newskoseli.Com

‘भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण खारेज गर’ : २१ दल/संगठन

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको आसन्न नेपाल भ्रमण खारेज गर्न २१ वटा राजनीतिक दल तथा संगठनहरुले नेपाल सरकारसँग माग गरेका छन् । २१ दलका तर्फबाट वरिष्ठ माओवादी नेता सीपी गजुरेलले आइतबार अपिल जारी गर्दै भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको यतिबेलाको नेपाल भ्रमणले नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्ने उल्लेख गरेका छन् ।

नरवणेको भ्रमण खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिँदै अपिलभा भनिएको छ– ‘उनको नेपाल भ्रमणले झन् नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप बढ्नेछ । अतः हामी ओली सरकारसँग भारतीय सेनाध्यक्ष नरवणेको नेपाल भ्रमण खारेज गरियोस् भन्ने जोडदार माग गर्दछौं ।’ गजुरेलले अपिलमा अगाडि लेखेका छन्– ‘यदि सरकारले यो भ्रमण रद्द गरेन भने यसको विरोधमा हामीले शान्तिपूर्ण कार्यक्रमको आयोजना गर्ने निर्णय गरेका छौं । हामी सम्पूर्ण देशभक्तहरुलाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गर्दछौं ।’

नरवाणेको नेपाल भ्रमणले नेपालको राष्ट्रिय स्वाधिनतामाथि थप हस्तक्षेप गर्ने ठहर गर्दै भारतीय बाह्य खुफिया संस्था (रअ) का प्रमुख सामन्त गोयलले कात्तिक पहिलो साता गरेको नेपाल भ्रमण र प्रधानमन्त्री खड्ग ओलीसँग गरेको गोप्य भेटवार्ताप्रति समेत २१ राजनीतिक दल/संगठनले आपत्ति जनाएका छन् । कात्तिक १९ मा हुने नरवाणेको यही नेपाल भ्रमणको सिलसिलामा गोयलको भ्रमण भएको बताइएको छ । नरवाणेको नेपाल भ्रमण नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न हुने भएको नेपाल सरकारले जनाएको छ ।

नेपाल र भारत सरकारका बीचमा सीमासम्बन्धी समस्या उत्कर्षमा पुगेको र नेपालको अद्यावधिक नक्सा प्रकाशनका विषयमा टक्कर परिरहेको बेला रअ प्रमुख र सेनाध्यक्षका सिलसिलाबद्ध भ्रमण आत्तिजनक भएको भन्दै नेपाल र भारत सरकारले कूटनीतिक र राजनीतिक वार्ता गर्न चासो नदेखाएको बेलामा भारतकै स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिएर सम्मान दिन खोजिएकामा २१ दल/संगठनले तीव्र विरोध जनाएका हुन् ।

सेनाध्यक्षका रुप्मा नरवाणे नै कार्यरत रहेका बेला भारतीय स्थल सेनाले नेपालको व्यास गाउँपालिकाको लिम्पियाधुरा, कालापानी, लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएको कुरा त्यहाँका रक्षामन्त्रीले पत्रकार सम्मेलन गरेर घोषणा गरेका हुन् । र, नरवाणे स्वयंले नै २ जेठमा भारतमा आयोजित एक गोष्ठीमा बोल्दै उक्त सडक बनाइएको भूमि भारतकै भएको दावी गरेका थिए । सो कार्यक्रममा बोल्दै नरवणेले ‘नेपालले यसको विरोध गर्नुको कुनै तुक नरहेको र कसैको उक्साहटमा लागेर यो काम गरेको आपत्तिजनक अभिव्यक्ति समेत दिएका थिए । ठीक यही बेला उनलाई नेपालमा निम्त्याएर सम्मान गर्दा उनले भनेका कुराकै पुष्टि गरिएको सन्देश जाने २१ दल/संगठनकाे ठहर छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर