newskoseli.Com

‘बलिउड’ अभिनेता सुशान्तले किन गरे आत्महत्या ? यस्ता छन् कारण…

‘बलिउड’ अभिनेता सुशान्तसिंह राजपुतले हालै गरेको आत्महत्यापछि ‘बलिउड’ मा हुने गरेको नातावाद र सिन्डिकेटको विषयलाई लिएर चर्को बहस सुरु भएको छ । मुम्बईमा ठूलो सिन्डिकेट चलिरहेको छ । त्यहाँ नातावाद हावी छ । सुशान्तलाई बहिष्कार गर्ने वा फिल्मबाट निकाल्ने प्रयासको उपजकै रुपमा उनले आत्महत्या गर्न पुगेको व्याख्या गर्दै त्यस्ता निर्माताहरूविरुद्ध ‘आत्महत्याका लागि उक्साएको’ भन्नेजस्ता आरोप लगाउन थालिएको छ ।

नेपाली चलचित्र क्षेत्रमा पनि परिवारवाद, नातावाद र कृपावादजस्ता कुराहरुले जरा गाड्दै गइरहेको छ । मेहनत गरेर अगाडि बढ्न खोज्ने र अभिनयमा अब्बल कलाकारले काम पाउनै मुस्किल भैरहेका कुरा चर्चामा छन् । पछिल्लो समय केही कलाकर्मीहरुले नेपाली चलचित्र क्षेत्रमा भइरहेको विभेद, गुटबन्दी, परिवारवाद तथा नातावाद (नेपोटिज्म) का विरुद्ध खुलेर आवाज उठाउन थालेका छन् । अभिनेतृ वर्षा शिवाकोटीले त यसबाट आफू समेत पीडित भएको खुलासा गरेकी छन् ।

गाेपाल ढकाल

नातावाद, कृपावाद, बहिष्करण, सिन्डिकेट, अपमान, भेदभावजस्ता कुराले मानिसको मनमा पक्कै पनि चोट पुर्‍याउँछ नै । यस्तो परिवेशले मनोसामाजिक समस्या तथा मानसिक रोग निम्त्याउन सक्छ । फिल्मजस्तो कला र सिर्जना देखाउने क्षेत्रमा विद्यमान यसखाले विकृतिले त्यस क्षेत्रको विकासमा नै गम्भीर असर पुर्‍याउने कुरा आफ्नो ठाउँमा छँदै छ । तर, ‘बलिउड’ तथा ‘कलिउड’ मा समेत यसखाले प्रवृत्तिले लामो समयदेखि जरा गाड्दै आइरहेको तथ्य भने धेरैलाई थाहा नहुन सक्छ ।

चलचित्र र कला क्षेत्रमा मात्र होइन, समाज र जनजीवनका प्रायः सबै क्षेत्रमा सिन्डिकेट देखिन्छ । र, आफ्नो वर्चश्व कायम राख्न फिल्म क्षेत्रमा त झन् अनेकन तिकडम हुने गर्छन् नै । यस क्षेत्रमा लागेका घरानाका आफन्तले मात्र अवसर पाएको, प्रतिभा हुँदाहुँदै पनि अरुहरु चाहिँ निरन्तर पछि परिराख्नु परेका अनेकौं उदाहरण छन् ।

अरुले लगानी गर्ने चलचित्रमा अवसर नपाएपछि आफैं लगानी गरेर कलकार बनेका समेत थुप्रै उदाहरण देखिन्छन् । फिल्म उद्योग विशुद्ध ‘कलाकारिता’ क्षेत्र मात्र होइन, व्यवसाय समेत हो । फिल्म बनाउनेले नाफा–घाटाको हिसाबकिताब गर्छ । निश्चितरूपमा उसका केही स्वार्थ हुने गर्दछन्, जसले गर्दा कलाकारहरूले सजिलैसँग लगानीकर्तामाथि औंला उठाउन सकिरहेका हुँदैनन् । यसकारण क्षमता भएकाहरु पनि निरीह हुन बाध्य देखिन्छन् ।

जोसुकैको आत्महत्याका पछाडि पनि मानसिक रोगलाई मुख्य कारणका रुपमा लिने गरिन्छ । मानसिक रोगमध्ये पनि डिप्रेसन एक नम्बरमै पर्छ । विभिन्न कारणले गर्दा मानसिक समस्यमा परेपछि बेलैमा सही उपचार हुन नसक्दा आत्महत्याजस्ता दुःखद् घटना घट्न सक्छन् । तर, आत्महत्याका पछाडिको मुख्य कारणलाई बेवास्ता गर्दै फरक व्याख्या गरिँदा समाजमा आत्महत्याप्रतिको बुझाइ र धारणा गलत बन्न जान्छ । फिल्म नपाउँदैमा, ऋण लाग्दैमा, प्रेममा असफल हुँदैमा वा अन्य कुनै एउटै मात्र कारणले कसैले आत्महत्या गर्दैन; यसका पछाडि धेरै कारकतत्त्वले प्रभाव पारेको हुन्छ ।

आत्महत्याका हिसाबले केही व्यक्ति बढी जोखिममा परेका हुन्छन् । उनीहरुले आत्महत्या गर्ने सम्भावना धेरै हुन्छ । पेशाका हिसाबले पनि व्यक्तिहरुमा आत्महत्याको जोखिम बढी हुन्छ । तनावपूर्ण पेशा अँगाल्ने व्यक्तिमा अरु पेसाका व्यक्तिमाभन्दा आत्महत्याको जोखिम बढी हुन्छ ।

फिल्म वा कलाकारिता पनि तनावपूर्ण पेशा हो । यो पेशामा स्थापित हुन धेरै संघर्ष गर्नुपर्छ । दर्शकले सधैं नरुचाउन पनि सक्छन् । सधैं एउटै उचाई कायम रहिनरहन सक्छ । दर्शकको आलोचना खप्नुपर्ने हुन सक्छ । एक–अर्को कलाकारबीच तुलना गर्ने दर्शकको स्वभाव हुन्छ । र, धेरै कलाकारलाई दर्शकको यो व्यवहार मन नपर्न सक्छ । कलाकारहरु स्वभावतः महत्त्वकांक्षी पनि हुन्छन् । दर्शकलाई रिझाइराख्न देखावटी गर्नु, आफूलाई चर्चामा राखिराख्न विभिन्न हथकण्डा अपनाउनु उनीहरुको पेशागत बाध्यता पनि हुन सक्छ । सधैंजसो व्यस्त रहने भएकाले घरपरिवारलाई समय दिन नसक्दा परिवारिक बेमेल र खटपटबाट सताइएका पनि हुन सक्छन् । यी र यस्ता कारणले कलाकारमा मानसिक तनावको जोखिम बढी हुन्छ, जसले मानसिक समस्यामा पार्न सक्छ । आत्महत्याजस्तो समाजको अहिलेको जटिल समस्यालाई संकीर्णरुपले हेर्नु र व्याख्या गर्नु हुँदैन । आत्महत्यालाई समग्रतामा मानसिक रोगको एउटा दुःखद् परिणामका रुपमा बुझ्नु उत्तम हुन्छ ।

दिवंगत भारतीय अभिनेता सुशान्तसिंह राजपुत

‘बलिउड’ अभिनेता सुशान्तको आत्महत्याकै सन्दर्भको कुरा गर्नुपर्दा उनी छ महिनायता डिप्रेसनमा थिए भन्ने बुझिन्छ । तर, उनका परिवारजनले भने सुशान्तको हत्या गरिएको हुन सक्ने आशंका गरिरहेका छन् । यद्यपि झुन्डिएर नै उनको मुत्यु भएको देखिएको छ ।

के कारणले गर्दा उनी डिप्रेसनमा थिए भन्ने कुरा विश्लेषणको फरक र बेग्लै पाटो हो । डिप्रेसनका धेरै कारण हुन सक्छन् । व्यक्तित्व, स्वभाव, जीवनशैली, रहनसहन आदि कुराले पनि मानसिक रोग तथा आत्महत्याको जोखिम बढाउँछ । अरु कलाकारहरुले भोग्नुपरेका साझा समस्याहरु भोग्न उनी पनि बाध्य भएहोलान् नै । अरु कलाकारहरु झैं उनी पनि महत्त्वकांक्षी पनि थिए होलान् । उनले पचासौं सपना साँच्दै आएका र ती पूरा हुन नसकेका समाचारहरु आएका छन् ।

सुशान्तलाई ‘आत्महत्या गर्न बाध्य बनाइएको’ भन्दै सलमान खानसहित आठ जनाविरुद्ध ‘दुरुत्सान’ को मुद्दा समेत दायर गरिएको छ । अदालतले यसलाई कसरी लिन्छ, त्यो भने हेर्न बाँकी नै छ । यदि बाध्य बनाइएको हो भने कसैलाई आत्महत्या गर्न बाध्य बनाउनु पनि एक किसिमले अपराध नै हो । अभिनेतृ कंगना रनावत सो मुद्धामा साक्षी बसेकी छन् । कंगनाले भनेकी छन्– ‘इन्जिनियरिङमा राम्रो र्‍यांकमा आएर सुशान्तले छात्रवृत्ति पाएका थिए, त्यत्रो संघर्ष गर्दै आएका उनको दिमाग कसरी कमजोर हुन सक्छ र आत्महत्या गर्न सक्छन् !’

कंगनाको बुझाइमा कमजोर दिमाग भएको मान्छेले मात्र आत्महत्या गर्छ भन्ने देखिन्छ । तर, यो बुझाइ गलत हो । डिप्रेसनमा गएपछि आफूलाई हेर्ने दृष्टिकोण, आत्मबल, निर्णय लिने क्षमता कमजोर भएर जान्छ । मानसिक स्वास्थ्य समस्याका बारेमा अझै पनि जनचेतनाको खडेरी देखिन्छ । डिप्रेसन तथा आत्महत्याका विषयमा सत्य–तथ्य जानकारी दिन सके तथा यस विषयमा बहस–छलफल अगाडि बढाउन सके यस्ता दुःखद् घटनाहरुमा उल्लेख्य कमी ल्याउन सकिन्छ ।

‘मार्क नेपाल मनोसेवा केन्द्र’ मा क्रियाशील ढकाल मनोविद् हुन्

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर