newskoseli.Com

दुवै पद नछाड्न ओलीको अडान : नयाँ रणनीतिमा दाहाल–नेपाल

शीर्ष नेताहरूको कटुतासँगै नेकपाका कार्यकर्तामाझ एउटा चिन्ता गढेको छ– कतै एकता भत्किने त होइन ? नेकपा फेरि फुट्ने त होइन ? मेलमिलापको अपेक्षासहित दुई अध्यक्ष एक–एक विश्वासपात्रसहित शुक्रबार तीन घन्टा बसे । बसाइ जति लम्बिँदै गयो, शुभेच्छुकको आशा बढ्दै गयो । तर, छुटुन्जेलमा मन त माझियो, कुरा भने बाझिएरै रह्यो ।

‘दुई अध्यक्षबीच खुलेरै कुराकानी भएको छ,’ अध्यक्षद्वय खड्ग ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सँगै रहेका स्थायी समितिका सदस्य जनार्दन शर्माले भने– ‘तर, विषयवस्तुमा ठोस सहमति भएको छैन, अर्को राउन्ड फेरि छलफल हुने भएको छ ।’ छलफलमा महासचिव विष्णु पौडेल पनि थिए । उनले पनि ओली र दाहालबीच खुलस्त कुराकानी भएको र आफूलाई लागेका कुराहरू दुवै अध्यक्षले राखेको सञ्चार माध्यमलाई जानकारी गराए ।

‘सम्बन्ध नट गुड, नट ब्याड (न राम्रो, न खराब) भयो’– बैठकको उपलब्धिबारे बालुवाटार स्रोतले भन्यो । ओलीसँगको बालुवाटार छलफलबारे दाहालले शुक्रबार साँझ वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापालाई आफ्नो निवासमा बोलाएर जानकारी गराएका छन् । त्यहाँ सहभागी एक सचिवालय सदस्यका अनुसार ओली शुक्रबारको छलफलमा पनि आफ्नो अडानमा यथावत् छन् । वरिष्ठ नेता खनालले भने– ‘दुई अध्यक्षबीच बालुवाटारमा भएको छलफल हामीलाई प्रचण्ड कमरेडले बिफ्रिड गर्नुभयो । कुरा मिलेनछ । उहाँ (प्रधानमन्त्री) अडानमै देखिनुभएको छ, अब स्थायी कमिटीबाटै कोर्स अगाडि बढ्छ ।’

अर्का एक सचिवालय सदस्यका अनुसार दाहाल बालुवाटार पुगेपछि भएको छलफलको प्रारम्भमै ओलीले आफ्नो पुरानै अडान दोहोर्‍याउँदै भनेका थिए– ‘पार्टी अध्यक्ष र प्रधानमन्त्रीको विषयमा कुरा गर्न आउनुभएको भए त्यो कुरै नगरौं, त्यो च्याप्टर क्लोज भयो । त्यसको कुनै सम्भावनै छैन, अरू केही कुरा छन् भने गरौं ।’

पार्टीभित्र उठेका विषयमा छलफल नगर्ने भन्न नसुहाउने भन्दै एकता जोगाई राख्नुपर्ने र पार्टीको निर्णयलाई सबैले मानेर जाने गरी अगाडि बढ्नुपर्ने आग्रह दाहालले गरे । त्यसपछि ओलीले दाहालसँग भने– ‘पार्टी एकता सकेसम्म गर्ने हो तर पार्टी अहिले फुटे बराबर छ, तपाईंले भोलि कारबाही गर्नुस्, त्यसपछि म अर्को पार्टी बनाउँछु ।’

त्यति मात्र होइन, शुक्रबारको छलफलमा ओलीले वरिष्ठ नेता माधव नेपाल वा आफ्नो टिममध्ये कुनमा बस्ने, रोज्न समेत दाहाललाई आग्रह गरेका थिए । ‘पार्टी एकता कायम गर्ने हो भने अध्यक्ष र प्रधानमन्त्रीको कुरा भएन, अर्को एउटा पनि निर्णय गर्नुहोस्– तपाईंले मेरो टिममा बस्ने हो कि माधव नेपालको टिममा बस्ने हो, फैसला गर्नुहोससम्म भन्नुभयो मलाई उहाँ (प्रधानमन्त्री) ले’– ओलीले आफूलाई दिएको चुनौती सुनाउँदै दाहालले ब्रिफिङमा भने ।

दाहालले भने पार्टीको निर्णयलाई मानेर जानुपर्नेमै ओलीलाई जोडबल गरेका थिए । ‘एकीकृत पार्टी भइसकेपछि कहाँ त्यस्तो हुन्छ ? तपाईं (प्रधानमन्त्री) ले त्यागको कुनै भावना नै देखाउनुभएन, यस्तो पनि हुन्छ ?’ दाहालको यस्तो प्रश्नपछि ओलीले भने– ‘मैले गल्ती गर्दिनँ ।’

दुई अध्यक्षबीचको छलफलमा कुरा नमिलेपछि महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माले फेरि पनि छलफल गर्ने र अविश्वास हटाउने विषयमा जानुपर्ने मत राखे । त्यसपछि भने ओलीले शनिबारको पार्टी स्थायी कमिटी बैठक अगाडि पुनः एक पटक बसौं र छलफल गरेर हेरौं भन्दै दाहाललाई बिदाइ गरे ।

दाहाल–नेपाल पक्षले शनिबार ओलीसँग दाहालले गर्ने छलफल पनि सकारात्मक नदेखिए पुनः सचिवालयका नेताहरूको बैठक बसेर कसरी जाने भन्ने प्रक्रिया टुंगो लगाउने भएका छन् । ‘अब उहाँहरूबीचको शनिबार हुने छलफल हेरौं, त्यहाँ पनि प्रधानमन्त्री टसमस नभई आउनुभयो भने हामी स्थायी कमिटी बैठक अगाडि सचिवालयका साथीहरू बस्छौं । त्यसपछि स्थायी कमिटी बैठकमा केन्द्रीय समितिको बैठक बोलाउने गरी निर्णय गरेर जान्छौं, त्यही दिशामा हाम्रो छलफल छ’– ती सचिवालय सदस्यले भने ।

उता, राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाभित्रको विवादमा चासो देखाउँदै सहमतिका लागि नेताहरूलाई आग्रह गरिरहेकी छन् । उनले शुक्रबार बिहान उपाध्यक्ष वामदेव गौतमसँग भेट गरी छलफल गरेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा शनिबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर