newskoseli.Com

कोरोना महामारी, सरकारी कदम र जनताका समस्याबारे मोहन वैद्यकाे अपिल

कोरोना महामारीको सन्त्रास विश्वव्यापी बन्दै गएसँगै नेकपा (क्रान्तिकारी माओवादी) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आएको छ । यसै विषयमा केन्द्रित रही सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले लकडाउन सुरु भएयता नै तीन पटक प्रेस विज्ञप्ति प्रेषित गर्दै जनता, सरकार र दलहरुलाई विभिन्न सुझाव दिइसकेका छन् ।

बुधबार प्रेषित तेस्रो विज्ञप्तिमा भनिएको छ– ‘परीक्षणलाई व्यापक विस्तार गरी सङ्क्रमितहरु पत्ता लगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी बाँकीलाई सङ्क्रमित हुन नदिने तरिकाले मात्र कोरोना भाइरसको विस्तारलाई नियन्त्रण गर्न सकिन्छ । तर, सरकारले अहिलेसम्म १ हजार ६० जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना सङ्क्रमित भएको भनेर आत्मरति गरिरहेको छ ।’

यस्तो छ वैद्यको विज्ञप्तिको पूर्णपाठ–

कोरोनाजन्य महामारी कोभिड–१९ का कारण नेपालमा लकडाउन सुरु गरिएको करीव दुई साता हुन लागेको छ । यस बीचमा सरकारले महामारीको नियन्त्रण र लकडाउनद्वारा सिर्जित समस्या समाधान गर्न भनी केही घोषणाहरु पनि गरेको छ । ती घोषणा सुन्दा नराम्रा छैनन् । तर व्यवहारमा हेर्दा ती घोषणाले जनताको आँखामा छारो हाल्ने काम मात्र गरेका छैनन् बरु तिनले सत्तामा बस्नेहरुका लागि आर्थिक लाभ गराउने साधन बन्न गएको आभाष दिएका छन् । हाम्रो पार्टी यसको तीव्र भत्र्सना गर्दछ र निम्न अनुसारका विषयमा सरकारको गम्भीर रुपमा ध्यानाकर्षण गर्दै त्यसका विरुद्ध आवाज बुलन्द गर्न आम जनता समक्ष हार्दिक अपील गर्दछ ।

एक, नेपाल–भारतको सिमा क्षेत्रमा नेपाली जनताहरु ठुलो सङ्ख्यामा अलपत्र परेर बसेका छन् । तिनीहरुलाई न त नेपाल सरकारले देशमा आउने अनुमति दिएको छ न त भारत सरकारले तिनीहरुमाथि उचित मानवीय व्यवहार नै गरेको छ । यो स्थितिमा नेपाल सरकारले सिमानामा आइसकेका नेपालीहरुलाई आवश्यक व्यवस्था सहित सम्मानजनक ढङ्गले भारतमा नै राख्ने व्यवस्था मिलाउनका लागि कुटनीतिक पहल गर्न या नेपालमा ल्याएर उनीहरुका लागि आवश्यक प्रवन्ध मिलाउन हाम्रो पार्टी नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।

दुई, परीक्षणलाई व्यापक विस्तार गरी सङ्क्रमितहरु पत्तालगाउने र तिनीहरुलाई आइसोलेसनमा राखी वाँकीलाई सङ्क्रमित हुन नदिने तरीकाले मात्र कोरोना भाईरसको विस्तारलाई नियन्त्रण गर्न सकिन्छ । तर सरकारले अहिलेसम्म एक हजार साठी जनाको मात्र परीक्षण गरी नेपालमा जम्मा ५ जना सङ्क्रमित भएको भनेर आत्मरति गरिरहेको छ । यो अत्यन्त गैर जिम्मेवारपूर्ण काम हो । परीक्षणलाई जति धेरै विस्तार गरिन्छ त्यति छिटो यो महामारीबाट छुटकारा पाउने संभावना रहन्छ भन्ने कुरामा हाम्रो पार्टी सरकारको विशेष ध्यानाकर्षण गर्न चाहन्छ ।

तीन, कुनै व्यक्तिलाई उपचारका लागि अस्पतालमा लैजाँदा कोरोनाको विरामी भनेर छि छि र दुर दुर गर्ने तर उसको मृत्यु भइसकेपछि कोरोनाको सङ्क्रमण भेटिएन भन्ने सरकारको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिले विषयलाई अत्यन्त गंभीर बनाएको छ । कतै निको हुन सक्ने विरामीहरु पनि कोरोनाको बहानामा उपचार नपाएर मरिराखेका त छैनन् ? बुटवल र वीरगंजमा भएका मृत्युको कारण के हो ? चिकित्सकहरुबाट नै अन्तर्विरोधी कुराहरु बाहिर आइरहेको सन्दर्भमा यथार्थ के हो ? यसबारे सरकार बोल्नु पर्दछ ।

चार, निजी अस्पतालहरुले कोरोना भाइरसको शङ्का कै भरमा विभिन्न बहाना बनाई विरामीको उपचार नगरेका समाचार बाहिर आइरहेका छन् । त्यस्ता अस्पताललाई राज्यले आफ्नो नियन्त्रणमा लिएर काममा लगाउन, नमाने कार्वाही गर्न र उपचारमा संलग्न सम्पूर्ण डक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई सङ्क्रमणबाट बचाउनका लागि आवश्यक पर्ने सामग्रीहरु तुरुन्त उपलव्ध गराउन हामी सरकार समक्ष विशेष माग गर्दछौं ।

पाँच, कोभिड–१९ को उपचार गर्नका लागि आवश्यक उपकरणहरु खरिदगर्ने क्रममा चरम आर्थिक घोटाला भएका कुराहरु सञ्चार माध्यममा सप्रमाण प्रकाशित भएका छन् । यथार्थ के हो त्यसको निस्पक्ष छानवीन गरी दोषीमाथि कडा भन्दा कडा कार्वाही गर्न हाम्रो पार्टी सरकारसंग जोडदार माग गर्दछ ।

छ, सरकारले शहरमा कामगर्ने विभिन्न प्रकारका मजदुर, गाउँका गरीव किसान र निम्न आय भएका जनताका लागि राहत प्रदान गर्ने निर्णय गरेको छ । तर त्यो निर्णय कार्यान्वयन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिएर नेपाल सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन गएको छ । यो अत्यन्त दुःखको विषय हो । यस स्थितिमा लकडाउनका कारण दैनिक हातमुख जोड्ने समस्यामा परेका आम मजदुर, गरीव किसान तथा अति विपन्न परिवारलाई तुरुन्त राहतको व्यवस्था गर्न र वितरणलाई व्यवस्थित गर्न हाम्रो पार्टी सङ्घीय सरकारसंग विशेष माग गर्दछ ।

सात, लकडाउनका कारण देशमा कालो बजारी र महङ्गी अनियन्त्रित ढङ्गले आकासिंदै गएको छ । यसलाई नियन्त्रण गरी आधारभूत आवश्यकताका सामानको अभाव हुन नदिने र तिनलाई जनतासम्म पुर्‍याउने कामका लागि सरकारले जिम्मा लिनु पर्दछ भनी हाम्रो पार्टी सरकारसंग विशेष माग गर्दछ ।

आठ, लकडाउनलाई सफल पार्ने नाममा पुलिस प्रशासनले गाई–भैसीका लागि पराल बोक्ने, कुखुराका लागि दाना ओसार्ने, दैनिक आवश्यकताका खाद्यान्न किन्ने तथा खेतमा धान रोप्ने जस्ता कामका लागि मानिसलाई बाहिर निस्कन नदिइएका र त्यस्ता काममा संलग्न व्यक्तिलाई निर्मम कुटपटि समेत गरिएका समाचारहरु बाहिर आएका छन् । आवश्यक दुरी कायम गराई उपरोक्त प्रकारका काम गर्नदिने व्यवस्था मिलाउन सङ्घीय सरकारले आवश्यक निर्देशन सहित प्रहरी प्रशासनलाई परिचालन गर्न हाम्रो पार्टी सरकारको ध्यानाकर्षण गर्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर