
गत वैशाखमा स्थगित भइको कक्षा १२ को परीक्षासम्बन्धी अन्योलको निकास छिट्टै खोज्ने तयारी भइरहेको छ । स्थगित परीक्षा कहिले र कसरी हुने भन्नेबारे टुंगो नहुँदा लाखौं विद्यार्थी अन्योलमा परेको तथा विश्वविद्यालयका स्नातक तहका सबै कक्षा प्रभावित हुने भएपछि कक्षा १२ को परीक्षाबारे अब भने छिट्टै टुंगो लगाइने भएको छ ।
कक्षा १२ का विद्यार्थीको परीक्षा सञ्चालन तथा प्रमाणीकरणका बारेमा सरकारसित निरन्तर संवाद भइरहेको र अब केही दिनमै निकास दिने गरी तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । कक्षा १२ का विद्यार्थीको परीक्षा कुन तरिकाबाट सञ्चालन गरेर नतिजा प्रकाशन गर्ने भन्नेमा विभिन्न विकल्पमा छलफल सुरु गरिएको छ ।
केही अघिसम्म त दसैंअघि पुरानै तरिकाबाट परीक्षा सक्ने र नतिजा प्रकाशन गर्ने तयारी गरिएको थियो । तर, कोरोना संक्रमणको सन्त्रास झन् गम्भीर हुँदै गैरहेको र समय पनि निकै घर्केर गैसकेकाले अब त्यो सम्भावना टरेको बताइएको छ । अब विकल्पका रूपमा कक्षा ११ कै जसरी विद्यार्थीको मूल्याङ्कनको अन्तिम अधिकार विद्यालयलाई नै दिनेबारे छलफल भइरहेको छ ।
कक्षा १२ का विद्यार्थीको परीक्षा लिनैपर्ने प्रावधान भएकाले परीक्षाको विकल्पलाई कसरी खुलाउने भन्ने हिसाबमा आफूहरू छलफलमा जुटेको प्रा.डा. पौडेलले जानकारी दिए । यसका लागि पटक–पटक गरेर परीक्षा लिने वा अनलाइन या अन्य माध्यमको प्रयोग गरेर परीक्षाको प्रक्रिया पूरा गर्ने भन्ने विषयमा छलफल थालिएको छ र छिट्टै निर्णय लिने जनाइएको छ ।
यस खालको नीतिगत निर्णय लिने अधिकार हाल बोर्डमा नरहेकाले अधिकार दिन बोर्डले सरकारसित माग गरेको छ । स्वतन्त्र तरिकाले काम गर्न सकिएको अवस्थामा कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन तथा प्रमाणीकरण गरी बाटो खोल्ने सोचमा आफूहरू रहेको जानकारी बोर्डका अध्यक्ष पौडेलले दिएको खबर शेषकान्त पण्डितको बाइलाइनमा मंगलबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।