newskoseli.Com

कोरोनाबाट कसरी बच्ने ? पीपीईको प्रयोग र स्वास्थ्यकर्मीको सुरक्षाबारे

कोरोनाभाइरस रुघाखोकी गराउने भाइरसकै समूहको एउटा प्रकार हो । साधारण किसिमको कोरोनाभाइरसको संक्रमण भएमा रुघाखोकीको लक्षण देखापर्छ र करिव एक हप्तामा आफैं निको हुन्छ । तर, विभिन्न कारणले ती भाइरसहरुको वंशाणुगत परिवर्तन (म्युटेसन) भई बनेको र अहिले विश्वभर प्रकोप मच्चाइरहेको कोरोनाभाइरसकै संक्रमण भएको अवस्थामा भने डरलाग्दो किसिमले, एकदमै छिटो फैलिएर महामारीको रुप लिने जोखिम हुन्छ ।

यसरी वंशाणुगत परिवर्तन भई बनेको कडा कोरोनाभाइरसको संक्रमण हुँदा ज्यानै जानेसम्मको खतरा हुन्छ । भाइरसको रुप परिवर्तन भएर कडा स्वरुप लिँदा यसको संक्रमण विश्वभर फैलिएर महामारीकै रुप लिएका धेरै उदाहरण छन् । सन् २००२ मा चीनबाटै देखापरेको सार्स र सन् २०१२ मा साउदी अरेबियाबाट देखापरेको मर्स भाइरस कडा भएर विश्वमै महामारीको रुप लिएका थिए । सार्सको संक्रमण भएकामध्ये दस प्रतिशतको ज्यान गएको थियो । सार्सले चीनलगायत २६ मुलुकलाई प्रभावित पारेको थियो । सार्स भाइरसको संक्रमणले सन् २००३ मा ८ हजारभन्दा बढीको मृत्यु भएको थियो । मर्स भाइरसको संक्रमणले मध्यपूर्वलगायतका २४ मुलुकलाई प्रभावित पारेको थियो । सार्स र मर्स पनि कोरोनाभाइरस नै थिए तर ती अहिलेको भन्दा अघिल्लो जेनरेसन (पुस्ता) का थिए भने हाल महामारी फैलाइरहेको कोरोनाभाइरस नयाँ पुस्ताको हो ।

हालको कोरोनाभाइरस (कोभिड– १९) चीनको हुवाबे प्रान्तको वुहान सहरबाट २०१९ को डिसेम्बरदेखि फैलन थालेको हो । अहिलेसम्म विश्वका अधिकांश मुलुकमा यो भाइरस फैलिइसकेको छ । यो भाइरस असाध्यै तीव्र गतिमा फैलिएको देखिएको छ । कोभिड– १९ ले विश्वलाई नै आतंकित बनाएको छ । संक्रमित व्यक्तिहरुको हेलचेक्र्याइँका कारण यसको नियन्त्रणमा कठिनाइ देखिाएको छ । यो तीतो यथार्थ हो ।

कसरी फैलन्छ कोरोना ?

भाइरस संक्रमित व्यक्तिले खोक्दा भाइरसका कण (ड्रपलेट) हरु सहजै एकदेखि दुई मिटरसम्मको दुरीमा पुग्न सक्छन् । कोभिड– १९ भाइरस केही घन्टादेखि केही दिनसम्म पनि जीवितै रहन सक्छन् । संक्रमितले खोक्दा तथा हाछ्युँ गर्दा निस्केका भाइरस टेबल, कुर्सी, भाँडाकुँडा, कपडा तथा विभिन्न सामानमा जीवितै रहिरहन्छन् । ती सामग्री अर्को व्यक्तिले छुँदा भाइरसत हातमा सर्छन अनि हातले नाक, मुख, आँखामा छुँदा शरीभित्र प्रवेश गर्छन् ।

संक्रमित व्यक्तिले सास फेर्दा, खोक्दा र हाछ्युँ गर्दा नजिक रहेका व्यक्तिमा सहजै भाइरस सरी ती व्यक्तिलाई पनि संक्रमित गराउँछन् । हालको तथ्यांकलाई विश्लेषण गर्दा कोभिड– १९ भाइरसबाट संक्रमित एक व्यक्तिले अरु तीन जनालाई संक्रमण गराउन सक्ने देखिएको छ । बेलैमा रोकथामका उपाय नअपनाउँदा वा नियन्त्रण नगर्दा एक व्यक्तिबाट सुरु भएको संक्रमण हजारौंमा फैलन सक्छ ।

पहिलो जोखिममा स्वास्थ्यकर्मी

कोभिड– १९ भाइरसले कुनै लिंग, उमेरसमूह तथा पेशा छुट्याउँदैन । अस्पतालमा सेवा गर्ने स्वास्थ्यकर्मीलाई यो भाइरसको जोखिम अझ बढी हुन्छ किनकि अस्पतालमा बिरामीको चापका बीच उनीहरुले काम गर्नुपर्छ । साथसाथै, भाइरस संक्रमित व्यक्तिलाई दैनिक उपचार तथा सेवा गर्ने व्यक्ति भनेका नै स्वास्थ्यकर्मी हुन् ।

यसरी चिकित्सक, नर्स, ल्याब टेक्निसियन, एक्स–रे टेक्निसियन, एम्बुलेन्स चालक, अस्पतालका कर्मचारी तथा सहयोगीलगायत भाइरस संक्रमणको जोखिममा बढी पर्ने भएकाले सुरक्षाका उपाय अपनाउनु अत्यावश्यक हुन्छ । त्यसैकारण विश्व स्वास्थ्य संगठनले समेत कोरोनाभाइरसका संक्रमितको सेवामा खट्ने चिकित्सक र सम्बद्ध स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षाका उपायसम्बन्धी गाइडलाइन नै जारी गरेको छ ।

चीन, इटालीललागयतका देशमा कोभिड– १९ को उपचारमा संलग्न धेरै स्वास्थ्यकर्मीको मृत्यु भैसकेको देखिएको छ । अर्कातिर संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीले अरु बिरामीको सेवा गर्दा र आ–आफ्नो घरपरिवार तथा समाजका अरुसँग सम्पर्क गर्दा सबैतिर फैलने खतरा पनि उत्तिकै छ । त्यसैले, स्वास्थ्यकर्मीले पनि निकै सचेत भएर संक्रमित बिरामीको उपचार गर्नुपर्छ ।

स्वास्थ्यकर्मी तथा अरु बिरामीलाई सुरक्षित गराएर कोरोना संक्रमित र संकास्पद बिरामीको उपचार गर्न तथा गराउन स्वास्थ्य संस्था तथा सरकारी निकायले गम्भीर ध्यान दिनु आवश्यक छ । विश्व महामारीको यस्तो अवस्थामा स्वास्थ्यकर्मीले बिरामीको उपचारमै व्यस्त हुनुपर्ने तथा अस्पतालहरुले पनि सुरक्षाका सामग्री सहजै पाउने सम्भावना कम भएकाले उपचारमा खटिने स्वास्थ्यकर्मी तथा सहयोगीका लागि व्यक्तिगत सुरक्षाका साधन–स्रोतको व्यवस्था सरकारले नै मिलाउनुपर्छ । कोभिड– १९ को संक्रमणसम्बन्धी जाँच गर्ने किटहरु पनि यथासिघ्र देशका मुख्य अस्पतालहरुलाई सरकारले नै उपलब्ध गराउनु जरुरी छ ।

यी पंक्ति लेख्दासम्म नेपालभित्र जम्माजम्मी चार जना संक्रमित फेला परेको र तीमध्ये एकलाई निको भैसकेको अनि अरु तीन जनाको स्वास्थ्य स्थिति सामान्य नै रहेको अवस्थामा ठूलै चिन्ता लिइहाल्नुपर्ने स्थिति नभए तापनि गम्भीर पूर्वतयारी र अधिकतम सावधानी अत्यावश्यक भैसकेको छ ।

अरु महामारीहरुमा जस्तै कोभिड– १९ को रोकथामका सन्दर्भमा पनि विश्वकै नेतृत्वदायी भूमिकामा रहेको विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको संक्रमण रोकथामका लागि विभिन्न नीति तथा मार्गदर्शन (गाइडलाइन) तयार पारेको छ । पटक–पटक साबुन–पानीले हात धुने, सामाजिक दुरी कामय गर्ने, भीड नलाग्ने, खोक्दा तथा हाछ्युँ गर्दा नाक र मुख रुमाल या कुहिनाले छेक्ने, मास्क लगाएर हिँड्नुपर्नेजस्ता गाइलाइन विश्व स्वास्थ्य संगठनले तयार गरेको छ । सुरक्षाका यी विधिलाई मात्रै पनि गम्भीरतापूर्वक पालना गर्ने हो भने यो भाइरसको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।

कोरोनाभाइरस नियन्त्रण तथा स्वास्थ्यकर्मीको सुरक्षाका लागि विश्व स्वास्थ्य संगठनले ‘क्रिटिकल प्रिपियरनेस, रेडिनेस तथा रेस्पोन्स एक्सन फर कोभिड– १९’ नामक गाइडलाइन तयार गरेको छ । चीनले पनि आफ्नो ‘ह्यान्ड बुक अफ कोभिड– १९ प्रिभेन्सन एन्ड ट्रिटमेन्ट’ नामक गाइडलाइन तयार गरेको छ ।

यी गाइडलाइनको मुख्य उद्देश्य नै संक्रमण रोक्नु र फैलनबाट जोगाउनु हो । यी गाइडलाइनअनुसार स्वास्थ्यकर्मीका लागि गुणस्तरीय व्यक्तिगत सुरक्षा सामग्री (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट– पीपीई) को सावधानीपूर्ण उपयोग अनिवार्य हुन्छ ।

नत्र स्वास्थ्यकर्मीमा संक्रमण…

पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) अन्तर्गत संक्रणको लक्षण देखिएका तथा संक्रमित बिरामीको उपचार र हेरविचार गर्दा स्वास्थ्यकर्मीले लगाउनुपर्ने भित्री कपडा, डिस्पोजेबल (एक पटक प्रयोग गरिसकेपछि फाल्ने) टोपी, एन– ९५ मास्क, डिस्पोजेबल पञ्जा, चस्मा (गगल्स), सम्पूर्ण शरीर छोप्ने तथा शरीरमा भाइरस प्रवेश गर्न नसक्ने किसिमका (प्रोटेक्टिभ) कपडा र जुत्ता पर्दछन् । व्यक्तिगत सुरक्षाका यस्ता सामग्रीको प्रयोग गरेर मात्रै स्वास्थ्यकर्मीले संक्रमित वा आशंकित व्यक्तिको उपचार वा सेवा गरेको अवस्थामा मात्रै स्वास्थ्यकर्मी संक्रमणबाट सुरक्षित हुन्छ । संक्रमित व्यक्तिको उपचार तथा सेवामा खट्दा यस्ता सामग्रीको प्रयोग नगरिए स्वास्थ्यकर्मीलाई नै कोभिड– १९ को संक्रमण हुने जोखिम हुन्छ ।

पीपीई उपलब्ध भएर मात्र हुँदैन, यसलाई राम्ररी प्रयोग गर्न पनि जान्नुपर्छ । यस्ता सामग्री प्रयोग गर्न नजान्दा वा हेलचेक्र्याइँ भएको अवस्थामा संक्रमणको झन् बढी जोखिम हुन्छ । यी सामग्रीको प्रयोग गरिसकेपछि आफूले प्रयोग गरेका सामग्रीको व्यवस्थापनमा समेत पर्याप्त ध्यान पुर्‍याउनु आवश्यक हुन्छ ।

पीपीई प्रयोग गर्ने प्रक्रिया

व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगाउने तथा फुकाल्ने पनि आफ्नै निश्चित तरिका छन् । प्रत्येक किसिमका पीपीई लगाउने फरक–फरक कोठा हुन सक्छन् ।

संक्रमित व्यक्तिलाई सेवा दिन जानुअघि सफा कोठामा बसी स्वास्थ्यकर्मीले घरमा लगाएर आएका कपडा खोल्नुपर्छ । त्यसपछि अस्पतालले उपलब्ध गराएका संक्रमणबाट सुरक्षित हुने किसिमका भित्री कपडा लगाउनुपर्छ । भित्री कपडामा सर्ट वा टिसर्ट र सुरुवाल पर्छन् । भित्री कपडा लगाइसकेपछि साबुन–पानी वा स्यानिटाइजरले राम्रोसँग हात धुनुपर्छ । हात धोइसकेपछि पीपीई टोपी र मास्क लगाउनुपर्छ । त्यसपछि हातमा भित्री पञ्जा लगाएर त्यसभन्दा बाहिर सुरक्षित गाउन तथा बाहिरी कपडा र चस्मा लगाउनुपर्छ ।

अन्त्यमा, हातमा बाहिरी पञ्जा समेत लगाएपछि स्वास्थ्यकर्मी बल्ल संक्रमित व्यक्तिको उपचारका लागि सुरक्षित हुन्छ । स्वास्थ्यकर्मीले यसरी पीपीई लगाइसकेपछि मात्र कोभिड– १९ का बिरामीको सेवामा जानुपर्छ । यस्तो भाइरसको संक्रमण भएको बिरामीलाई तिनका आफन्तले भेट्न जान पाइँदैन र जानु हुँदैन । पीपीई लगाएका स्वास्थ्यकर्मीले मात्रै संक्रमित बिरामीलाई भेट्नुपर्छ र सेवा गर्नुपर्छ ।

संक्रमित व्यक्तिको शल्यक्रिया तथा अन्य जटिल किसिमका उपचार गर्नुपरेको अवस्थामा स्वास्थ्यकर्मीले अझै विशेष प्रकारका पीपीई लगाउनुपर्ने हुन्छ । संक्रमित व्यक्तिको जटिल उपचार गर्नुपरेको अवस्थामा स्वास्थ्यकर्मीले विशेष अक्सिजनसँग जोडिएको रेस्पिरेटर (मास्क) को प्रयोग गर्नुपर्ने हुन्छ ।

पीपीई लगाउनभन्दा फुकाल्न बढ्ता सावधानी

संक्रमित व्यक्तिको उपचार तथा सेवामा संलग्न भैसकेपछि स्वास्थ्यकर्मीले पीपीई फुकाल्दा पनि निश्चित प्रक्रिया अपनाउनु अत्यावश्यक हुन्छ । उपचारमा संलग्न भैसकेपछि पीपीई फुकाल्ने छुट्टै कोठा हुन्छ । बिरामीको सेवामा छिर्नुपूर्व पीपीई लगाएको कोठामा सेवापछि पीपीई फुकाल्न पाइँदैन किनकि संक्रमित व्यक्तिलाई सेवा गरिसकेपछि पीपीईमा संक्रमण टाँसिएर बसेको हुन्छ । त्यसैले त्यस्ता सामग्रीको राम्रो व्यवस्थापन अत्यावश्यक हुन्छ ।

पीपीई फुकाल्ने कोठामा पुगेपछि सर्वप्रथम हातमा लगाएको बाहिरी पञ्जा फुकाल्नुपर्छ । त्यसपछि साबुन–पानी तथा स्यानिटाइजरले हात धोएर फेरि अर्को बाहिरी पञ्जा लगाउनुपर्छ । त्यसपछि बाहिरी सुरक्षा कपडा फुकाल्नुपर्छ । बाहिरी कपडा फुकालिसकेपछि बाहिरी पञ्जा पनि फुकाल्नुपर्छ अनि फेरि हात धोएर चस्मा फुकाल्नुपर्छ । त्यसपछि फेरि हात धोएर मास्क फुकालिन्छ र फेरि हात धोएर टोपी फुकालिन्छ ।

अन्त्यमा, फेरि हात धोएर भित्री पञ्जा फुकाल्नुपर्छ । अब भित्री लुगा बाँकी रहन्छन् र ती भने संक्रमणरहित हुन्छन् । त्यसैले ती वस्त्रसहित नुहाउने कोठा (बाथरुम) मा गएर साबुन–पानीले राम्रोसँग नुहाइन्छ । नुहाइसकेपछि बल्ल घरबाट लगाएर आएको आफ्नो कपडा लगाउन सकिन्छ ।

कोरोनाकाे उपचार : छुट्टै अस्पताल, छुट्टै वार्ड

कोरोनाका आशंकामा आउनेलाई अस्पताल प्रवेश गर्नुअघि ज्वरो मापन गरिन्छ । उच्च ज्वरो आएको देखिए ‘ज्वरो क्लिनिक’ मा पठाइन्छ । त्यसपछि आवश्यकताअनुसार जाँच गरिन्छ ।

कोभिड– १९ को लक्षण देखिएका तथा सम्भावित व्यक्तिलाई फरक बाटो (अन्य बिरामी तथा व्यक्ति हिँड्न नपाउने क्षेत्र) बाट छुट्टै वार्ड (आइसोलेसन) मा लगेर उपचार गरिन्छ । बिरामीको अवस्थाअनुसार सघन उपचार कक्ष (आईसीयू) को व्यवस्थापन गर्नुपर्ने हुन सक्छ ।

स्रोत–साधनको उपलब्धता भएमा या बेग्लै अस्पतालको व्यवस्था हुन सकेको खण्डमा कोभिड– १९ संक्रमित बिरामीका लागि छुट्टै अस्पतालको व्यवस्था हुनु उचित हुन्छ । यस्तो व्यवस्था हुन नसकेको अवस्थामा अस्पतालमा अन्य बिरामीलाई संक्रमण नसर्ने किसिमले छुट्टै वार्डको व्यवस्था गर्नु भने अनिवार्य हुन्छ ।

अस्पताललाई यसरी संक्रमणरहित गराउने

कोभिड– १९ का संक्रमितको उपचारका लागि लक्षण तथा अवस्थाअनुसार बिरामीलाई विभिन्न तहमा वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरणअनुसार अस्पताल तथा स्वास्थ्यकर्मीले विभिन्न तहका सुरक्षाका उपाय अपनाएका हुन्छन् ।

कोरोना संक्रमित बिरामीको उपचार गरिएका अस्पतालको भुइँ, भित्ता, भर्‍याङका रेलिङ, झ्याल–ढोका, टेबल तथा संक्रमितको सम्पर्कमा आएका अन्य सामग्री तथा वस्तुलाई क्लोरिनको झोल (प्रतिलिटर एक हजार मिलिग्राम) ले सफा गर्नुपर्छ । यसरी सफा गरिसकेपछि संक्रमणविहीन हुन्छ । तर, अवस्थाअनुसार हावाको पनि सफाई गर्नुपर्ने हुन सक्छ । संक्रमित व्यक्ति भएको वार्डमा अल्ट्राभाइलेट लाइटको प्रयोग गरेर संक्रमणविहीन तुल्याउन सकिन्छ ।

लेखक काठमाडौं मेडिकल कलेजको सामुदायिक चिकित्सा विभागका प्रमुख हुन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर