सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार (आज) का लागि निर्धारित स्थायी कमिटीको बैठक प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्ग ओलीले एकपक्षीय ढंगबाट स्थगित गरिदिएका छन् । प्रधानमन्त्री ओलीले प्रेस सल्लाहकार सूर्य थापामार्फत बैठक स्थगित गरिएको जानकारी गराएका हुन् ।
महासचिव विष्णुप्रसाद पौडेलले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् । अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुले भने स्थगित नगरिएको भन्दै बैठक बस्ने तयारी गरेका छन् । बालुवाटारमा बैठक बस्ने वातावरण नभए अबदेखि पार्टीका सबै बैठक कार्यालयमै राख्ने र नियमितरूपमा पार्टी गतिविधि अगाडि बढाउने तयारी गरिएको प्रचण्ड–नेपाल पक्षले जनाएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अरू नेताहरुसँग परामर्श नै नगरी बैठक स्थगित गरेपछि नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ । सो पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक स्थगित भएको कुरा हल्ला मात्रै भएको बताएका छन् । ‘बैठक केही बेरमा बस्छ, हामी आजको बैठक सकभर बालुवाटारमै बस्छौं,’ प्रवक्ता श्रेष्ठले भने– ‘त्यहाँ वातावरण नभए पार्टी कार्यालयमा भए पनि बैठक चाहिँ बस्छ ।’
बैठकका लागि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु बालुवाटार पुगिसकेका छन् । तर, अर्का अध्यक्ष ओलीले प्रचण्ड, नेपाललगायतका नेताहरूसँग भेटघाट र कुराकानी गर्न समेत नमानिरहेको बालुवाटार स्रोतले जनाएको छ ।
यो पनि पढ्नुहोस्–
खड्ग ओलीका दुई रणनीति : प्रचण्ड–नेपाल पक्षले बैठक अघि बढाएपछि अब के हुन्छ नेकपामा ?