जब कुनै विशेष स्थिति अथवा महामारीको अवस्था आउँछ, त्यति बेला विश्वका प्रतिक्रियावादीहरू यही हो मौका भनेझैँ गरी जनताका हक-अधिकार र सुविधाहरूको कटौति गर्छन् र आफ्नो सत्ता र सरकारकारलाई फासिवादीकरण गर्नतिर लाग्छन् भनेर विश्वका जनपक्षीय शक्तिहरूले भनिरहेको अवस्थामा हामी नेपालीहरूले पनि करिबकरिब यस्तै स्थिति भोग्नु परेको अवस्था छ । तानाबानाका रूपहरू फरक होलान् तर हरेक मुलुकका प्रतिक्रियावादी सत्ताहरू कसरी जनअधिकार खुम्च्याउने र आफ्नो सत्ताको आयु लम्ब्याउने भन्ने कुरामा केन्द्रित रहेका छन् र हामीले भोगिरेको स्थिति र समय पनि यस्तै खालको छ ।
नेपाल र नेपाली जनता अहिले कोरोना महामारी र बन्दाबन्दीका नाममा सत्ताआतङ्क, उत्पीडन र पीडा भोगिरेहका छन् । कोरोनाका नाममा नेपाली जनताले यसभन्दा अघि कहिल्यै भोग्नु नपरेको स्थिति भोग्नु परेको छ । कालाबजारियाहरू, नाफाखोरहरूका लागि बन्दाबन्दी सुखद समय बनेको छ । भ्रष्टाचारी मन्त्री र कर्मचारीका लागि बन्दाबन्दी जे गरे पनि हुने शुभअवसर बनेको छ । मुलुकले अराजकता र भद्रगोलको स्थिति भोगिरहेको अवस्थामा ओली सरकारले अर्को कलाविहीन नाटक मञ्चन गरेर मुलुकलाई एक किसिमले अस्तव्यस्तको स्थितिमा पुर्याएको छ ।
जनसुरक्षाको निश्चितता, आवश्यक सामग्रीको उपलब्धता, कालोबजारी नियन्त्रण र आवश्यक औषधीउपचारको व्यवस्थापनको प्रश्नलाई एकातिर पन्साएर यतिखेर ओलीतन्त्र कसरी कुर्सी जोगाउने भन्ने जालझेल र षड्यन्त्रमा लागेको छ । कोरोनाको महामारीबाट नेपाली जनतालाई बचाउनेमा भन्दा उसको ध्यान कसरी लकडाउन बढाएर सडकमा पोखिने सम्भावित जनआक्रोशलाई थाम्ने भन्नेमा रहेको छ ।
बन्दाबन्दी सामान्य नागरिक र निमुखाका लागि मात्र आवश्यक देखिएको छ, पार्टीका झण्डा बोकेर नारा जुलुस भइरहेका छन्, सभा र बैठकहरू भइरहेका छन् । निर्वाध रूपमा सडकमा गाडीहरू कुदिरहेका छन् र भोजभतेरहरू चलिरहेका छन् । साधन-स्रोत र पहुँच हुनेलाई सबै कुरा छुट छ । समस्याहरू ओली सरकार र उसका गलत क्रियाकलापहरूमा गएर थेग्रिएका छन् । समस्याहरू एकातिर छन् र ओली सरकार समाधान अर्कोतिर खोजिरहेको छ । यस्तो बेला भद्रगोलमाथि थप भद्रगोल थप्न वैदेशिक शक्तिहरू सक्रिय हुनु स्वाभाविक छ ।
ध्रुवीकरण : एक
अध्यादेश र सभासद् योगेन्द्र यादव अपहरण प्रकरणसँगै तराई केन्द्रित पार्टीहरू एक ठाउँमा आएका छन् । आफूआफूमै मारामार गरिरहेका उपेन्द्र यादव र महन्थ ठाकुरहरूलाई एकै ठाउँमा उभिने अवस्था बनाएर ओलीले ऐतिहासिक भूमिकाको निर्बाह गरेका छन् । अहिलेका ताजा सन्दर्भहरूलाई लिएर नेपाली काङ्गेस, राप्रपासहितको गठजोड दखापरेको छ ।
यो गठजोड पछिसम्म जानसक्ने सम्भावना छ । नेकपा (नेकपा) भित्र जति भद्रगोल बढ्दै जान्छ, यो गठजोड अझ मजबुत बन्दै जाने कुरा निश्चित छ । नेपाली काङ्ग्रेसको बैठकले केही मुद्धासहित संसद् अधिवेशनको माग गरेको छ । भोलि आउने चुनाव अथवा भैपरि आउने विविध घटनासन्दर्भमा एक जुट भएर जानका लागि एक थरीलाई अनुकूल वातावरण बनाइदिएर ओलीले ऐतिहासिक काम गरेका छन् ।
ध्रुवीकरण : दुई
यस्तो बेला नेपालका वामपन्थी पार्टीहरूको धारणा के छ र उनीहरू जनतालाई के सन्देश दिन चाहन्छन्, कसरी अघि बढ्ने भन्छन् भनेर आम जनता तथा बौद्धिक समुदायको चासो र जिज्ञासा हुनु स्वाभाविक छ । कम्युनिस्ट र वामपन्थका नाममा जेजस्ता परिदृश्य र परिघटनाहरू देखिएका छन्, यसले को वामपन्थी हुन् को वामपन्थी होइनन् भनेर सचेत समुदायले मात्र नभएर आम जनताले प्रश्न उठाउनु स्वाभाविक बनेको छ । ओली सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीवीका तीनवटै प्रश्नमाथि घात गरेको छ । ओली सरकारका कारण वामपन्थी, कम्युनिस्ट भन्ने पदावली र व्यवस्थाप्रति नै आम जनतामा वितृष्णा पैदा हुने स्थिति बनेको छ । कम्युनिस्ट सरकार भनेको जनतालाई दुखः दिने , भोकभोकै राख्ने र कालाबजारिया पोस्ने, मन्त्री र कर्मचारीले जति भ्रष्टाचार र लुट गरे पनि हुने सरकार रहेछ भन्ने किसिमको सन्देश सर्वसाधारण जनतामा गएको छ । पछाडि फर्कन चाहनेहरूका लागि ओली सरकारले गजबको अवसर दिएको छ ।
सरकारमा सामेल नभएका बाहेक मुलुकमा अन्य वामपन्थी र कम्युनिस्ट पार्टीहरू छन् । एक थरी यो संविधानप्रति आलोचनात्मक दृष्टिकोण राख्दै स्थानीय तथा प्रादेशिक र केन्द्रीय चुनावमा सहभागी हुनेहरू छन् र एक थरीहरू यो संविधान र यो व्यवस्थालाई खारेज गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादको बाटोबाट अघि बढ्नुपर्छ भन्ने धारणा राख्नेहरू छन् ।
नेपाल मजदुर किसान पार्टीका नेता नारायणामान विजुक्छे, नेकपा (मसाल) का मोहनविक्रमहरूले पनि आफूलाई वामपन्थी र कम्युनिस्ट भन्ने गर्छन् । तर उनीहरूका समग्र गतिविधिहरू यसै संविधान र वैधानिक सीमाभित्र सीमित छन् र बढीमा उनीहरूको क्रान्तिकारिता आलोचना र असहमतिको दर्ज मात्र हो । केही मुद्धामा फरक देखिए पनि उनीहरू “अहिलेको अवस्थामा यसैलाई बलियो बनाउनु पर्छ” भन्नेमा छन् र उनीहरू अवसरवादी र उपयोगवादी प्रवृत्तिबाट निर्देशित छन् । “पार्टी र क्रान्तिभन्दा श्रीमतीलाई कसरी मन्त्री बनाउने भनेर चिन्ता र चिन्तनमा केन्द्रित बनेका” भनेर पार्टीभित्रै चर्चाको विषय बनेका मोहनविक्रमले ओलीको कार्यशैलीका बारेमा टिप्पणी गरे पनि सिङ्गो व्यवस्था, ओली सरकारका गतिविधिहरू तथा अहिलेका घटनाबारे उनले खुलस्त किसिमले आफ्ना धारणा बाहिर ल्याएका छैनन् र ल्याउँदैनन् पनि । ओलीहरू र नेकपा (मसाल) तथा रोहित समूहबीच घोषित ध्रुवीकरण नभए पनि भोलि खुलेरै देखिनु पर्दा उनीहरू एकै ठाउँमा देखिने छन् ।
ध्रुवीकरण : तीन
कम्युनिस्ट न्युक्लिस, नेपालसित सम्बद्ध बुद्धिजीवीहरू, नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) लाई अर्को कित्तामा राख्न सकिन्छ । मुलुकको वर्तमान स्थिति तथा भोलिका दिनहरूलाई लिएर बढी चिन्ता र चिन्तन गर्ने र गर्नु पर्ने शक्तिहरू यिनै हुन् । यिनमा पनि नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) ले बढी गम्भीरता देखाउनु पर्ने अवस्था हो । वैचारिक तथा राजनीतिक पक्षका साथै कार्यदिशाका सम्बन्धमा नेकपा (विप्लव) का थुप्रै विसङ्गत पक्षहरू छन् र सबैभन्दा अन्योल कार्यदिशाका सम्बन्धमा छ । ओली सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएको छ, ठूलो सङ्ख्यामा नेताकार्यकर्ताहरू जेलमा छन् र थुप्रै पलायन भएका पनि छन् । यतिखेर उसका गतिविधि वक्तव्यमै सीमित भए पनि यसले आफ्नो सङ्घर्षशील चरित्र देखाउने प्रयास गरिरहेको छ ।
गत स्थानीय तथा प्रादेशिक र सङ्घीय चुनावमा भाग लिएर सारै दयनीय अवस्था प्रदर्शन गरेको नेकपा (क्रान्तिकारी माओवादी) ले उप निर्वाचन बहिष्कार गरेर केही सकारात्मक सन्देश दिन खोजे पनि चुनाव आयोगमा दर्ता गरेको मोर्चालाई पार्टीको दर्जा दिएर पार्टीभित्र पार्टी चलाएको, समानान्तर पार्टीजस्तो गतिविधिको प्रदर्शन गरेको अवस्था छ । पार्टीका नेता युद्धमा गएको बेला, नेताहरू भूमिगत भएको बेला, अथवा विशेष परिस्थितिमा पार्टीलाई जनतासित जोड्न, वैधानिक गतिविधि गर्न खुला मोर्चा बनाउन सकिन्छ । यो पनि निश्चित अवस्थासम्म । नेकपा (क्रान्तिकारी माओवादी) को अहिलेको अवस्था त्यस्तो होइन, पार्टी खुला छ, उसका गतिबिधि वैधानिक सीमा बाहिर छैनन् र संवैधानिक सीमाभित्रै छन् । यस्यो बेला पार्टीको हैसियतमा मोर्चा चलाउनुले अन्योल मात्र उत्पन्न गरेको छ । सरसरती हेर्दा मोर्चाका गतिबिधि पार्टीभित्रै समानान्तर पार्टीजस्तो देखिन्छ । पुराना र अनुभवी नेताहरू भएर पनि नेकपा (क्रान्तिकारी माओवादी) ले संगठन र सङ्घर्षका प्रश्नमा आम जनताका बीच आफ्नो दरिलो उपस्थिति जनाउन सकेको स्थिति छैन । थुप्रै कमीकमजोरी भए पनि वैचारिक दृष्टिले नेकपा (क्रान्तिकारी माओवादी) को महत्त्वपूर्ण भूमिका छ ।
यसरी हेर्दा जुन शक्तिहरू बढी सङ्गठित, एकताबद्ध र ध्रुवीकृत हुनु पर्ने थियो, तिनीहरू नै आआफ्ना थुम्का समातेर बसेको देखिन्छ । बीचमा केही प्रयास भएका हुन् । तर के कति कारणले, कसको कारणले नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) बीचको एकता प्रक्रियाले गति लिन सकेन, खुलेर बाहिर आएको छैन । कारणका रूपमा विप्लवहरूले किरणहरूलाई र किरणहरूले विप्लवहरूलाई औँल्याउने गरेको पाइन्छ । सरसरती अध्ययन गर्दा नेकपा (विप्लव) मा नै यस सन्दर्भमा बढी समस्या रहेको देखिन्छ एकतासित जोडिएका समस्याहरू दुवैतिर छन् तापनि वैचारिक तथा राजनीतिक दृष्टिले बढी समस्या विप्लवहरूसित छ भन्ने कुरा प्रस्ट छ ।
यसरी वैचारिक तथा राजनीतिक सामिप्यका आधारमा ध्रुवीकरणको घोषित-अघोषित स्थिति चलिरहेको स्थितिमा नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) र छरिएर रहेका क्रान्तिकारी बुद्धिजीवीहरू नयाँ किसिमले कसरी सङ्गठित, पुनर्गठित र ध्रुवीकृत हुने भन्ने कार्यमा क्रियाशीलता देखिनु आवश्यक थियो । पार्टी स्थापना दिवसका सन्दर्भमा क्रान्तिकारी शक्ति र व्यक्तिहरूबीच साझा समझदारीको साझा वक्तव्य आउने सक्ने स्थिति थियो, त्यो हुन सकेन । मे दिवस एउटा अर्को अवसर थियो, यसमा पनि हुन सकेन । पार्टी स्थापना दिवका सन्दर्भमा कमरेड किरणबाट एकता र भावनात्मक सामिप्यलाई सम्बोधन गरी आएको वक्तव्य स्वागत योग्य थियो । विप्लवको वक्तव्यमा पनि एकताका कुरा आएका थिए, तर त्यसमा एकता भावप्रतिको हार्दिकता र उत्साहको अभाव थियो । वक्तव्य झारा टार्ने किसिमको, एक किसिमले अहम् केन्द्रित थियो ।
जनतालाई क्रान्तिकारी सन्देश दिनु पर्ने, जनतामा विस्तारित हुँदै गएको निरासालाई उत्साहित पार्नु पर्ने काम क्रान्तिकारीहरूको हो । राष्ट्रिय स्वाधीनता तथा जनताको हकहित र पीरमार्काप्रति प्रतिबद्ध र कटिबद्ध छौँ भनेर नेपाली जनतालाई नयाँ सन्देश र नयाँ शक्ति दिनु पर्ने, मुलुकमा क्रान्तिकारी वैकल्पिक शक्ति छ भनेर जनतामा विश्वास जगाउनु पर्ने काम क्रान्तिकारीहरूको हो । तर यो पक्ष पनि त्यति उत्साहजनक हुन सकेको अवस्था छैन । यहाँ गम्भीरताको अभाव छ ।
अन्त्यमा,
हामी अहिले मे दिवस मनाइरहेका छौँ । मे दिवस क्रान्तिकारीहरू, सर्वहारा मजदुरहरूको महान् चाड हो । ‘रिम’ विघटन भइसकेपछि अन्तर्राष्ट्रिय स्तरमा एउटा क्रान्तिकारी केन्द्र बनाउनु पर्छ, विश्वका क्रान्तिकारी–माओवादीहरू एक जुट हुनु पर्छ, भनेर विश्वका माओवादी पार्टी तथा सङ्गठनहरूले हरेक वर्ष संयुक्त वक्तव्य जारि गरिरहेका छौँ । तर दुखको कुरा मुलुकभित्र आधारभूत रूपमा समान विचार राख्ने, पार्टी, सङ्गठन र व्यक्तिहरूबीच एकताको के कुरा बहसछलफल, विचार विमर्श गर्ने, संयुक्त वक्तव्य प्रकाशित गरेर नयाँ सन्देश दिने भावना र चाहनासम्म पनि देखा पर्न सकेको अवस्था छैन । यसले गम्भीरताको अभावलाई दर्शाउँछ । यो सुखद पक्ष होइन ।
१ मे, २०२०
०००