटामिन ‘डी’ को अभावका कारण विन्टर डिप्रेसन हुने सम्भावना छ । भिटामिन ‘डी’ र डिप्रेसनका विषयमा धेरै अध्ययन भएका छन् ।
मष्तिष्कसँग सूर्यको किरण तथा उज्यालोको सम्बन्ध हुन्छ । उज्यालो तथा घमाइलो मौसममा व्यक्तिको मन–अनुहार उज्यालो हुन्छ । धुम्म परेको मौसममा व्यक्ति निराश हुन सक्छ । त्यसैले, उज्यालो र अँध्यारोले व्यक्तिको मन (मुड) लाई प्रभाव पार्छ । घामको उज्यालो किरणले मष्तिष्क–रसायनमा प्रभाव पारेको हुन्छ; परिवर्तन हुन्छ । डिप्रेसनमा सेरोटोनिन्, डोपामिनजस्ता मष्तिष्क–रसायनले प्रभाव पार्ने भए पनि घामका किरणले प्रत्यक्ष रूपमा परिवर्तन गर्दैन ।
सूर्यको प्रकाशको अभावमा सेरोटोनिन् नामक खुशी दिने किसिमका मष्तिष्क–रसायनको उत्पादनमा कमी हुन सक्छ । यसो हुँदा व्यक्तिमा डिप्रेसनको सम्भावना हुन्छ । अँध्यारोका कारण ‘मेलाटोनिन’ मष्तिष्क–रसायनको उत्पादनमा वृद्धि हुन्छ । यसकारण जाडो मौसममा व्यक्तिको शरीर शिथिल हुन सक्छ ।
सावधानी र उपचार पद्धति
डिप्रेसनका लक्षणहरू जस्तै विन्टर डिप्रेसनका पनि लक्षणहरूको आधारमा उपचार पद्धति अपनाउन सकिन्छ । विन्टर डिप्रेसनको समस्याबाट बच्नका लागि दैनिक घाम लाग्ने ठाउँमा बस्नु उचित हुन्छ । शरीरमा घाम नपुगेर समस्या भएको अवस्थामा कुनै लाइट बालेर थेरापी गर्न सकिन्छ । विन्टर डिप्रेसनको समस्याबाट बच्ने विभिन्न उपायमध्ये एक हो– लाइट थेरापी ।
जीवनशैली व्यवस्थित गरेको खण्डमा यस्तो समस्याबाट बच्न सकिन्छ । खाने, सुत्नेलगायत नियमित दैनिकी गर्नाले पनि यस्तो समस्याबाट बच्न सकिन्छ । सामान्य रूपमा स्वस्थ हुनका लागि फलफूल खानु आवश्यक हुन्छ । तर, भिटामिन ‘सी’ प्राप्त हुने किसिमका फलफूल खाँदैमा डिप्रेसनको समस्याबाट बच्न सकिन्छ नै भन्ने यकिन गर्न कठिन छ । धूम्रपान तथा मद्यपानले शारीरिक तथा मानसिक स्वास्थ्यमा असर गर्ने भएकाले धूम्रपान तथा मद्यपान गर्नु हुँदैन । निद्राको पनि ठूलो भूमिका हुने भएकाले राम्रोसँग निदाउनुपर्छ । सन्तुलित रूपमा ननिदाएको अवस्थामा मानसिक असन्तुलनको सम्भावना हुन्छ । नियमित व्यायाम गर्नाले यस्तो समस्याबाट बच्न सकिन्छ ।
पारिवारिक घुमघाम गर्दा व्यक्तिले आनन्द महशुस गर्छ । त्यसैले घुमघाम गर्नु समग्र स्वास्थ्यकै लागि फाइदाजनक हुन्छ । पारिवारिक तथा सामाजिक कार्यमा सहभागी हुनाले व्यक्ति खुशी भई मानसिक समस्याबाट बच्न सक्दछ ।
मानसिक समस्या भएको अवस्थामा मनोचिकित्सकको सल्लाह लिनु उचित हुन्छ । मानसिक समस्याका सबै अवस्थामा औषधि सेवन गर्नुपर्छ नै भन्ने पनि हुँदैन । उपचारका विभिन्न उपाय हुन्छन् । विन्टर डिप्रेसनको लक्षण कडा हुँदै गएको अवस्थामा औषधि सेवन गर्नुपर्ने हुन सक्छ । डिप्रेसनकै उपचार पद्धति अनुसार उपचार गर्न सकिन्छ । बेलैमा समस्याको पहिचान गरी उपचार पद्धति अपनाएको खण्डमा विन्टर डिप्रेसनको उपचार हुन्छ ।
लेखक मनोचिकित्सक हुन्
होलिस्टिकबाट