newskoseli.Com

कोरोना संक्रमित २ जना २ दिनभित्र डिस्चार्ज हुँदै : को–को हुन् नेपालका संक्रमित ?

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कोभिड– १९ (काेराेनाभाइरस) संक्रमित दुई जना केही दिनभित्रै डिस्चार्ज हुँदैछन् । कोभिड– १९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको भनदै स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि उनीहरु छिट्टै डिस्चार्ज हुने जानकारी सो अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले दिएका हुन् ।

डा. राजभण्डारीले भने– ‘अस्पतालमा उपचारको क्रममा रहेका कोभिड संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ, दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।’ टेकु अस्पतालमा अहिले कोभिडबाट शङ्कास्पद ९ जनाको उपचार भइरहेको छ । यीमध्ये २ जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी ७ जनाको नेगेटिभ छ । तर, विभिन्न कारणले गर्दा ७ जनालाई भने अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

यस्ताे छ अस्पतालकाे अवस्था

विगतको तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको निर्देशक डा. राजभण्डारीले बताए । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य संख्यामा बिरामी नआएको उनको भनाइ छ । ‘अस्पतालमा अहिले पहिलेभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायतका अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ’– निर्देशक राजभण्डारीले भने ।

अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिए । टेकु अस्पतालमा हाल ५ आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उपचार कक्ष तयार गर्ने कार्य उच्च गतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । ‘अक्सिजन प्लान्ट’ सहितको सघन उपचार कक्ष तयार गरिँदैछ ।

अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन र विद्युतका लागि ‘पावर ब्याकअप’ समेत तयार गरेको अस्पतालले जनाएको छ । विश्व महामारीको रुपमा फैलिएको कोभिड– १९ को संक्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको संक्रमण देखिएपछि अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्कन लागेका छन् ।

काे–काे हुन् नेपालका संक्रमित ?

नेपालमै पहिलो पटक कोभिडको संक्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलो पटक देखापरेको चीनको वुहान सहरबाट आएका उनीपछि दोस्रो पटक चैत १० मा १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो । नेपालमा हालसम्म ९ जनामा कोभिडको संक्रमण देखिएको छ ।

त्यस्तै, चैत १२ मा फेरि अर्का एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुषको विस्तृत विवरण खुलाइएको छैन । त्यसपछि चैत २० मा बागलुङकी ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो । पछिल्लो पटक चैत २२ मा एकै दिन सुदूरपश्चिममा थप ३ जनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीकी ३४ वर्षीया महिलामा कोभिड– १९ को संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर