newskoseli.Com

सडकमा पोखिएको युवाआक्रोशमा लुकेको मनोविज्ञान

सामाजिक अभियानमा रुचि राख्ने सोसल मेडियाका प्रयोगकर्ता एक युवाले वर्तमान परिस्थितिप्रति विरोध जनाउँदै सोसल मेडियामा लेखेछन्– ‘सरकारलाई दबाब दिनुपर्‍यो । सरकारले कोरोना नियन्त्रणमा राम्रो काम गर्न सकेन त्यसैले सडकमा जानुपर्छ, को–को तयार हुनुहुन्छ ?’

लामो लकडाउनबाट निराश, छटपटीमा परेका र घरभित्रै बस्न बाध्य किशोर–किशोरी तथा युवा–युवतीलाई घरबाट बाहिर निस्कने, आफ्नो नैराश्यता र असन्तुष्टि पोख्ने, युवा स्वभावअनुसार ‘क्रान्तिकारीपन’ देखाउने, ‘सामाजिक कार्य’ गरेको पनि देखिने र रमाइलो पनि हुनेजस्ता कुराले उत्प्रेरित गर्‍यो । कोरोनाको संक्रमणलाई समेत भुलेर घेरै युवा सडकमा आउन राजी भए । सोसल मेडियाको पहुँचमा भएका युवामाझ यो सन्देश फैलन समय लागेन ।

पहिलो पटक उनीहरुले बालुवाटार अगाडि जम्मा भएर सरकारका सामु आफ्ना असन्तुष्टि पोखे । त्यस कार्यले सर्वत्र चर्चा पायो । निराश जनताले उनीहरुको समर्थन गरे । सरकारको विरोध र टीकाटिप्पणी बढ्दै गयो । यसले उनीहरुमा थप हौसला मिल्यो । र, यसैको फलस्वरूप देशका अन्य भागमा पनि विरोध प्रदर्शन गरिए । अर्को पटकको विरोधमा त ‘सामाजिक दुरी’ को पनि ख्याल नगरी ठूलो भीड सडकमा आयो । कोरोनाको संक्रमण अझ बढी फैलिएला कि भन्ने भय पनि बढ्यो ।

हक–अघिकार प्राप्तिको विषयलाई लिएर संसारभरि नै सरकार र जनताबीच सधैंजसो टकराव परिरहेकै हुन्छ । राज्यले समान्य अवस्थामा त जनतालाई सन्तुष्ट बनाउन सकेको हुँदैन भने झन् महामारी र विपत्तिको अवस्थामा त त्यो अझ कठिन नै हुन्छ । अहिले धेरैलाई बेरोजगार हुने र आय–आम्दानीका बाटा नभेटिने चिन्ताले सताएको छ । मानिसले आफूलाई असुरक्षित महशुस गरिरहेका छन् ।

यस्तो अवस्थामा मानिसमा चिटचिटाहट, रिस, उत्तेजना, आक्रोश, राज्य र सरकारप्रति असन्तुष्टि र विरोधी भावना बढेर जान्छ । व्यक्तिले कहिलेकहीं उद्दण्ड व्यवहार देखाउने, हल्ला फैलाउने, अरुको बहकावमा लाग्ने, अरूलाई दोष दिने, एक–अर्कालाई आरोप–प्रत्यारोप गर्नेजस्ता व्यबहार पनि देखाउन सक्छ । यस्ता व्यवहार देखाएर मान्छे आफ्नो डर, त्रास र नैराश्यता छोप्ने प्रयासमा लाग्छ । यस्तो विषम परिस्थितिमा मान्छेमा निर्णय लिने क्षमता पनि कमजोर हुन्छ । के गर्ने, के नगर्ने– सोच्नै सकिरहेको हुँदैन ।

गाेपाल ढकाल

विपत्ति र दुःखको अवस्थामा नै मान्छेले अरु बेलाभन्दा बढि माया र सहानुभूति खोज्ने गर्दछ’ जनताले पनि राज्यबाट अझ बढी साथ–सहयोगको अपेक्षा गर्दछ । अप्ठ्यारो अवस्थामा र अभावका बेला जनता चाँडो भड्कन्छन् । यस्तो बेला उनीहरुलाई भडकाउन सजिलो हुन्छ, उनीहरुको भावनामाथि खेल्नेहरुका लागि त ठूलो अवसर नै हुन्छ । संकटको बेलामा मानिसको मनोविज्ञानलाई बुझेर राज्य पनि संयमित हुनु जरुरी हुन्छ । जनताका मागलाई सम्बोधन गर्न सरकारले आफ्नो तर्फबाट सक्दो पहल गर्नुपर्छ । जनतालाई आस्वस्त गराउन सक्नुपर्छ, भविश्यप्रति आशावादी तुल्याउने र ढुक्क बनाउने काम राज्यले गर्नुपर्छ ।

यो कुरा सत्य हो कि अहिले विश्व नै कोरोना महामारीको निकै ठूलो मारमा परेको छ । कतिपय विषयमा हाम्रा समस्यहरु अझै ठूला हुन सक्छन् । सरकारले गरेका थुप्रै काममा हाम्रो विमति होला । हामी असन्तुष्ट हुन सक्छौं । सरकारका पनि आफ्नैखाले कमी–कमजोरी होलान्, बाध्यताहरु पनि होलान् । यी सबैका बावजुद अहिलेको परिस्थितिलाई राजनीतीककरण गरिनु हुँदैन । सरकारका कमी–कमजोरीहरुलाई केलाएर मात्र बस्नु हुदैन; साथ र सहयोग पनि गर्नुपर्छ । सबै मिलेर विपत्तिको सामान गर्ने हो भने मात्र सफल भइन्छ ।

कतिपय अवस्थामा विरोधले मात्र समस्याको समधान नहुन सक्छ । विरोधको शैली र समय पनि अनुकूल हुनुपर्छ । अहिलेको अवस्थामा सडकमार्फत अघि सारिएका मागहरुलाई सबैले स्वीकार नै गरेका छन् । भोको मान्छेका अगाडि मिठा व्यञ्जनको कुरा गर्दा कसको मुख नरसाउला र ! तर, कोरोनाको संक्रमण तीब्ररुपमा बढिरहेका बेला गरिएको विरोध प्रर्दशनको तरिका र समयलाई भने उपयुक्त मान्न सकिँदैन ।

स्वतःस्फूर्त निस्केका भनिएका यस्ता आन्दोलनहरु सही दिशानिर्देश र नेतृत्व नपाउँदा खतरनाक पनि हुन सक्छन् । नैतिक जिम्मेवारी कसले लिने भन्ने द्विविधा हुन्छ । नेतृत्वविनाको जमात हुनाले चाँडै भड्कन सक्ने खतरा पनि त्यत्तिकै हुन्छ । यसमा जोसुकैले सजिलैसँग घुसपैठ गर्न सक्ने ठाउँ पाउँछ । युवाहरुको यो ‘आन्दोलन’ मा पनि घुसपैठ भएको उनीहरु स्वयंले बताएका छन् । पछिल्लो पटकको विरोध प्रदर्शन घुसपैठकै कारण अमर्यांदित भएको पनि देखिन्छ ।

भीडको मनोविज्ञान फरक हुन्छ किनकि भीडको आँखा हुँदैन । भीडले विवेक गुमाउन सक्छ । भनिन्छ, ‘भीडभाडमा जिऊ जोगाउनू, अनिकालमा बिऊ जोगाउनू !’ भीडले ज्यान दिन पनि सक्छ र ज्यान लिन पनि सक्छ । पश्चिम रुकुमको दुःखद घटनामा छ जना किशोरहरुको ज्यान गयो । त्यो पनि मूलतः भीडकै मनोविज्ञानको परिणाम हो । अहिले विभिन्न ठाउँहरमा स्वतःस्फर्तरुपमा गरिएको भनिएको विरोध कार्यले पछि गएर कस्तो रुप लिन्छ, कसैलाई थाहा छैन । यस्तो अपरिपक्व र योजनाविहीन विरोधका कार्यक्रमले पछि गएर दुःखद् मोड नलेला भन्न सकिँदैन । यसबारे सम्बद्ध सबै पक्ष सचेत हुनु जरुरी छ ।

रुकुम घटनामा पनि कतिपय केटाहरु त ‘बेहुली ल्याउन सघाउने’ भन्दै एक–आपसमा चिनजान समेत नभैकन साथीमार्फत लहैलहैमा लागेर गएका पाइयो । अहिलेको विरोध प्रर्दशनलाई हेर्दा पनि किशोर–किशोरीको उत्ताउलोपन उनीहरुले लेखेका नारामा देखिन्छ । यसमा पनि धेरै जना त लहैलहैमा लागेर नै आएका हुन सक्छन् । उनीहरुले बेकेको प्लोकार्डमा यस्तोसम्म पनि लेखिएछ– ‘म त राम्री केटी हेर्न आ’को !’

भीडले के बुझ्छ, के गर्छ– थाहा हुँदैन । रुकुमको घटनामा पनि त्यति छोटो समयमा त्यति धेरै गाउँले कसरी आए ? पूर्वयोजना पो थियो कि भन्ने आशंका पनि गरिँदै आएको देखिन्छ । तर, भीड जम्मा हुन समय नलाग्न सक्छ । राजधानीलगायतका केही सहरहरूमा भैरहेको ‘विरोध प्रर्दशन’ मा पनि यति धेरै मान्छे जम्मा होलान् भन्ने कुरा स्वयं आह्वानकर्ताहरुले पनि अनुमान गरेका थिएनन् । यसलाई देखेर उनीहरु आफैं चकित परिरहेका छन् ।

तर, यो ‘आन्दोलन’ मा अप्रत्यक्षरुपमा केही राजनीतिक पार्टीहरूले सघाइरहेको स्पष्ट देखिन्छ । यो कुराबार आह्वानकर्ताहरू स्वयंलाई समेत जानकारी नहुन पनि सक्छ । विरोधमा उत्रिएका प्रर्दशनकारीहरुमा राजनीतिक ज्ञान कमै देखिन्छ । नेता र राजनीतिक दलहरुलाई स्वभावैले भीडको लोभ लाग्छ । प्रर्दशनमा ठूलो मास देखेपछि ‘जनताको आवाज’ भन्दै केही दलहरुले विज्ञप्ति नै निकालेर समर्थन पनि गरे । प्रर्दशनको नेतुत्व गरेका कतिपय युवाहरुलाई आफ्नो पार्टीमा आउनका लागि निम्ति पठाउन पनि भ्याइसके, जुन कुरा ‘युवा’ हरु स्वयंले नै बताइसकेका छन् ।

पार्टीहरुले यो ‘आन्दोलन’ लाई ‘आफ्नो’ बनाउन समेत खोजिरहेका छन् । तर, अहिले उचित समय नदेखेर–नठानेर चुप लाग्न बाध्य भएका छन् । कोरोना महामारीका बेला खुलेरै पार्टीको झन्डा बोकेर सडकमा आउँदा नैतिकरुपमा पनि अप्ठ्यारो पर्ने र जनतामा पनि नकारात्मक सन्देश जाने भएकाले उनीहरु चुप लाग्न बाध्य भएका हुन् । अन्यथा, यसले पार्टीगत रुप लिइसकेको हुने थियो । तर, केही दलहरूले अहिले पनि परिस्थितिविपरीतको यो विरोधलाई देखाएर सरकारको आलोचना गर्न छाडेका छैनन् ।

अहिलेको अप्ठ्यारो अवस्थामा सबैले आफूलाई सम्हाल्नु, संयमित हुनु र सबै मिलेर समस्याको समधान खोज्नु उपयुक्त हुन्छ । अरुलाई भड्काउने र अर्काको भवनामाथि खेलबाड गर्ने कार्यले कसैको हित हुँदैन ।

लेखक मनोविद् हुन्, उनी ‘मार्क नेपाल मनोसेवा केन्द्र’ मा कार्यरत छन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर