newskoseli.Com

सत्ताको समवेदनहीनता र विरोधीका विच्छिन्न आन्दोलन

सत्ता शक्तिको स्रोत हो र शक्तिचाहिँ अहङ्कारको मूल र स्वार्थपूर्तिको साधन हो । अहङ्कार अन्धोपनाका कारण हो र स्वार्थान्धता पनि बहिरोपनालगायत सिङ्गो समवेदनाहीनताको जननी हो । जब सत्ता वा सत्ताका सर्वोच्च शासक सम्पूर्णरुपले समवेदनाशून्य हुन्छन् तब तिनका ज्ञानेन्द्रीय र विचारेन्द्रीय पनि निकम्मा हुन्छन् । तिनका कर्मेन्द्रीयहरु भने खालि अजिङ्गर र कुम्भकर्ण झैं खाने–पिउने, सुत्ने–उठ्ने र दिसा–पिसाब गर्नेमा मात्र सीमित हुन्छन् । तिनका वरिपरि र पेरिफेरिका आसेपासे र गासेदासेहरु अनि चाकरीवाज, चुक्लीवाल, चम्चा र चाप्लुस आदि चाकरहरु ‘अरिङ्गाल’ को काममा मात्र आउँछन् । सत्ताको यो सोच, शैली र संस्कार सहितको अहङ्कार र हुङ्कारले गर्दा सत्तेतर शक्ति, सांसद, समूह र सरोकारवालाहरु समेत सत्येत्तर र शक्तेत्तर हुँदै गएका छन्, जो दुःखद विडम्बना हो ।

आज देशमा जनता मात्र जागरुक, जिम्मेवार र जवाफदेही भई जम्जमाएर उठ्ने तर जनतालाई सचेत, संगठित र संघर्षरत बनाउनुपर्ने राजनीतिक पार्टी र मोर्चाका नायक–गायक र बाहक–धावकहरु भने आफूहरुभित्रै रहेका सुधारवादी, संसदवादी र संशोधनवादी संकीर्णता तथा स्वार्थान्धताका कारण सत्ताविरोधी आन्दोलन नै अलमल, अन्योल, अस्तव्यस्त र किंकर्तव्यविमूढ बन्न पुगेको छ । यहाँसम्म कि सत्ताधारी पार्टीकै एउटा शक्तिशाली कार्यकारी अध्यक्ष र भूपू अध्यक्ष–प्रधानमन्त्री भएकाहरु पनि पार्टीमा अत्यधिक बहुमत हुँदा समेत विधिसम्मत बैठक बस्न र सिन्को भाँच्नेसम्मका निर्णय गर्न नसक्ने हुनु लाचारीको विषय पनि भएको छ । यसैगरी, आफूलाई सरकार र सदनको प्रतिपक्षी ठान्ने राष्ट्रिय पार्टी पनि सरकारबाट एकाध नियुक्ति र सदनबाट एकाध सभापति प्राप्तिमै तुहिएर कुहिएको अवस्था पनि नेपालको अहिलेको अर्को दुःखद विडम्बना हो ।

विगत एक–डेढ वर्ष अघिदेखि वर्तमान सत्ताले गरिरहेका राष्ट्रियताविरोधी, जनतन्त्रविरोधी, जनजीविकाविरोधी, विकासविरोधी, समृद्धिविरोधी र समाजवादविरोधी राष्ट्रघाती, भ्रस्टाचारजन्य, स्वेच्छाचारी, निरङ्कुश र शोषण–दमनकारी क्रियाकलापहरुले जनतामा असन्तुष्टि र आक्रोश चुलिएको छ र विद्रोहका निम्ति वातावरण विष्फोटक नै बन्न पुगेको छ । यस स्थितिमा सलाई कोरेर आगो झोस्ने र पुरानो सत्तालाई ध्वस्त–खरानी बनाएर जनतालाई क्रान्तिको अनुभूति गराउने उदघोष गर्दै आएका दर्जनौं दलहरु र सयौं नेताहरु नै जान–अन्जानमा संसदवादको डरलाग्दो दलदलमा फसेका छन् ।

सत्ताका विरुद्ध न सरकारभित्रबाट न त सदनभित्रबाट र न चाहिँ सडकबाट नै कुनै निर्णायक संघर्ष हुन सकेका छन् । सत्ताको यही गैरजिम्मेवारीपन, संवेदनहीनता र निरङ्कुशताकै कारणले त यसप्रकारको संसदीय व्यवस्था, संसद, संसदीय र सहरिया–शान्तिपूर्ण संघर्ष गर्ने दल–पार्टी र नेताहरु सबैका सबै यो हदसम्म निरीह र निकम्मा सावित भएका हुन् ।

हाम्रो देशमा त अहिले यी दलहरुका आन्दोलनहरु विच्छिन्न मात्र होइन, विचित्रका समेत भएको पाइन्छ । नेपालमा आज कुनै पनि दल र कोही पनि नेता छैन, जसले संघर्ष, आन्दोलन, विद्रोह र क्रान्तिको कुरा नगरोस । तर, ती सबैका कुरा कुरैकुरामा मात्र सीमित वा बार्गेनिङमा आधारित संघर्ष या मात्रात्मक परिवर्तन र प्राप्तिजस्ता झिनामसिना र तपसिलका विषयमा मात्रै सीमित छन्, कुनै गुणात्मक र निर्णायक आन्दोलनको मुड र मनस्थितिमै छैनन् ।

यहाँसम्म कि आफूलाई शान्तिपूर्ण संघर्षको सीमाबाहिर सशस्त्र संघर्षका हिसाबले सोच्ने र तत्कालै केही गर्ने र देखाइदिने भन्दै हिँडेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा समेत न शान्तिपूर्ण–सुधारवादी–मात्रात्मक परिवर्तनको आन्दोलन गर्न सक्ने न त क्रान्तिकारी–गुणात्मक–निर्णायक आन्दोलन गर्न सक्ने भएर किंकर्तव्यविमूढ अवस्थामा पुगेको दुःखद अवस्था छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय, वस्तुगत र आत्मगत अवस्था अनुकूल नभएर आन्दोलन गर्न नसक्नु एउटा कुरा हो । तर, यहाँ त वस्तुगत अवस्था अत्यन्तै अनुकूल हुँदा पनि आत्मगत तयारी नगरेर वा नभएको देखाएर आन्दोलनलाई निर्णायक बनाउन नचाहेको पाइनु विडम्बना भएको छ । आफूलाई सदाबहार क्रान्तिकारी र मालेमावादी सच्चा कम्युनिस्ट ठान्ने स्थापित हस्तीहरु नै साँच्चिकै खतरा मोलेर आन्दोलन गर्ने मनस्थितिमा नहुनु तर आत्मगत तयारी नपुगेकाले संघर्षलाई निर्णायक बनाउन सकिएन र सकिन्न भन्नु वास्तवमा नेतापंक्तिदेखि कार्यकर्ता/जनतासम्म सबैलाई धोका नै हो ।

कुरा, भाषण, वक्तव्य, अपिल, विधान, प्रतिवेदन र लेख–रचनाहरुमा क्रान्तिका चर्का, ठूला र भरमार कुरा गर्ने र इतिहासमा क्रान्तिकारीको रुपमा आफूलाई दर्ज गराउन त खोज्ने तर क्रान्तिका नाममा भूमिगत बन्ने, दुःख–कष्ट खप्ने, खतरा मोल्ने र त्याग–वलिदान गर्ने सवालमा यो वा त्यो बहानामा तयार नहुने, ‘रक्तहीन क्रान्ति’ को यस्तो सोच ‘क्रान्तिकारी’ त होइन र हुनै सक्तैन । यस्तो सोचलाई बरु ‘क्रान्तिप्रेमी’ भन्न सकिन्छ ।

यसरी व्यवहारमा माखो पनि नमार्ने र कुनै क्षतिविना नै क्रान्तिकारी बन्न र देखाउन खोज्ने यो चिन्तन र चरित्र अन्ततः, सारतस्, व्यवहारतस् र परिणामतस् छद्म संशोधनवादी अवसरवाद नै हो । सहर र राजधानीका सुविधासम्पन्न घरहरुमा बसेर, प्राइभेट गाडीमा हुइँकिएर, पाँचतारे होटलहरुमा आयोजित कार्यक्रमहरुमा भीषण–भाषण ठोकेर, माइतीघर मण्डला र शान्तिबाटिकामा सय–दुई सय नेता र सोझा कार्यकर्तालाई उफारेर, देश–विदेशका अवाञ्छित व्यक्ति र शक्तिहरुबाट ‘सहयोग’ लिएर वा मेयर, सांसद र मन्त्री लिएर, वर्गीय आन्दोलनभन्दा माथि वा समकक्षमा जातीय, क्षेत्रीय, लिंगीय, भाषिक, धार्मिक र सांस्कृतिक आन्दोलनहरुलाई राखेर, भावनालाई प्रधान र निर्णायक बनाएर कम्युनिस्ट विद्रोह र क्रान्ति हुने भए आजसम्म भैसक्थ्यो । कुरा सधैं चर्का र ठूला गर्ने तर संघर्ष चर्काएर ठूलठुला पार्नेभन्दा तर्क–वितर्क र कुतर्क गरेर वा कुनै बहानावाजी गरेर दुला–दुला पस्ने यो प्रवृत्ति ‘धाकधम्की ठूलैठूला, हिंड्न लाग्यो खुट्टै लुला’ गर्ने चिन्तन र प्रवृत्तिसित खुब मेल खान्छ ।

अर्को विडम्बना यो पनि छ कि केही आन्दोलनरत राजनीतिक शक्ति र व्यक्तिहरु यतिसम्म संकीर्ण छन्, उनीहरू संयुक्त आन्दोलनको नामै सुन्न चाहँदैनन् र जो चाहन्छन्, तिनले फेरि आन्दोलनलाई उत्कर्ष र निष्कर्षमा पुर्‍याउन चाहँदैनन् । र, यसलाई विस्तार, सुदृढ, व्यापक र सशक्त बनाउन आवश्यक मेहनत नै गर्दैनन् । यो परिस्थिति र मनस्थितिबाट त उनीहरुले निर्मम आन्दोलन गर्न सक्ने कुरै भएन । सत्ताको यो संवेदनहीनताको अवस्थामा जहाँ आँखा–कान फुट्ने गरी उसलाई बजाइदिएर सुन्ने, गुन्ने र मान्ने गराउनु अथवा ‘अठ्ठा–जोकर’ बनाउनु जरुरी छ, त्यहाँ सामान्य पार्टीभित्री संघर्ष, संसदभित्रको संघर्ष र सडकको संघर्षसम्म पनि प्रभावकारी र परिणाममुखी हुन/गराउन नखोज्नु/नसक्नु र विल्कुल व्यक्तिगत, विकेन्द्रित, विशृङ्खलित, विभाजित र विच्छिन्न हुनु विस्मयपूर्ण बाटो हो ।

यसर्थ, विरोधीलाई पूर्णरुपले ध्वस्त पारेर ऊमाथि सम्पूर्णरुपले विजय प्राप्त गर्नु छ भने उसको कमजोर भाग वा पक्ष (विक प्वाइन्ट) पत्ता लगाएर ऊ कमजोर भएकै बेलामा जोडदारपूर्वक र निर्णायक प्रहार गर्नुपर्छ । अन्यथा, जतिबेला पनि, जसरी–तसरी सकी–नसकी पर्याप्त तयारीविना जिस्क्याउने र खिज्याउने गरी गतिविधिहरु गरियो भने उल्टै उसले नै निर्ममरुपले, निर्णायक प्रहार गरेर आफैंलाई सिध्याउने भयङ्कर खतरा प्रबल हुन्छ । यसै भएर त भनिएको होला– ‘बाघ र सर्पलाई मार्ने नै हो भने मात्र मार्न सकिने गरी नै, पूर्ण तयारी र पर्याप्त होशियारी अपनाएर आफ्नो सम्पूर्ण शक्ति लगाएर निर्णायक प्रहार गर्नुपर्छ र ठहरै पार्नुपर्छ, अन्यथा उनीहरुले उल्टै आफूमाथि आक्रमण गर्छन् र सिध्याउँछन् ।’

यसै कुरालाई संकेत गर्दै कमरेड माओले ‘खुकुलो गरी समाउनुको अर्थ नसमाउनु हुन्छ, नसमाउनुको अर्थ ऊ फुत्कने र उल्टै आफूलाई घात गर्ने खतरा हुने भएकाले समाउनु छ भने उम्कनै नसक्ने गरी अँठ्याएर बेसरी समात’ भन्नुभएको होला । त्यसो त जुनसुकै काम गर्दा पनि प्रत्युत्पादक र आत्मघाती नहुने गरी, त्यसमा सफलता प्राप्त गर्ने गरेर नै गर्नुपर्छ । समवेदनाहीन, विवेकहीन, जिम्मेवारीहीन र जवाफदेहिताहीन वर्तमान सत्ताका विरोधाभाषपूर्ण विचार, वर्ग, व्यक्ति वृत्तिका विरुद्ध लड्दा त झन् यो कुराको मर्मलाई आत्मसात् गर्नु अत्यावश्यक नै हुन्छ ।

तसर्थ, अब अन्तिम पटक यस समवेदनाहीन सत्ताको संहारका निम्ति सम्बन्धित सबै संघर्षशील, समवेदनशील र सज्जन शक्तिहरुले सर्वप्रथम त स्वयमका सीमा, समस्या र सोचहरुलाई सच्याउने, शुद्धीकरण गर्ने र रुपान्तरित भएर विच्छिन्न आन्दोलनहरुलाई एकीकृत र केन्द्रीकृत गराएर निर्णायक र निर्ममरुपले प्रहार गरी आन्दोलनलाई देश र जनताका पक्षमा परिणाममुखी बनाउनु अहिलेको ठोस र वस्तुवादी आवश्यकता र जिम्मेवारी हुन आएको छ । यतिबेला यत्ति कुरा पनि गर्न नसक्ने हो भने समवेदनाहीन सत्ताले सबै संघर्षरत शक्तिहरुलाई सधैंभरिका लागि सुताउने निश्चितजस्तै हुनेछ । र, त्यतिबेला कि त यही समवेदनाशून्य सत्ताको सेवामा समर्पित हुनुपर्ने बाध्यता आइपर्ने छ, नत्र पश्चात्तापको भूमरीमा लामो समयसम्म पिल्सिइरहनु पर्ने पक्का छ । विवेक र साहस भया !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर