newskoseli.Com

कक्षा १२ को परीक्षा : जो जहाँ बस्छ, त्यहींबाट दिलाइँदै

कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोवास गर्ने ठाउँकै सबैभन्दा नजिक रहेको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोनाभाइरसको सङ्क्रमणका कारण वैशाखमा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो ।

कोरोनाका कारण आफूू अध्ययन गरेको सहरबजारका विद्यालयबाट विद्यार्थी गाउँघर पुुगेकाले घर पायकको विकल्प पनि सोच्न लागिएको हो । कक्षा १२ को स्थगित परीक्षा सञ्चालनका लागि एउटा राम्रो विकल्पका रूपमा यो मोडललाई समेत हेरिएकाले विद्यार्थीको विवरण लिन सुरु गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा सहभागी हुन परीक्षा फारम भरेका विद्यार्थीमध्ये महामारीका कारण के–कति विद्यार्थी हाल आफू अध्ययन गरेको विद्यालय रहेको ठाउँ (जिल्ला) भन्दा फरक जिल्ला या स्थानमा बसोवास गरिरहेका छन् भन्ने विवरण सङ्कलन गर्दैछ । सरकारले तत्काल परीक्षा सञ्चालनका लागि अनुमति दिएको अवस्थामा यस खालको तयारी गर्न समय नपुग्ने भएकाले अहिलेदेखि नै गृहकार्यमा लागिएको बोर्डका अध्यक्ष पौडेलले बताए ।

यसबाट कुन विद्यार्थी कुन जिल्ला, नगर या वडामा बसोवास गरेको छ भन्नेसम्मको कुरा पत्ता लाग्ने र परीक्षा लिन सहज हुने जनाइएको छ । परीक्षाको उत्तरपुस्तिका, प्रश्नपत्र, परीक्षा केन्द्रको छनोटलगायतको प्रबन्धका लागि पनि विद्यार्थीको वास्तविक अवस्था पत्ता लगाउनुपर्ने अवस्था रहेको बोर्डको भनाइ छ ।

बोर्डका प्रदेश कार्यालयलाई यस विषयको जानकारी गराउन विद्यालयललाई आग्रह गरिएको छ । कक्षा १२ सम्म सञ्चालन भएको विद्यालय भए विद्यार्थीले आफूू बसोवास गरेको ठाउँबाट नजिकैको विद्यालयबाट उक्त परीक्षा दिन पाउने खबर आइतबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर