newskoseli.Com

ओली–प्रचण्ड–माधव वार्ता पनि असफल : नेकपा विभाजनको खतरा यथावत

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष नेतृत्वत्रयबीच छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । सो पार्टीमा उत्कर्ष हासिल गरेको आन्तरिक विवादको समाधान खोज्न अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको छलफल समेत असफल भएपछि सो पार्टी विभाजनको खतरा यथावत रहेको हो ।

अध्यक्षद्वयबीच बुधबार भएको छलफलमा अध्यक्ष प्रचण्डले पार्टीका वरिष्ठ नेता नेपाललाई पनि राखेर पुनः छलफल गर्नुपर्ने प्रस्ताव राखेपछि बिहीबारको छलफलमा वरिष्ठ नेता नेपाल समेत सहभागी भएका हुन् । स्थायी कमिटीको बैठक बीचैमा रोकेर १३ दिनयता दुई अध्यक्षबीच ७ पटक सम्वाद भैसके तापनि समाधानका कुनै उपाय फेला पर्न सकेका छैनन् ।

साउन २ सम्मका निम्ति स्थायी कमिटीको बैठक स्थगित गरेर छलफलमा जुटेका ओली र प्रचण्डबीच विषयवस्तुमा केन्द्रित भएर निरन्तर छलफल भए पनि कुनै सहमति जुट्न नसकेपछि बिहीबार तीन शीर्ष नेता छलफलमा जुटेका हुन् । छलफलमा प्रचण्ड र नेपालले प्रधानमन्त्री पदबाट ओलीको राजीनामालाई बटमलाइनका रुपमा अगाडि सारेको बालुवाटार स्रोतले जनायो । आफूले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा नदिने अडान ओलीले दोहोर्‍याएपछि महासचिव विष्णु पौडेलसमेत सहभागी बिहीबारको बैठकमा समेत कुनै पनि सहमति जुट्न नसको स्रोतको भनाइ छ ।

बालुवाटार जानुअघि बिहीबार बिहान प्रचण्डले आफ्नो निवासमा वरिष्ठ नेताद्वय नेपाल र झलनाथ खनाल तथा उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ सँग सामूहिक छलफल गरेका थिए । बुधबारको छलफलमा जानुअघि दाहालले वरिष्ठ नेता नेपाल तथा उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर