newskoseli.Com

नेकपा सचिवालयको बैठकले नयाँ मोड लिने : ओलीको राजनीति ‘धराप’ मा !

नेकपाको १३ कात्तिक, ०७७ को बैठकमा अध्यक्षद्वय ओली र प्रचण्ड ।

सत्ताधारी नेकपाको आज बस्ने केन्द्रीय सचिवालयको बैठकले नयाँ राजनीतिक मोड लिने भएको छ । यो बैठकले अध्यक्ष प्रचण्डसहित बहुमत पक्षको राजनीतिक प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गराई बहुमतबाट पारित गराउने बाटो अवलम्बन गर्नेछ ।

अर्का अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली पक्षले प्रचण्डको प्रस्ताव ‘अनधिकृत’ भएको भन्दै बहुमतको निर्णयलाई अस्वीकार गर्नेछ र त्यसलाई स्थायी कमिटीमा लाने बहुमतको निर्णयप्रति समेत विमति जनाउनेछ । दुवै पक्ष आ–आफ्नो अडानबाट टसमस नहुँदा पार्टीका सबै कमिटीमा अल्पमतमा परेको अध्यक्ष ओली पक्षको राजनीति धरापमा पर्नेछ ।

स्थायी कमिटीबाट प्रचण्डको प्रस्ताव बहुमतले पारित गर्दा ओलीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दुवै पदबाट हात धुनुपर्ने अवस्था सिर्जित हुनेछ । प्रचण्ड पक्षको नजिक मानिएका एक स्थायी कमिटी सदस्यले न्युजकोसेलीलाई भने– ‘त्यसबेला पार्टीबाट अलग्गिएर अर्को पार्टी गठन गर्न पनि ओली कमरेडलाई मुश्किल पर्ने देखिन्छ भने पार्टीको निर्णय मानेर यहीं बसिरहन समेत उहाँलाई निकै सकस पर्ने अवस्था छ । एक हिसाबले भन्ने हो भने ओलीजी र उहाँका पक्षधरहरूको राजनीति नै अहिलेका निम्ति धरापमा पर्नजाने देखिन्छ ।’

२८ कात्तिकको सचिवालयको बैठकमा अध्यक्ष प्रचण्डले बहुमत पक्षका तर्फबाट प्रस्तुत गरेको १९ पेजको राजनीतिक प्रस्तावपछि ३ मंसिरमा बसेको सचिवालयको अर्को बैठकले ‘जवाफी प्रतिवेदन’ लेख्न ओलीलाई १० दिनको समय दिएको थियो । त्यसपछि १३ मंसिरमा बसेको सचिवालयको बैठकमा ओलीले ३८ पेजको ‘जवाफी प्रस्ताव’ प्रस्तुत गरे । त्यसलाई नेताहरूले ३ दिन अध्ययन गरेपछि आज (१६ मंसिर) मा फेरि अर्को सचिवालय बैठक बस्दैछ ।

घटनाहरूको विकासक्रम हेर्दा यो बैठकले सत्ताधारी नेकपा र सिंगै मुलुकको राजनीतिलाई भिन्न मोड दिने देखिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर