newskoseli.Com

नेकपामा माछो–माछो भ्यागुतो : आफूलाई ‘बचाउने’ कार्यदल प्रतिवेदनप्रति खड्ग ओलीकै असन्तुष्टि !

पार्टीको केन्द्रीय सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दल सबैतिर अल्पमतमा परेका र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट तत्काल राजीनामा दिन माग गरेका खड्गप्रसाद ओलीलाई दुवै पदमा ‘बचाउने’ गरी तयार पारिएको ६ सदस्यीय कार्यदलको प्रतिवेदनप्रति स्वयं ओलीले नै तीव्र असन्तुष्टि पाेखेका छन् ।

ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद जोगाउँदै महाधिवेशनसम्म पार्टीको कार्यकारी नेतृत्व निर्वाधरुपले प्रचण्डले गर्नुपर्ने सुझावसहितको प्रतिवेदन कार्यदलले दिँदा समेत असन्तुष्ट बनेर ओलीले आखिर के खोजेका हुन् भन्दै सत्ताधारी नेकपाका नेता–कार्यकर्ताले आश्चर्य प्रकट गरेका छन् र आक्रोश समेत व्यक्त गर्न थालेका छन् । ‘प्रचण्ड–ओली पक्षलाई शून्यमा झारेर सर्वत्र आफ्नो एकलौटी अधिकार जमाउने प्रतिवेदन कार्यदलले देओस् भन्ने चाहना हो त ओलीजीको ?’ न्युजकोसेलीसँग कुरा गर्दै एक नेताले प्रश्न गरे ।

अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु सँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यदलको सुझावका केही बुँदामा असहमति जनाएका हुन् । प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र हस्तक्षेप गर्न खोजिएको, महाधिवेशनसम्म आफूलाई ‘सेरेमोनियल’ भूमिकामा राख्ने र सरकारको समीक्षा गर्ने भनी उल्लेख भएका या आशय प्रकट गरिएका बुँदाप्रति ओलीले असन्तुष्टि जनाएको प्रचण्डलाई उद्धृत गर्दै ती नेताले बताए ।

ती नेताका अनुसार महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै ओलीले प्रचण्डसँग भने– ‘कार्यदलको प्रतिवेदनमा छलफल गरौं, यो त सुझाव मात्र हो, बाध्यकारी छैन । यसलाई परिमार्जन गरेर मात्र अघि बढौं, यहाँ आएका केही विषय मिलाउनैपर्ने देखिएको छ, त्यसबारे सचिवालय बैठकमा छलफल गरी परिमार्जन गरौं ।’

पार्टीमा आफ्नो अधिकारक्षेत्र खुम्च्याइएको, राजनीतिक नियुक्तिमा सरकारमाथि अंकुश लगाइएको र प्रतिवेदनमा सरकारको समीक्षा गर्न केन्द्रीय कमिटीको बैठक बस्ने भनिएकामा प्रधानमन्त्री ओलीले प्रचण्डसँग असन्तुष्टि जनाएका हुन् ।

उसो त वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रतिवेदनप्रति असन्तुष्टि जनाएका छन् । नेता नेपालले निकटस्थ नेताहरुसँग छलफलका क्रममा कार्यदलले मंसिर ४ कै सहमतिलाई यताउता पारी टाकानटुकुन गरेर मिलाएको टिप्पणी गरेका हुन् ।

यो पनि पढ्नुहोस्–
ओली–प्रचण्ड विवाद समाधान गर्न कस्ता छन् कार्यदलका सुझाव ? (प्रतिवेदनको पूर्णपाठसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर