विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको शारीरिक तथा मानसिक स्वास्थ्यमा पर्ने असर त आफ्नो ठाउँमा छँदैछ; तर आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, चाडपर्व, रहनसहनलगायतका सबै क्षेत्रमा यसको असर परेको छ । कोरोना संक्रमणको त्रासकै कारण यस वर्षको दसैं दिल खोलेर, हर्षोल्लासका साथ मनाउने अवस्था भएन । यद्यपि जस्तोसुकै विषम अवस्थामा पनि हामी हाम्रा धर्म–संस्कृति र परम्परा भुल्न सक्दैनौं । यस वर्ष भने कोरोनाको संक्रमणलाई ध्यान दिँदै भौतिक दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका विभिन्न उपायहरु समेत अपनाउँदै जो–जो जहाँ छौं त्यहीं न रहेर दसैं मनाइरहेका छौं ।
दसैंको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेकै अग्रज तथा मान्यजनबाट आशिर्वाद लिनु र शुभकामना आदान–प्रदान गर्नु हो । तर, भौतिकरूपमा भेटघाट गर्न सम्भव नभएको अवस्थामा पनि फोन वा सोसल मिडियाजस्ता सञ्चार प्रविधिहरूको माध्यमबाट भेटघाट र साक्षात्कार गर्न सकिन्छ अनि आशिर्वाद लिने–दिन र शुभकामना आदान–प्रदान गर्न सकिन्छ । र, यस वर्ष हामी यिनै माध्यमहरूका भरपूर उपयोग गर्दै दसैंको मौलिकता र भव्यता कायम राखिरहेका छौं ।
चाडपर्वको मनोसामाजिक महत्त्व
धार्मिक दृष्टिले मात्र नभई सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिकरूपमा समेत चाडपर्वको निकै ठूलो महत्त्व हुन्छ। दसैं–तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वहरुलाई कुनै जात–जाति र धर्म सम्प्रदायमा मात्र सीमित नगराई आम नेपालीकै साझा राष्ट्रिय परम्परा र संस्कृतिका रूपमा विकसित र स्थापित गर्नु पर्दछ । राष्ट्रिय चाडपर्वहरूले समग्र नेपालीबीच राष्ट्रिय एकता, शान्ति र सद्भाव कायम राख्न मद्दत गरिरहेका हुन्छन्; नेपाली हुनुको गौरवबोध गराउँछन् अनि पहिचान समेत झल्काउँछन् ।
पूर्वीय धर्मग्रन्थहरूका अनुसार विजयादशमी अर्थात् दसैं पर्व असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइँदै आइएको हो । विजयोत्सव मनाउँदा मानिसमा आत्मबल अर्थात् आत्मविश्वास, जोश–जाँगर, हौसला र प्रेरणा बढ्न गई नैराश्यता हट्दछ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वस्थ हुनु भनेको शारीरिक, मानसिक, सामाजिक र आत्मिक– चारै पक्षबाट स्वस्थ हुनु हो । दसैंजस्ता चाडपर्वहरुले यी चारै किसिमबाट स्वस्थ रहन मद्दत पुर्याइरहेका हुन्छन् ।
दसैं यस्तो मौसममा पर्छ, जुन बेला खेतीकिसानी गर्नेहरूमा कामको धेरै ठूलो बोझ हुँदैन । कामको चर्को चपेटाबाट मुक्त भएर आराम गर्ने अवसर समेत हो दसैं । चाडपर्वमा प्रायः सबैले सधैंको भन्दा फरक, मीठा–मसिना र पोषिला कुरा खाने गर्दछन् । दसैंमा विशेषरूपमा खाइने दही–चिउरा, घ्यु, फलफूल, मिठाइ, माछा–मासुजस्ता खाद्य पदार्थले शरीरमा शक्ति प्रदान गर्दछन्, जसले शारीरिकरूपमा स्वस्थ रहन पर्याप्त मद्दत पुग्छ । दसैंमा पिङ खेल्दा शरीरलाई व्यायाम पुग्नुका साथै खाइएका पोषणयुक्त भोजन पचाउन मद्दत मिल्छ । पिङ खेल्दाको मनोरञ्जन त आफ्नो ठाउँमा छँदैछ ।
दसैंको सांस्कृतिक–सामाजिक पक्ष
दसैंका बेला ठूलाले सानालाई टप्का लगाइदिएर दिने आर्शिवाद तथा एक–अर्काबीच गरिने शुभकामना आदान–प्रदानले व्यक्तिमा जोस–जाँगर र हौसला बढाउँछ, निराश मनमा पनि आत्मबल सञ्चारित हुन थाल्छ । आफन्त र साथीभाइसँगको भेटघाटले निराशा, कुण्ठा र एक्लोपन हटाउँछ; सत्मार्गमा हिँड्ने प्रेरणा मिल्दछ र सकारात्मक सोचको विकास हुन्छ । यसले मानसिक स्वास्थ्य प्रबर्द्धनमा मद्दत गर्दछ । कोरोनाले धेरैलाई निराश बनाएको अहिलेको अवस्थामा आत्मबल, प्रेरणा र सकारात्मक सोचको सञ्चार अत्यावस्यक भएको छ ।
दसैंको रमझमले खुशियाली र उमङ्ग छाउँछ । अझ केटाकेटीहरूले त दसैं कहिले आउला भनेर दुई–चार महिना अगाडिदेखि नै औंला भाँच्न थाल्छन् । दसैंका अवसरमा आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया–प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्न ठूलो मद्दत गर्दछ । यसले मानिसलाई सामाजिकरूपमा स्वस्थ्य बनाउँछ । घर छाडेर विदेशिएका वा टाढा गएका पारिवारिक सदस्यहरूलाई एकै ठाउँमा ल्याउने चाड हो दसैं । विदेशिएका धेरै नेपालीहरू स्वदेश फर्किनका निम्ति दसैंको अवसर कुरेर बसेका हुन्छन् । भलै, यस पटक भने धेरै नेपालीहरु दसैंमा पनि घर फर्कन पाएनन् ।
नाति–नातिनादेखि हजुरबुबा, हजुरआमासम्म एकै ठाउँमा भेला भएर हर्षोल्लासका साथ मनाइने दसैंले समाजमा बढ्दै गएको ‘जेनरेसन ग्याप’ को समस्या कम गर्न र आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत गर्दछ । मानसिक स्वास्थ्यका लागि चाडपर्वले थेरापीकै काम गरिरहेको हुन्छ । चाडपपर्वको मनोवैज्ञानिक पक्षलाई बुझेर यसलाई धर्मका रुपमा नहेरी सांस्कृतिक उत्सवका रूपमा स्वीकार गर्ने र मनाउने हो भने यसको महत्त्व र गरिमा अझ माथि उठ्ने निश्चित छ ।
दसैंका प्रचलन र अनेकाैं अर्थ
दसैं नेपालीहरूको मौलिक पर्व हो । नेपालका मगर, गुरुङ, राई, लिम्बू, थारु, नेवार, क्षेत्री, बाहुन आदिले लगाएजस्तो अक्षता (चामल) को टप्का र जमरा लगाउने चलन संसारका अरु कुनै पनि देशका हिन्दू र अरु जातिहरूमा पाइँदैन । ‘दसैंमा अक्षताको टीका लगाएर अन्नको नास गरियो’ भन्नेहरुका आवाज समेत यदाकदा सुनिन्छ । तर, चामलको टीका लगाउनु अन्नको नास होइन, सम्मान गर्नु हो, यसको महत्त्वलाई द्धन् बढी बुुझ्नु हो । यो प्रचलनले त नेपाल कृषिप्रधान देश भएको यथार्थता समेत झल्काउँछ ।
दसैंमा लगाइने रातो रंगमिश्रित चामलको टीकाले मानिसमा ऊर्जा, जोस–जागर, उत्साह र साहस बढाउँछ । रातो रंग शक्ति, उत्साह, सौभाग्य र विजयको प्रतीक हो । दसैंमा टीकासँगै जमरा लगाउनुको पनि अर्थ छ । जमराको जुसलाई अमृतरस भनिन्छ । जमराको जुस दैनिक सेवन गर्नाले धेरै किसिमका रोगहरूबाट बच्न सकिन्छ र दीर्घजीवन प्राप्त हुन्छ । दसैंमा जमरा लगाउनुको अर्थ जमराको औषधीय गुण र महत्त्व झल्काउने प्रतीकात्मक संस्कृति हो ।
दसैंमा टीका लगाएर दक्षिणा दिनु पनि आफैंमा नराम्रो कुरा होइन । चाडपर्वका बेला किनमेल गर्दा पैसा खर्च हुने, ऋण समेत लाग्न सक्ने हुँदा टीका लगाएपछि सक्नेले गच्छेअनुसार पैसा दिँदा त्यसले ऋणबाट मुक्त हुन र आर्थिक अवस्था सुधार गर्न थोरबहुत मद्दत गर्दछ । यस वर्ष त कोरोनाका कारण अर्थतन्त्र नै तहसनहस भएको छ । धेरैको आर्थिक अवस्था कमजोर भएको छ । ‘घाँटी हेरी हाड निल्नु पर्दछ’ भन्ने मान्यताअनुरुप आ–आफ्नो गच्छेअनुसार, विनातडकभडक चाडपर्व मनाउनुपर्छ ।
नकारात्मकताबाट त बच्नैपर्छ
‘दसैं आयो, खाउँला–पिउँला, के खाउँला, चोरी ल्याउँला’ भने झैं जसरी पनि मिठोमसिनो खानैपर्छ र राम्रो लगाउनैपर्छ भन्ने सोचबाट ग्रसित भएर दसैंलाई अनावश्यकरूपले बोझिलो र तनावपूर्ण बनाउनु हुँदैन । चाडपर्वलाई फजुल खर्च गर्ने बहानाका रूपमा होइन, आफूलाई उत्साहित गर्ने, आपसी सम्बन्ध प्रगाढ बनाउने, माया–प्रेम र सद्भाव बढाउने अवसरका रूपमा सदुपयोग गर्नु पर्दछ । चाडपर्वका बेला जुवातास खेल्ने, होहल्ला गर्ने, रक्सी खाने, झैझगडा गर्नेजस्ता नकारात्मक पक्षबाट जोगिनुपर्छ । यस्ता कुरीति हटाउनुपर्छ ।
दसैंका बेला ‘देवी–देवता’ का नाममा चढाइने बली अन्धविश्वास हो । प्राणी हत्या ‘महापाप’ हो । तर, पेटका लागि मानिसहरु जस्तासुकै ‘पाप’ गर्न र बहाना बनाउन पछि पर्दैनन् । कतिपयले भने आफ्नो ‘पाप’ लाई छल्न ‘देवी–देवता’ लाई बली चढाएर ‘प्रसाद’ को बहनाामा मासु खाँदै आएका छन् । बलीप्रथाले मान्छेलाई हिंस्रक, मानसिकरूपमा कमजोर, चिटचिटाहाटयुक्त, अस्थिर र रिसाहा बनाउने काम गर्दछ ।
शाकाहारीहरूलाई भने दसैंका बेला हुने मारकाटले असाध्यै धेरै तनाव पुर्याउँछ । खसीबोकाको क्रन्दन, रगत र काटमारको दृश्यले उनीहरूलाई दुःखी र मानसिकरूपमा अस्थिर बनाउँछ ।
सामाजिक–सांस्कृतिक सहिष्णुता, एक–अर्काका रुचि र अवस्थाजस्ता पक्षहरुलाई ध्यान दिँदै सबैले खुशी र सुखी रहने गरी दसैं–तिहारजस्ता चाडपर्व मनाउनु अनि ती पर्वका सकारात्मक पक्षहरुबाट भरपूर लाभ लिन समर्थ बन्नु नै सभ्य समाजको दायित्व हो ।
लेखक ढकाल मनोविद् हुन्, उनी मार्क नेपाल मनोसेवा केन्द्रमा कार्यरत छन्