newskoseli.Com

संसदको बजेट अधिवेशन सुरु : सदनमै मागियो ओलीको राजीनामा

संघीय संसदको बजेट अधिवेशन शुक्रबार सुरु भएको छ । संघीय प्रतिनिधसभाकाे शुक्रबारको बैठकमा बोल्दै विभिन्न दलका शीर्ष नेतासहित कतिपय सत्तापक्षीय सांसदहरु समेतले प्रधानमन्त्रीको कडा आलोचना गरे र राजीनामा समेत मागे ।

शुक्रबारको बैठकमा बोल्दै कांग्रेस सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरे । सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको भन्दै अब तत्काल प्रधानमन्त्रीले राजीनामा दिँदा ठीक हुने देउवाले बताए ।

सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावनाविपरीत दुईवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैरजिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप सभापति देउवाले लगाए । सबै पक्ष कोरोनाविरुद्धको लडाइँमा एक भएर लागेका बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषदको गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको दावी उनले गरे ।

एक सांसदको अपहरण प्रकरणमा कुनै न कुनै रुपले सरकारको संलग्नता देखिएको देउवाले बताए । यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्बाही गर्न उनले माग गरे । ‘एकातर्फ कोरोनासँग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकारबहिर रहेका राजनीतिक दल, सञ्चार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध हुन अनुरोध गर्दछु’– देउवाले भने ।

बाबुरामले मागे प्रधानमन्त्रीको राजीनामा

शुक्रबारकै बैठकमा बोल्दै प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) का नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल पदबाट राजीनामा दिन प्रधानमन्त्री खड्ग ओलीलाई आग्रह गरे । अब आफ्नो ‘जीर्ण शरीर’ लाई आराम दिन डा. भट्टराईले ओलीलाई सुझाव दिए ।

बाध्यतावश विदेशमा श्रम गर्न पुगेका नेपाली नागरिकलाई अहिलेको अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने डा. भट्टराईले बताए । ‘नागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ, यो संविधानको व्यवस्थाविपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ । विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई आफ्नै देश फर्कन भनिको छ,’ पूर्वप्रधानमन्त्री एवं सांसद भट्टराईले भने– ‘तर हाम्रो सरकार जिम्मेवार छैन । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ, नेपालीले कहाँ जाने भनेर भनिरहेका छन् तर सरकारलाई कुनै चासो छैन ।’

‘सांसद अपहरण’ बारे ओलीका प्रियपात्रकै प्रश्न

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले समेत शुक्रबारको संसद बैठकमा ‘सांसदको अपहरण’ बारे सरकारले संदनमा यथार्थ जानकारी दिनुपर्ने बताए ।

दलको तर्फबाट मन्तव्य राख्दै ‘सांसद अपहरण’ को घटनाका सम्बन्धमा के भएको हो भन्दै यसबारे सरकाले जानकारी दिने विश्वास प्रधानमन्त्री खड्ग ओलीका प्रियपात्र समेत रहेका नेम्बाङले व्यक्त गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर