newskoseli.Com

‘निर्भीक पत्रकारिताका लागि वातावरण निर्माण गर’ : पत्रकार महासंघको आग्रह

नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले निर्भीक पत्रकारिताका लागि वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेको छ । महासंघका अध्यक्ष गोविन्द आचार्यले सोमबार विज्ञप्ति जारी त्यस्तो आग्रह गरेका हुन् ।

अध्यक्ष आचार्यले विज्ञप्तिमार्फत कोभिड– १९ को नियन्त्रणमा सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि महासङ्घ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसियट संस्था, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्यहरुमा हार्दिकताका साथ अपिल गरेका छन् । ‘सर्वप्रथम विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौती कायमै रहेको कोरोना सङ्क्रमण नियन्त्रणका लागि अनेकौं कठिनाइ र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिकसामु पुर्‍याउने महत्त्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमको उच्च प्रशंसा गर्न चाहन्छु’– अध्यक्ष आचार्यले भनेका छन् ।

महासंघका तर्फबाट अध्यक्ष आचार्यद्वारा जारी विज्ञप्ति, जस्ताकाे तस्तै–

१) सर्वप्रथम विश्वब्यापी महामारीका रुपमा फैलिइरहेको र नेपालमा उच्च जोखिमको चुनौती कायमै रहेको कोरोना संक्रमण नियन्त्रणका लागि अनेकौं कठिनाई र जोखिम मोलेर सचेतनामूलक समाचार सामग्रीका साथै सही सूचना नागरिकसामु पुर्‍याउने महत्त्वपूर्ण दायित्व बहन गर्दै आउनुभएका सम्पूर्ण पत्रकार र सञ्चार माध्यमको उच्च प्रशंसा गर्न चाहन्छु । जस्तोसुकै असहजतामा पनि चुनौतीको सामना गर्ने र जोखिमपूर्ण क्षेत्रका अग्रभागमा रहेका सत्यतथ्य समाचार सामग्रीहरु निरन्तर प्रवाह गर्ने कार्यले पत्रकारिता समाजको सबैभन्दा धेरै विश्वसनीय क्षेत्रको रुपमा रहँदै आएको तथ्य पुनः एक पटक उजागर हुन पुगेको छ । संकटपूर्ण अवस्थामा जिम्मेवारपूर्णढंगले पत्रकारिता गरिरहनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरुमा नेपाल पत्रकार महासंघ हार्दिक आभार प्रकट गर्न चाहन्छ ।

२) नेपालमा कोरोना संक्रमणले एउटा चरण पार गरेको छ । ‘लोकल ट्रान्समिसन’ को अवस्था नेपालमा पनि देखिएको सरकारले जनाएको छ र अब यसको संक्रमण फैलन नदिनका लागि थप तयारी र नयाँ रणनीतिका साथ सरकार उभिएको छ । यो अवस्थामा पत्रकारहरु, जो अग्रपंक्तिका पात्रहरु हुन्, तिनीहरु अझ बढी गम्भीर र सचेततापूर्वक प्रस्तुत हुनु जरुरी छ । हाम्रो आफ्नो स्वास्थ्य सुरक्षा सबैभन्दा पहिलो र ठूलो विषय हो । आफू सुरक्षित हुँदै समाज र देशभरका हरेक व्यक्तिलाई कसरी सुरक्षित हुने भन्ने सन्देश र सूचना प्रवाह गर्ने दायित्व नेपालका सबै सञ्चार माध्यमको काँधमा छ ।

यो महत्त्वपूर्ण दायित्व पूरा गर्न सिंगो सञ्चार क्षेत्रलाई संयोजन र समन्वय गर्नका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समिति मातहतका सबै प्रदेश समिति, एशोसिएट संस्थाहरु, सबै जिल्ला तथा प्रतिष्ठान शाखा र सदस्य साथीहरुमा हार्दिकताका साथ अपिल गर्दछ । यो चुनौती र संकटपूर्ण अवस्थामा अन्य समस्या र तमाम मतभेदहरुलाई थाति राखेर कोरोना सक्रमण नियन्त्रणका लागि एउटै मिसनका साथ अघि बढ्न तीन वटै तहका सरकार, राज्यका सवै निकाय, सबै राजनीतिक दल, नागरिक संघ संस्था, पेशाकर्मी, व्यवसायीलगायत सबैमा महासंघ आह्वान गर्न चाहन्छ ।

३) यो जोखिमको समयमा पत्रकार सुरक्षार सञ्चारमाध्यमको नियमितता एवम् प्रभावकारिताका लागि आवश्यक सामग्रीहरुको उपलब्धताका साथै राहत प्याकेज ल्याउन महासंघ सरकारको ध्यानाकर्षण गराउँदछ । यो अवस्थामा फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उपलब्धता, अप्ठ्यारामा परेका पत्रकाहरुलाई आर्थिक राहतलगायतका विषयहरु समेटेर प्याकेजमै पत्रकारहरुको आत्मवल बढाउनका लागि राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न जरुरी देखिएको छ । यसैगरी, जटिल अवस्थामा पनि अनेकौ समस्यासँग जुधेर आफूलाई निरन्तरता दिइ जोखिम मोलेर सूचना तथा समाचार सामग्री प्रवाह गरिरहेका सञ्चारमाध्यमको हकमा पनि प्याकेज मै योजना बनाएर प्रोत्साहन गर्न तथा सबै सञ्चारमाध्यमबाट कोरोना संक्रमण हुन नदिन जनचेतनामूलक सन्देश र सूचना प्रवाहका लागि सहकार्य गर्न महासंघ सरकारसँग आग्रह गर्दछ । सरकार र सञ्चारबीच सहकार्य गरी यो बेलामा आवश्यक सूचना, सचेतनाका साथै होम क्वारेन्टाइनमा बसेका विद्यार्थीका लागि आवश्यक सामग्रीहरुको उत्पादन र प्रशारण गर्नेतर्फ योजना निर्माण गर्न पनि अत्यावश्यक देखिएको छ । यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउँछु ।

४) नेपाल पत्रकार महासंघ नेपालका सबै पत्रकारहरुको साझा संस्था हो । यो संस्थाको विशिष्ट चरित्रलाई हामीले चुनौतीपूर्ण समयमा प्रदर्शित पनि गर्दै आएका छौं । जस्तोजुकै संकट र चुनौतीका बीचमा पनि नेपालको संविधानको प्रस्तावनामै रहेको पूर्ण प्रेस स्वतन्त्रताको सम्मान र पालना हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो बेला पनि हामीले आफ्नो दायित्व र जिम्मेवारी निभाई रहँदा निगरानी र खबरदारी गर्ने हाम्रो भूमिकालाई पूरा गरिरहेका छौं । महासंघ स्वतन्त्र र निर्भीक पत्रकारिताका लागि आवश्यक वातावरण निर्माण गर्न सरकारलगायत समाजका हरेक वर्ग र समुदायसँग अपिल गर्दछ ।

५) नेपाल पत्रकार महासंघले विगतदेखि विभिन्न मुद्दाहरु उठाउँदै आएको छ, जुन मुद्दाहरुप्रतिको हाम्रो निरन्तरको लडाईं जारी छ । त्यसैगरी हाम्रा सांगठनिक जीवनका केही महत्वपूर्ण दायित्व पनि निर्वाह गर्नुछ । संसोधित विधानलाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि पनि अझै हामीले धेरै काम गर्न बाँकी छन् । महासंघको काम, कारवाही र नेतृत्वसँगका गुनासा, आलोचना वा अपेक्षाहरुलाई हामीले सधैं स्वागत गर्दै आइरहेका छौं । यस्ता सवालहरु निरन्तररुपमा प्रकट भइरहने तथा उपयुक्त समयमा निश्चित विधि र प्रक्रियाबाट त्यसलाई सम्बोधन गरिने परम्परा पनि छ ।

यतिबेला हाम्रा यी सबै सवालहरुलाई स्मरण र संस्थागत रुपमा संग्रहित गर्दै यो कोरोनाको भयावह अवस्थामा कोरोना संक्रमणको नियन्त्रणका लागि सिंगो सञ्चार क्षेत्र एकताबद्ध भई भूमिका खेल्न र आफ्नो सुरक्षामा विशेष सावधानी अपनाउन सबैमा नेपाल पत्रकार महासंघकातर्फबाट हार्दिक अपिल गर्दछु ।

६) पत्रकारिताको सबैभन्दा ठूलो क्षमताका रुपमा अफवाह नियन्त्रण गर्ने क्षमतालाई पनि लिने गरिन्छ । यतिबेला फैलने कुनै पनि अफवाहले कोरोना सक्रमणभन्दा झनै ठूलो भयावह अवस्था सिर्जना गर्न सक्दछ । त्यसैले अफवाह फैलन नदिन तथा कसैले अफवाह फैलाएमा त्यसलाई तत्काल रोक्नका लागि र पुष्टि भएका एवम् तथ्यमा आधारित समाचार सामग्रीमात्र प्रवाह गरेर कोरोना विरुद्धको लडाईंमा योगदान पुर्‍याउनका लागि समस्तमा नेपाल पत्रकार महासंघ हार्दिक अपील गर्दछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर