newskoseli.Com

ओली गएनन् ‘रत्यौली’ मा : अघि बढ्यो नेकपा, २८ गते स्थायी कमिटी, पुस ५ मा केन्द्रीय समिति

सत्ताधारी नेकपाको विवादले क्रमशः निकासको बाटो पक्रेको छ । आइतबार केन्द्रीय कार्यालयमा बसेको सो पार्टीको स्थायी कमिटीको बैठकमा एक अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओली सहभागी भएनन् ।

प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा यसअघि सचिवालयमा विवादित बनेका दुवै राजनीतिक प्रस्ताव र चिठीपत्रहरु प्रस्तुत गरिए । ती प्रस्तावमाथि ७ दिन अध्ययन गरेर २८ कात्तिकमा बस्ने स्थायी कमिटीको अर्को बैठकमा छलफल गरी निष्कर्ष निकाल्ने निर्णय आइतबारको बैठकले गरेको छ । यसअघि २५ कात्तिकमा बस्ने गरी तोकिएको केन्द्रीय कमिटीको बैठक भने ५ पुसमा बस्ने गरी तय गरिएको छ ।

शनिबार बसेको सचिवालयको बैठकमै स्थायी कमिटीको बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका अध्यक्ष ओली आइतबारको बैठकमा उपस्थित नभए तापनि बैठक सामान्य ढंगले अघि बढेको छ । सचिवालयको बैठकमै कार्यदल बनाएर यसअघि झैं आफूलाई पूर्णरूपले दुवै पदमा सुरक्षित राखेर विवादलाई थामथुम पार्ने प्रयास गरेका ओली त्यसो गर्न असफल भएपछि आइतबारको बैठकमा सहभागी नभएका हुन् । उनले सचिवालयमार्फत नै विवादहरू हल गर्नुर्नेमा जोड दिँदै आएका थिए ।

पार्टीको आन्तरिक समस्याबारे आइतबार स्थायी कमिटीमा छलफल भएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारर्मीलाई दिएका छन् । बैठकमा सहभागी नभएका ओलीले स्थायी कमिटीलाई सम्बोधन गरी पत्र पठाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत बैठकमा आएको सो पत्रमा ‘प्रचण्डको प्रस्तावमाथि औपचारिकरुपमा बैठकमा छलफल गर्न नसकिने’ धारणा ओलीले प्रकट गरेका छन् ।

ओलीको असहमतिकै बीच स्थायी कमिटीको बैठकमा प्रचण्ड र ओलीका दुवै प्रस्ताव पेस भए । पार्टीभित्र देखिएका समस्या र समाधानका उपायबारे अध्यक्ष प्रचण्डले बैठकमा ब्रिफिङ गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर