newskoseli.Com

पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथिको दुर्व्यवहारबारे

चितवनको लोथरमा भएको सरकारी पार्टी (नेपाल कम्युनिस्ट पार्टी) को एक कार्यक्रमका प्रमुख अतिथि त्यसै निर्वाचन क्षेत्रका सांसद र पार्टी स्थायी कमिटीका सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे (जो हालको पार्टीभित्री गुटगत संघर्षमा माधव–प्रचण्ड गुटका हस्ती भनिन्छन्) बोल्दाबोल्दै ओली गुटका नेता–कार्यकर्ताहरुबाट गरे–गराइएको हुटिङ, होहल्ला र हुलहुज्जत एवम् नाराबाजी एकातिर नियोजित र प्रायोजित देखिन्छ भने अर्कातिर लोकतन्त्र, पार्टी अनुशासन, नीति र विधि–विधान विपरीत देखिन्छ ।

त्यस प्रकारको व्यवहार अमर्यादित, अशोभनीय, अवाञ्छित, अभद्र, अशिष्ट, अप्रिय र अराजक चिन्तन–प्रवृत्तिको द्योतक लागे तापनि पार्टीभित्रको पद, प्रतिष्ठा, पावर र पैसा प्राप्तिका लागि चर्किएको शीर्ष तहको गुटगत संघर्ष हेर्दा वास्तवमा त्यो त्यसैको स्वाभाविक परिणाम हो भन्ने पनि लाग्दछ । पार्टीभित्र देखिने यसप्रकारका घटनाको मुख्य कारण पार्टी र त्यसका मुख्य नेताहरु नै क्रान्तिकारी विचार–राजनीति, लक्ष–उद्देश्य, दिशा–गन्तव्य, मूल्य–मान्यता, विधि–पद्धतिबाट विचलित र स्खलित हुनु नै हो ।

जब एउटा ‘कम्युनिस्ट’ पार्टी यसरी कम्युनिज्मका घोषित नीति–सिद्धान्त, विचार–आचार र लक्ष–उद्देश्यबाट विचलित, स्खलित र पतीत हुन्छन्, तब पार्टीभित्र विभिन्न गुट–उपगुट (स्वार्थसमूह) हरु बन्छन् र तिनै समूहहरुका बीचको अराजनीतिक र दुश्मनीपूर्ण अन्तर्संघर्ष गुटीय झगडाका रुपमा प्रष्फुटित हुन्छन् । यसरी यो घटना पनि पार्टी नेतृत्वबाटै निशृत हो भन्ने देखिन्छ ।

पार्टीमा वर्गसंघर्षको प्रतिविम्बनका रुपमा देखापर्ने यसप्रकारका संघर्षहरु (जसलाई हामी अन्तर्संघर्ष र दुई लाइनसंघर्ष भन्छौं), ती जबसम्म विचार–राजनीति केन्द्रित हुन्छन्, तबसम्म ती स्वच्छ, मैत्रीपूर्ण र रचनात्मक हुन्छन् र तिनको स्वरुप एकता–संघर्ष–रुपान्तरण हुँदै परिणामतस् नयाँ आधारमा नयाँ, उन्नत र उच्चस्तरको एकतामा पुग्दछ । यो स्थितिमा पार्टी र क्रान्तिका सामु विभिन्न नयाँ, जटिल र गम्भीर समस्या तथा चुनौतीहरुको समाधानार्थ झन्–झन् नयाँ, उन्नत, क्रान्तिकारी र वैज्ञानिक विचार, विधि र व्यवहारको अनुसन्धान र अवलम्बन हुन पुग्दछ ।

तर, जब त्यो पार्टी र तिनका शीर्षतम् नेताहरु नै पार्टीको घोषित विचार, राजनीति, विधि, पद्धति, योजना र कार्यक्रमअनुसार नभई आ–आफ्ना व्यक्तिगत र गुटगत सोच, सनक र स्वार्थअनुसार चल्छन्; पार्टीलाई पनि त्यसैअनुसार चलाउन खोज्छन्, तब पार्टीमा यसप्रकारका गुट (स्वार्थसमूह) हरु बन्ने र तिनका बीचमा नीतिविशेषलाई लिएर भन्दा नेताविशेषलाई लिएर, विचारविशेषलाई लिएर भन्दा व्यक्तिविशेषलाई लिएर, वर्गविशेषलाई लिएर भन्दा गुटविशेषलाई लिएर, सेवाविशेषलाई लिएर भन्दा स्वार्थविशेषलाई लिएर संघर्ष हुन्छ, तब त्यो अन्तर्संघर्ष अस्वस्थ, दुश्मनीपूर्ण र अराजक तरिकाले चल्छ अनि त्यसले वर्गसंघर्ष अर्थात् दुश्मनीपूर्ण र विध्वंसात्मक रुप लिन्छ । र, पार्टीका नेता–कार्यकर्ताका बीचमा द्वन्द्व–प्रतिद्वन्द्व र घात–प्रतिघात हुने गर्दछन् । फलतः पार्टी टुटफुट, विभाजन र विसर्जन हुने गर्दछ । चितवन घटनालाई यही प्रक्रियाको सुरुआतकै संकेतका रुपमा लिन सकिन्छ ।

आफ्नै पार्टीका नेताका विचार र व्यवहारको वैचारिक प्रतिवाद गर्न नसकेर भौतिक ‘प्रतिरोध’ गर्दा हुने ‘उपलब्धि’ का रूपमा आत्मरती र अहंकारको तुष्टि तथा प्रतिशोधको पूर्ति त होला तर क्षति त पार्टीको बेइज्जत, विभाजन, विघटन र विसर्जनसम्म हुने खतरा हुन्छ । वास्तवमा कम्युनिस्ट पार्टीभित्र क्रान्तिकारी विचारमा विचलन, व्यवहारमा विकृतीकरण र मूल्य–मान्यताको क्षयीकरण अनि नीति–नैतिकतामा अनास्था र विधि–पद्धतिको बेवास्ता हुने हो भने आउने परिणाम यस्तै हो ।

पूर्वअर्थमन्त्री एवं सत्ताधारी नेकपाका स्थायी कमिटी सदस्य एवं सांसद सुरेन्द्र पाण्डे : फाइल तस्बिर ।

सुरेन्द्र पाण्डेका विचार र व्यवहारहरु जनहितविरोधी, राष्ट्रहितविरोधी, क्रान्तिविरोधी र सर्वहारा वर्गविरोधी नै छन् भने तिनको निर्ममतापूर्वक विरोध, भण्डाफोर र चिरफार गर्नु आवश्यक र औचित्यपूर्ण नै हो । त्यसै सभामा तथ्य र तर्कसंगत ढङ्गले राजनीतिक र वैचारिक दृष्टिले खण्डन र भण्डाफोर गर्दा कति उपलब्धिपूर्ण हुन्थ्यो होला ! यदि उनी भ्रष्टाचारी हुन् भने त्यसको तथ्य–प्रमाणसहित उजागर गरिनु देश, जनता, पार्टी र क्रान्तिका लागि कति उपलब्धिपूर्ण हुन्थ्यो !

त्यसैगरी, उनी भारत वा अमेरिकाजस्ता विस्तारवादी र साम्राज्यवादी शक्तिकेन्द्रका दलालै बनेर संसदबाट राष्ट्रघाती नागरिकता विधेयक र एमसीसीजस्ता खतरनाक विषयहरु पास गर्ने–गराउने दुस्प्रयासमा सक्रिय छन् र उनी ‘रअ’ र ‘सीआईए’ जस्ता हस्तक्षेपकारी हत्यारा जासुसी संस्थाको नीति–निर्देशन र षड्यन्त्रमा चल्न खोजेका हुन् भने ती सबैको सत्य–तथ्यसहित दसी–प्रमाण राखेर पोल खोली नाङ्गेझार पारेको भए त्यो संघर्ष कति शानदार वैचारिक–राजनीतिक संघर्ष हुन्थ्यो र देश, जनता तथा क्रान्तिको हितमा हुन्थ्यो ! तर विडम्बना, त्यसो नगरेर वा गर्न नसकेर अथवा त्यसो गर्ने सही विचार, स्वच्छ आचार, सद्बुद्धि, स्वविवेक र सबलता नभएर हो वा त्यसप्रकारका गल्ती–कमजोरी सुरेन्द्रबाट भएको नदेखेर हो– आवेग र उत्तेजनामा आएर अराजनीतिक, अभद्र, अमर्यादित र अवाञ्छित तरिकाले बाहुबलको विधि र बाटो अबलम्बन गर्न खोज्नु सर्वथा गलत छ ।

साथी सुरेन्द्र पाण्डेमाथि भए–गरेका घटना–व्यवहार निन्दनीय छन् । राष्ट्रका अहम् महत्त्वका अत्यन्त गम्भीर र संवेदनशील मुद्दाहरुमा सारतः एकै स्थानमा देखिने व्यक्ति र प्रवृत्तिहरुबीच हुने यसकिसिमको हर्कतलाई विचित्र नै मान्नु पर्दछ । विचित्र यस अर्थमा पनि कि विचार र आचारमा खास र सारमा त्यस्तो गुणात्मक अन्तर नभएका व्यक्ति, शक्ति र प्रवृत्तिका बीचमा सामान्यतया त्यस्तो नहुनुपर्ने हो तर, यो घटनामा त्यस्तै हुन पुगेको छ ।

‘थाहा’ चाहियो, ‘थाहा’ !

उपरोक्तोल्लिखित तथ्यहरूका आधारमा हेर्दा चितवन घटना ओली गुटका निम्ति प्रत्युत्पादक बन्न पगेको छ भने त्यसबाट प्रचण्ड–माधव पक्षलाई तुलनात्मकरुपले फाइदा भएको छ । त्यसैलाई भजाउँदै अस्ति मात्रै गण्डकी प्रदेशको प्रचण्ड–माधव पक्षको भेला अपेक्षाकृत बढी सफल भएको छ । ‘थाहा’ आन्दोलनका प्रणेता आदरणीय र अनुकरणीय नेतृत्व र व्यक्तित्व रुपचन्द्र विष्टको जन्म, कर्म र गृहभूमि नजिकैका नेता–कार्यकर्ता र उनका सहकर्मी–सहधर्मी शीर्ष–सर्वोच्चहरुलाई यत्ति पनि थाहा नहुनु ! दुर्भाग्यपूर्ण भएको छ ।

पार्टी र सरकारभित्रका धम्कीदाता, धुन्धुकारी र धमिराहरुमाथि पार्टी र सरकारले कडा कारबाहीको सुरुआत यहींबाट गरे शान्तिपूर्ण भनिएको अहिलेको राजनीतिक संघर्षका सन्दर्भमा घनवाद, गनवाद, डनवाद र धनवादको प्रयोग, प्रभाव, प्रकोप, प्रदूषण र प्रपञ्चलाई दूर वा कम गर्न सकिन्थ्यो । यसो गर्न सके पार्टीभित्रको यसप्रकारको गुटगत झगडालाई विचार–राजनीतिकेन्द्रित स्वस्थ, रचनात्मक र क्रान्तिकारी अन्तर्संघर्ष र दुई लाइनसंघर्षमा बदल्न सकिन्थ्यो कि ?

तर, विडम्बना ! गुट, कुट र लुटमा आधारित यो संसदीय फोहोरी राजनीतिमा उक्त घटना–व्यवहारलाई गुटकै नेताको नाताले माधव र झलनाथले त निन्दा गरे तर दुःखको कुरा, पार्टीका कार्यकारी अध्यक्ष एवं जिल्लावासी सहयोद्धा तथा गुटीय लडाइँमा एउटा पक्षको नेतृत्व गरी त्यस गुटका तर्फबाट प्रस्तुत प्रस्तावका लेखक समेत रहेका नेता (स्मरणीय छ, सुरेन्द्रले उक्त प्रस्तावको पक्षमा प्लिट गर्दा नै त्यहाँ सहभागी ओली गुटका नेता–कार्यकर्ताहरुलाई उत्तेजित र आक्रामक हुने निहुँ मिलेको थियो) का नाताले अध्यक्ष प्रचण्डले न मुख खोले, न त सरकार, पार्टी र संसदीय दलका नेता तथा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीको बोली फुट्यो !

त्यसैगरी, पार्टीमा ‘स्वतन्त्र’ (गुट निरपेक्ष) भएर ‘एकता र सहकार्य’ का निम्ति संकीर्ण समूहहरु बीच समन्वय र सन्तुलन कायम गर्ने प्रयासमा सक्रिय भनिएका नेता र जनधनको सुरक्षा गरी ‘रामराज्य’ को अनुभूति दिलाउने जिम्मेवारी बोकेका ‘जनयोद्धा’ रामबहादुर थापा ‘बादल’ बाट समेत वक्तव्यवाजीसम्म पनि भएन । अरु ठूला र कडा कारबाहीको त कोबाट, के नै आशा गर्ने र ! यसप्रकारका नेता–कार्यकर्ता, नीति–विधि, विचार–आचारबाट देश र जनताको मुक्ति र प्रगति अनि ‘समाजवाद र समृद्धि’ को आशा त क्रान्तिकारीहरुले कति नै पो गर्ने र !?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर