newskoseli.Com

हट्यो लकडाउन : सबै पसल–व्यवसाय खुल्ने, जोर–बिजोरमा निजी सवारी चल्न दिने सरकारको निर्णय

अन्ततः ७९ दिनदेखि जारी लकडाउनलाई ८०औं दिनदेखि सरकारले घुमाउरो भाषामा हटाइदिएको छ । बुधबार राति सम्पन्न मन्त्रिपरिषदको बैलकले बिहीबार बिहानैदेखि सबै किसिमका पसल र प्रायः व्यवसाय सञ्चालन गर्न दिने तथा जोर–बिजोर प्रणालीका आधारमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेपछि लकडाउन मूलतः हटेको छ ।

मन्त्रिपरिषदको यो निर्णय बिहीबार बिहानैदेखि लागू हुने जानकारी एक मन्त्रीले दिएका छन् । स्वास्थ्य तथा सुरक्षासम्बन्धी तोकिएका मापदण्ड अपनाएर सबै किसिमका पसल, उद्योग, प्रायः व्यवसाय खोल्न दिने तथा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको उनले बताए ।

शिक्षण संस्थाहरु र सार्वजनिक यातायात भने अर्को निर्णय नभएसम्म खोल्ने नदिने निर्णय भएको ती मन्त्रीको भनाइ छ । चैत ११ देखि जारी लकडाउनले जनजीवनमा सर्वत्र असर पारेकाले जनस्तरबाट व्यापक अवज्ञा भैरहेको र यति लामो लकडाउनबीच पनि सरकारले परीक्षण, उपचार र नियन्त्रणका कुनै पनि प्रभावकारी काम गर्न नसकेको सन्दर्भमा सरकार बाध्य भएर पछि हटेको हो ।

लकडाउन खुकुलो पार्न सरकारमाथि चौतर्फी दबाव बढ्दै गएको र कोरोना महामारी निकै लामो समयसम्म चलिरहने भन्दै लकडाउनको मोडालिटी परिमार्जन गर्न तथा यसको विकल्प खोज्न विज्ञहरूले पनि सुझाव दिँदै आएका थिए । यी सबै कारणको संयोजनस्वरुप सरकार अन्ततः केही विषय बाँकी राखेर लकडाउन हटाउन बाध्य भएको छ ।

मन्त्रिपरिषदको यो बैठकले ०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने र आन्तरिक मूल्यांकनकै आधारमा ग्रेड निर्धारण गर्ने समेत निर्णय लिएको छ ।

थप याे पनि पढ्नुहाेस्–
‘लकडाउन’ अझै कायम रहने सेवा र क्षेत्र यी हुन् (सूचीसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर