newskoseli.Com

लकडाउनबीच यौन जीवनकाे यस्तो छ नालीबेली

लकडाउनका बीच मान्छे फुर्सदिला भएका छन् । के गरेर समय बिताउने ? छटपटी बढेर गएको छ । लकडाउनको समयलाई सिर्जनशीलरुपमा बिताउन नजान्दा यौनमा झन् बढी ध्यान जान सक्छ । तनावका बेला अन्य कार्यमा रुचि नजाने र यौनलाई नै आनन्द एवं मनोरञ्जनको प्रमुख माध्यम बनाउन सक्ने जोखिम पनि बढेर जान्छ । यौन सम्पर्कका बेला मस्तिष्कबाट अक्सिटोसिन, डोपामिन, एन्डोरफिनजस्ता खुशी र आनन्द दिने रासायनिक तत्त्व उत्पादित हुन्छन् । यसकारण पनि यौनकर्मप्रति व्यक्ति बढि लालयित हुन पुग्छ ।

जैविक तथा मानसिक दुबै हिसाबले यौन मानिसको जीवनमा महत्त्वपूर्ण हुन्छ । तर, लकडाउन र सेल्फ क्वारेन्टाइनका कारण व्यक्तिको यौन जीवनमा समेत प्रभाव परेको सजिलै अनुमान गर्न सकिन्छ । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने रोग भएकाले यौनजोडीमध्ये कुनै एक जनामा कोरोनाको संक्रमण रहेछ भने अर्को लाई सर्ने जोखिम हुन्छ । यौन क्रियाकलापका दौरान गरिने स्पर्श, चुम्बन आदिले झनै जोखिम बढाउँछ । यद्यपि कोरोना यौन सम्बन्धबाट सर्ने रोग भने होइन । तसर्थ, यौनजोडीहरु, जो लामो समयदेखि सँगै बसिरहेका छन् र दुवैमा कोरोनाका कुनै लक्षण तथा आशंका देखिएका छैनन् भने लकडाउनको समयमा पनि सुरक्षितरुपमा यौन सम्बन्ध राख्दा कुनै बाधा नपर्ने विज्ञहरुले बताउँदै आएका छन् । तर, यो समयमा अपरिचित र परपुरुष–परस्त्रीसगँको यौन सम्बन्ध भने असाध्यै जोखिमपूर्ण हुन्छ ।

कोरोनाको संक्रमण सर्ने डरले अहिले यौनमा पनि वैकल्पिक उपाय अपनाउन थालिएको छ । वैकल्पिक साधनहरुको प्रयोग पनि बढेर गएको छ । विश्वभरि नै अहिले यौन खेलौनाको माग तथा बिक्री बढेको तथ्यांक देखिन्छ ।

अनलाइन सेक्स टोय डिलर वुम्यानिजरका अनुसार, जनवरी यता सेक्स टोयको बिक्री तीव्र रूपमा बढेको छ । क्यानडामा सेक्स टोयको बिक्री १ सय ३५ प्रतिशतले बढेको छ । पश्चिमा मुलुकहरूमा मात्र होइन, चीनमा पनि सेक्स टोयको माग जनवरी र फेब्रुअरी महिनामा ७१ प्रतिशतले बढेको छ । इटालीमा पनि सेक्स टोयको माग ६० प्रतिशतले बढेको छ ।

लकडाउन लागू भएपछि विश्वमा नै ‘पोर्न साइट’ हेर्नेको संख्या समेत बढेर गएको छ । ‘पोर्न हब’ को आँकडाअनुसार तीन हप्ताको लकडाउन अवधिमा भारतमा ‘एडल्ट साइट्स’ खोल्नेहरुको संख्या ९५ प्रतिशतले बढेको देखिन्छ । आँकडाअनुसार भारतमा मार्चको अन्तिमसम्ममा लकडाउन सुरु हुनुभन्दा पहिले पोर्न साइट २० प्रतिशतले मात्र हेर्ने गर्दथे तर लकडाउनको तीन हप्तामा भारतमा त्यो बढेर ९० प्रतिशत पुगेको छ । यसरी हेर्दा लकडाउनको समयमा धेरै पोर्न हेर्ने देशहरुमध्ये भारत पहिलो नम्बरमा पर्न आउँछ ।

लकडाउनका कारण भारत, फ्रान्स, जर्मनी, इटाली, रुस, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्याण्ड र अमेरिकामा पोर्न साइट हेर्नेको संख्या अत्याधिक बढेको पाइएको छ । नेपालमा पनि चाइल्डसेफनेटले लकडाउनको अवधिमा गरेको एक सर्वेक्षणअनुसार ४१ प्रतिशतभन्दा बढीले अश्लील साइट हेर्ने गरेको पाइएको छ ।

लकडाउन अवधिभर विभिन्न १ हजार २ सय जना इन्टरनेट प्रयोगकर्तामा गरिएको उक्त अध्ययनले सो कुरा देखाएको हो । लकडाउनको समयमा विश्वभरि नै अश्लील साइट हेर्नेको संख्या बढेसँगै पोर्नस्टारहरुको कमाइ र माग पनि बढेर गएको छ । अरु बेला चर्चामा नआएका पोर्न फिल्महरु पनि लकडाउनको बेला चर्चामा आउन थालेको द फ्रि स्कोचले जनाएको छ ।

लकडाउनको समयमा पनि सुरक्षाको उपाय अपनाउँदै शारीरिक सम्बन्ध राखेका भिडियोहरु विभिन्न पोर्न साइटहरुले अपलोड गरिरहेका छन् । कतिपयले मास्क र भाइरलबाट जोगिने गाउन अर्थात् ‘सुट’ पहिरिएर यौन सम्पर्क गरिराखेका भिडिओ पोस्ट गरेका छन् ।

डिसर्टेड डाउनको अवधिमा धेरै पोर्न साइटहरुले वुहान, टीएसए एजेन्ट, डिटेन्स वुमन, सस्पेक्टेड अफ कोरोना भाइरस जस्ता टाइटलका भिडिओ पोर्न साइटहरुले पोस्ट गरेको डेलीमेलले जनाएको छ । साथै, पीपीई अर्थात् विशेष खालको सुट, फेस मास्क तथा हस्पिटल गाउनजस्ता पहिरनमा यौन सम्पर्क गरिराखेका भिडिओ समेत ती साइटले उत्पादन गरेका छन् ।

रोगको संक्रमण बढेका बेला राखिने यौन सम्बन्ध असुरक्षित हुन्छ, जसका कारण यौनसम्पर्कजन्य संक्रमणको डर बढ्छ । अनिच्छित गर्भ समेत रहन सक्छ । विश्वव्यापीरुपमा कोभिड– १९ को महामारी फैलँदा धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा भएकाले ७० लाख महिलामा अनिच्छित गर्भ रहने राष्ट्रसङ्घीय जनसंख्या कोषले जनाएको छ । लकडाउनका कारण सिनेमा, थिएटर, रेष्टुरेन्ट तथा बार अनि पबहरू जाने क्रम बन्द भएपछि मनोरञ्जनका विकल्प सीमित भएका छन् । त्यसैकारण पनि मन बहलाउन मानिसहरूको तन, मन यौनतर्फ गएको अनुमान गर्न सकिन्छ ।

तर, यौनजोडी यौन सम्पर्कका लागि तयार नहुँदा यौनहिंसा समेत हुन पुग्छ । यस्तै एउटा घटना घटेको छ । लकडाउनका बेला श्रीमानले अत्यधिक यौन सम्पर्क राख्न खोजेपछि आजित भएर एक महिलाले लकडाउन खोल्न राष्ट्रपति समक्ष अपिल गरेकी छन् । यो घटना अफ्रिकी देश घानाको हो । आफ्ना श्रीमानको यौन व्यवहारका कारण तनावमा पुगेकी उक्त महिलाले भिडियो नै बनाएर आफ्नो पीडा व्यक्त गरेकी हुन् ।

यौनको मामलामा श्रीमतीको इच्छा नबुझीकन यौनकार्यमा संलग्न हुनु अहिलेको समयमा अझ बढी घातक हुन सक्छ । यौन क्रियाकलापमा यौनजोडीबीच समझदारी र सहकार्य हुनु जरुरी हुन्छ । तनावले यौनजोडीमा यौनक्षमता तथा चाहना कम भएको हुन सक्छ, असुरक्षित महशुस गरिरहेको हुन सक्छ र भविष्यलाई लिएर चिन्ता गरिरहेको हुन सक्छ । विपत्तिको यस्तो अवस्थामा यौनजोडीले एक–अर्काको ख्याल गर्नुपर्छ, भावनाको कदर गर्नुपर्छ । एक–अर्काको सहमति र इच्छाविपरीत यौनकार्य गर्नु हुँदैन । विपत्तिले पुरुषलाई भन्दा महिलालाई बढी मानसिक असर पुर्याउँछ ।

लकडाउनले महिलाहरुमा घराययसी कामको बोझ पनि बढाएको हुन सक्छ, जसका कारण महिलाहरुमा अझै बढी तनाव र निराशा पैदा भएको हुन सक्छ । यस्तो अवस्थामा महिलाको समस्यालाई बुझ्न नसक्दा यौन जोडीबीच असमझदारी तथा झै–झगडा हुन पुग्छ; यौन दुर्व्यवहार तथा यौनहिंसाका घटना समेत घटन सक्छन् । डर–त्रास र तनावलाई कम गर्न भन्दै रक्सी सेवन गर्दा व्यक्तिमा यौन उच्छृंखलता बढ्न सक्छ । नसा तथा लागू पदार्थको सेवनले यौन दुर्व्यवहार तथा यौनहिंसा समेत बढाउँछ ।

नेपाल प्रहरीका अनुसार लकडाउनको अवधिमा भएका करणी अपराधका घटना त केही उदाहरण मात्र हुन् । लकडाउन सुरु भएको ३५औं दिनसम्ममा करिव ५८ वटा करणीका अपराध भएका छन् । यस अवधिमा अप्राकृतिक मैथुन दुई, जबर्जस्ती करणी उद्योग १५ र बालयौन दूराचारका १० घटना भएका छन् ।

लकडाउनको समयमा विश्वभरि नै यौनहिंसा बढेर गएको तथ्यांकले देखाएको छ । यी घटना बढ्नुको मुख्य कारण लकडाउनका बेला यौनजीवनलाई संयमित बनाउन नजान्नु वा नसक्नु नै हो ।

विपत्तिका बेला यौनजोडीमा धैर्यता र समझदारी आवश्यक हुन्छ । विपत्तिले पारेको शारीरिक, मानसिक, सामाजिक तथा यौनको असरलाई ख्याल गर्दै परिवर्तित अवस्थामा एक–अर्काको मनोविज्ञानलाई बुझ्दै व्यवहार गर्ने हो भने परिवारिक कलह तथा यौनहिंसा कम गर्न सकिन्छ ।

लकडाउनभन्दा अगाडि कामको व्यस्तता र दौडधुपका कारण धेरैको यौनजीवन तहसनहस भएको पनि हुन सक्छ । त्यसो हो भने लकडाउनलाई अवसरका रुपमा लिनुपर्छ । शारीरिक सम्पर्कले शरीर मात्र एक बनाउने होइन, मनलाई समेत एक बनाउन सहयोग गर्छ । भावनात्मकरुपमा एक–अर्कालाई नजिक त्याउँछ, अझ बढी आफ्नोपनको महशुस गराउँछ र आत्मबल बढेर जानुका साथै शरीरमा स्फूर्ति तथा जोस–जाँगर बढ्छ ।

तसर्थ, अहिलेको विपत्तिको अवस्थामा पनि सुरक्षित र संयमित यौनलाई भने प्रोत्साहन गर्नुपर्छ । यौनसम्बन्धी तथा अन्य मानसिक समस्यामा परेकाहरुका लागि लकडाउनको अवधिभरि ‘मार्क नेपाल मनोसेवा केन्द्र’ ले निःशुल्क मनोपरामर्श सेवा प्रदान गरिरहेको छ । सो संस्थाले फोन नं. ९८१३५२७७३२ मा सम्पर्क गर्न सकिने समेत जनाएको छ ।

लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल’ संस्थासँग सम्बद्ध छन् ।

याे पनि पढ्नुहाेस्–

लकडाउनमा यौनजीवन : के–के गर्ने, के–के नगर्ने ?

श्रीमान्–श्रीमती किन बस्ने सँगै ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर