newskoseli.Com

को हुन् ‘माता’ र ‘धामी’ ? लौ पढ्नोस् सनसनीपूर्ण खुलासा

नेपाली समाजमा बेला–बेला र ठाउँ–ठाउँमा कथित माता र कथित धामीको अनेकौं उट्पट्याङ देखिन्छन् । कतिपय आम सञ्चारका माध्यममा, युट्युब र फेसबुक–ट्विटरजस्ता सामाजिक सञ्जालमा र समाजमा प्रत्यक्षरुपमै ‘माता’ र ‘धामी’ का अनेकथरी हर्कत, भ्रम र उट्पट्याङ निरन्तरजसो देखिने र सुनिने गरेका छन् । यिनैको भ्रममा परेर कतिपयले ठूलै रकम उडाउने गरेका छन् भने कतिपयले ज्यानै समेत गुमाउने गरेका छन् । वास्तवमा को हुन् त त्यस्ता ‘माता’ वा ‘धामी’ ? के हो तिनको कथित दैवी शक्ति वा ‘विलक्षण प्रतिभा’ वा ‘अन्तर्निहित शक्ति’ ?

वैज्ञानिक तथ्य, प्रमाण र यथार्थताका आधारमा भन्नुपर्दा कथित माता वा धामी अरु कोही नभएर वास्तवमा ‘मानसिक रोगी’ मात्र हन् । तिनले कुनै ‘चमत्कार’ गर्ने हुँदै होइन र तिनमा कुनै ‘विलक्षण प्रतिभा’, ‘दैवी शक्ति’ वा ‘आशिर्वाद’ या ‘अन्तर्निहीत विशेष शक्ति’ केही पनि हुँदैन । त्यो त केवल भ्रम मात्र हो; मानसिक रोग र त्यसले निम्त्याएको वितण्डा मात्र हो; अन्धविश्वास, रूढीवाद र अज्ञानता मात्र हो ।

के हो त मानसिक रोग ?

मनमा हुने रोगलाई मानसिक रोग भनिन्छ । विश्वमा तीन सयभन्दा बढी मानसिक रोगहरू देखापरेका पाइन्छन् । मानसिक रोगलाई चिकित्सकीय हिसाबले ‘सामान्य’ र ‘कडा’ गरी दुई प्रकारमा विभाजित गरिएको छ ।

सामान्य मानसिक रोगहरू मनोपरामर्शद्वारा निको हुन सक्छन् भने कडा मानसिक रोगको उपचारका लागि औषधि नै सेवन गर्नुपर्ने हुन्छ । उचित औषधोपचार गरिए सबै किसिमका मानसिक रोग निको हुन्छन् ।

विभिन्न किसिमका मानसिक रोगहरूमध्ये ‘हिस्टेरिया’ अर्थात् काँप्ने रोग पनि एक हो । पाठेघरको समस्याका कारण काँप्ने मानसिक रोग महिलालाई मात्र लाग्दछ भन्ने मान्यता थियो, सुरु–सुरुमा । त्यसकारण नै काँप्ने रोगको नाम ‘हिस्टेरिया’ रहन गएको पाइन्छ । तर, पछिल्लो चरणमा भने काँप्ने रोग महिलामा मात्र नभई पुरुषमा समेत हुन्छ भन्ने थाहा भयो । त्यसपछि चाहिँ काँप्ने (मानसिक) रोग ‘कन्भर्जन डिसअर्डर’ नामले चिनिन थाल्यो ।

काँप्ने रोग कडाखाले मानसिक रोग होइन । काँप्ने रोगलाई ‘मनको भुइँचालो’ पनि भनिन्छ । भूसतहका दुईवटा ‘प्लेट’ एकापसमा ठोक्किएर जमिनमा भुइँचालो गएजस्तै मनभित्रका समस्या या कुण्ठाको जुधाइबाट ‘मनको भुइँचालो’ अर्थात् काँप्ने रोग लाग्दछ ।

मानसिक कुण्ठाको प्रस्फुटन अर्थात् काँप्ने रोग

कुनै समस्या कसैसँग व्यक्त गर्न नसक्दा मनमा कुण्ठा पैदा हुन्छ । मनमा धेरै डर, चिन्ता, पीरजस्ता कुण्ठा सहन मुस्किल पर्छ । त्यसपछि शारीरिक प्रतिक्रियामार्फत मनका कुण्ठा प्रस्फुटित हुन्छन् । यसरी मनका कुण्ठा प्रस्फुटित हुँदा काँप्ने तथा बोल्नेजस्ता लक्षण देखा पर्छन् । यसरी मानसिक कुण्ठा प्रस्फुटित भएर काँप्दा ‘धामी जागेको’ या ‘माता उत्रिएको’ भन्नेजस्तो अन्धविश्वास समेत हाम्रो समाजमा व्याप्त छ ।

कन्भर्जन डिसअर्डरले च्याप्दा काँप्ने, चिच्याउने, उफ्रने, बक्ने (विभिन्न कुराहरू बोल्ने) जस्ता लक्षण देखिन्छन् । यो समस्या हुँदा कतिपयमा भने बोली नआउने, हात–खुट्टा लल्याक–लुलुक भएर नचल्ने, आँखा नदेख्नेजस्ता लक्षण पनि देखिन्छन् । यस्तो समस्या लामो समय रहिरहँदैन; केही समय समस्या भई ठीक भएजस्तो हुन्छ र पछि फेरि दोहोरिन्छ । चाडपर्वका बेला यस्तो समस्याले बढी च्याप्छ ।

यो समस्या भएका बेला कतिपय बिरामीले ‘धामी’ का झैं गरी अतीतका कुरा र ‘भविष्यवाणी’ बक्नेजस्ता लक्षण देखाउँछन् । बाल्यकालका घटना–प्रसङ्गका स्मृति मस्तिष्कमा रहेका हुन्छन्, हिस्टेरिया हुँदा म ‘धामी’ वा ‘ईश्वरको अवतार’ हुँ भन्दै स्मृतिमा रहेका तिनै कुरा बक्दछन् । कतिपयले चाहिँ यो समस्याबाट उम्कन र दुनियाँलाई भ्रमित पारेर लाभ समेत लिन आफूलाई ‘धामी’ या ‘माता’ का रूपमा समेत चिनाउँछन् ।

समाजले पनि यो रोग हो भनेर नबुझ्दा हिस्टेरियाका बिरामीले ‘धामी’ वा ‘माता’ कै पगरी पाउँछन् । यसो हुँदा स्वयम् हिस्टेरियाका रोगी र ऊबाट ‘झारफुक सेवा’ या ‘तन्त्रमन्त्र’ को सहारा लिने अरु बिरामी समेत उपचारबाट वञ्चित हुने गरेको तीतो यथार्थता हाम्रो समाजमा यत्रतत्र छ ।

यो हो ‘धामी’ वा ‘माता’ को वास्तविक यथार्थता

लेखकः मनाेविद् गाेपाल ढकाल

हिस्टेरियाका बिरामीलाई समाजले ‘धामी’ या ‘माता’ का रूपमा स्वीकार र चित्रित गर्न थालेपछि रोगीले ‘धामी’ या ‘माता’ कै रूपमा सम्मान समेत पाउन थाल्छन् । त्यसपछि झन् हौसिँदै त्यस्ता रोगीले ‘चोखोनीतो’ र अनेकौं ‘नाटीकुटी’ गर्दै परिवार तथा समाजको ध्यान आफूतिर खिँच्दछन् ।

यस्ता रोगीमध्ये कतिपयलाई भने ‘बोक्सा’ वा ‘बोक्सी’ का रूपमा समाजले तिरष्कार र दुर्व्यवहार गर्ने जोखिम पनि त्यत्तिकै छ । ‘बोक्सा’ वा ‘बोक्सी’ मा दरिएकाहरूले चाहिँ अनेकौं शारीरिक तथा मानसिक हिंसाको चपेटामा पर्नुपर्ने विडम्बना कायमै पनि छ ।

हिस्टेरियाले च्यापेर काँप्दै बक्दा रोगीलाई भने आफू बकेको थाहा हुँदैन; अर्द्धचेत अवस्थामा बोलेको हुन्छ । त्यसैले काँप्न छाडेपछि रोगले च्यापेका बेला आफूले के बोलें भन्ने कुरा थाहा पाउन त्यस्ता बिरामीलाई मुस्किल नै पर्छ । काँपेका बेला हिस्टेरियाका बिरामीले आफ्ना पीडा भुल्छन् । काँप्ने तथा बक्ने लक्षण देखिएका बेला मानसिक समस्यामा परेका त्यस्ता व्यक्तिका पीडा प्रस्फुटित हुन्छन्; मनमा गुम्सिएका पीडा बाहिर निस्कन्छन् ।

मनका कुण्ठा शारीरिक प्रतिक्रियाका माध्यमले प्रस्फुटित हुँदा काँप्ने वा बक्ने बेलामा हिस्टेरियाका बिरामीलाई आनन्द आउँछ । काँपिसकेपछि सामान्य अवस्थामा फर्कंदा त्यस्ता व्यक्तिलाई खुशी समेत मिल्छ । आनन्द मिल्ने भएकैले त्यस्ता रोगीले स्वचालितरूपमा नै यस्ता लक्षण पटक–पटक देखाइरहन्छन् । काँपेको तथा बकेको समयमा बिरामीप्रति अरु कसैको ध्यान आकर्षित भएन भनेचाहिँ हिस्टेरियाका बिरामीमा मानसिक समस्या अझ कडा हुन पुग्छ । त्यसपछि त्यस्ता बिरामीमा कडाखाले मानसिक रोग समेत निम्तन सक्ने जोखिम हुन्छ ।

धेरै मानिसको जमघट, आफूलाई माया गर्ने व्यक्ति तथा सहयोगी भएको अवस्था र भावना मिल्ने व्यक्ति नजिक भएको अवस्थामा हिस्टेरियाका रोगीले काँप्ने तथा बक्ने लक्षण बढ्ता देखाउँछन् । त्यस्तो बेलामा लक्षण देखाउँदा आफूप्रति धेरैको ध्यान केन्द्रित गर्न सकिने मानसिकता उनीहरूमा हुन्छ ।

त्यसैले त यस्ता रोगीले एकान्तमा रहँदा यस्ता लक्षण देखाउँदैनन् । यद्यपि यस्ता लक्षणहरू सचेतरूपमै देखाउँछु भनेर त देखिँदैनन्, स्वचालितरूपमा नै देखिने हुन् तर वातावरण (जमघट, चाडपर्व आदि) ले भने उनीहरूको मानसिकतामा सोझै प्रभाव पार्छ र लक्षण देखाउन या नदेखाउन अनुकूलता वा प्रतिकूलता सिर्जना गरिदिन्छ ।

यस्ता रोगीमा यी लक्षण एक पटक देखिँदा एकदेखि दुई दिनसम्म कायम रहन सक्छन् । यस्तो लक्षण देखाएका बेला त्यस्ता बिरामीलाई जबर्जस्ती गर्ने, पक्रनेजस्ता काम गर्नु हुँदैन; स्वतन्त्ररूपमा मनका बह पोख्न दिनु नै उचित हुन्छ ।

यसरी पार्न सकिन्छ निको !

प्रायः महिलामा देखापर्ने यस्तो समस्या १५ देखि ४० वर्ष उमेरसमूहकामा बढी देखिन्छ । यसै उमेरमा विभिन्न समस्या र तनाव बढ्ता हुने भएकाले समस्या पनि यही उमेरमा बढी देखिएको हो । यो रोगबाट छुटकारा पाउने राम्रो उपाय भनेकै तनाव व्यवस्थापन हो । रोगीको समस्या बुझिदिएर पारिवारिक तथा सामाजिकरूपले समाधान गरिदिँदा यो रोग निको हुन्छ ।

मनोचिकित्सक या मनोपरामर्शदाताकहाँ लगेर मनोपरामर्श दिलाएर पनि यो समस्याको समाधान गर्न सकिन्छ । यस्तो समस्या बढ्दै जाँदा अनेकौं कडाखाले मानसिक र सँगसँगै शारीरिक समस्या समेत थपिन सक्ने जोखिम भएकाले परामर्श तथा औषधिको प्रयोग गरेर बेलैमा उपचार गराउनु जरुरी हुन्छ ।

मनाेविद् ढकाल ‘मार्क नेपाल मनोपरामर्श केन्द्र’ मा कार्यरत छन्

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर