newskoseli.Com

के–के हुन् माओ त्से तुङका मुख्य योगदानहरू ?

(क) दर्शनको क्षेत्र

  1. द्वन्द्वात्मक भौतिकवादको सारतत्त्वका रूपमा एवम् प्रकृति, समाज र मानवीय ज्ञानका सबै क्षेत्रमा द्वन्द्ववादको आधारभूत नियमका रूपमा अन्तरविरोधको नियमको उदघाटन माओद्वारा भएको छ । अन्तरविरोधको सार्वभौमिकता र प्रधान अन्तरविरोधको निर्क्यौैलको पद्धति र महत्वको विश्लेषणले द्वन्द्ववादको समझदारीको विकासलाई नयाँ उचाइमा पुर्याएको छ । क्रान्तिको रणनीति र कार्यनीति निर्धारणमा अन्तरविरोधको आधारभूत नियमले खेल्ने महत्त्वपूर्ण भूमिका स्वतःस्पष्ट छ ।
  2. ज्ञानको सिद्धान्तको क्षेत्रमा माओले वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष एवम् वैज्ञानिक प्रयोगलाई ज्ञानको स्रोत बताएर इन्द्रिय ग्राह्यज्ञानबाट बुद्धिसङ्गत ज्ञानमा पुग्ने प्रक्रियाका सम्बन्धमा तथा सिद्धान्त र व्यवहारको आपसी सम्बन्धबारे गर्नुभएको विश्लेषणले मार्क्सवादी दर्शनमा महत्त्वपूर्ण योगदान पुगेको कुरा निर्विवाद छ ।
  3. संशोधनवादका विरुद्ध सङ्घर्षका क्रममा द्वन्द्ववादको प्रधान पक्षका रूपमा ‘एक दुईमा विभाजित हुन्छ’ भन्ने सम्बन्धमा गरिएको विशुद्ध व्याख्या र प्रयोगले संशोधनवादसँग लड्नका लागि क्रान्तिकारीहरूका हातमा एउटा धारिलो हतियार प्राप्त भएको छ ।
  4. आधार र उपरीसंरचनाको आपसी सम्बन्धबारे अधिभूतवादी र एकलकाँटे दृष्टिकोण अपनाई ‘उत्पादक शक्तिको विकासको सिद्धान्त’ र ‘अर्थवाद’ तिर जाने संशोधनवादीहरूको पुँजीवादी सोचाइहरूमाथि प्रहार गर्दै खासखास अवस्थामा चेतना र संरचनाको निर्णायक भूमिकाको व्याख्याले छद्म पुँजीवादलाई नाङ्गो पार्ने काम गरेको छ ।
  5. दर्शनलाई पुस्तकालय र दार्शनिकहरूको अध्ययन कोठाबाट निकालेर आम जनतासम्म पुर्याई एउटा अजेय शक्तिमा परिणत गर्नुपर्ने आवश्यकता र त्यसको विधिबारे माओले गर्नुभएको अनुसन्धानले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई उन्नत रूपले भौतिक शक्तिमा परिणत गर्ने आधार मिलेको छ ।

(ख) राजनीतिक अर्थशास्त्रको क्षेत्र

  1. राजनीतिक अर्थशास्त्रको क्षेत्रमा नोकरशाही पुँजीवादको चरित्रको विश्लेषण माओको एउटा महत्त्वपूर्ण खोजी हो । सामन्तवादसँग साँठगाँठ गरी जनतालाई लुट्ने एकाधिकार पुँजीवादको प्रतिनिधिका रूपमा उत्पीडित राष्ट्रहरूमा नोकरशाही पुँजीवादको विशेषताको रहस्य उदघाटन गरेर एकातिर नवऔपनिवेशिक अवस्थाको साम्राज्यवादको दानवीय चरित्रलाई नङ्ग्याउन तथा अर्कातिर उत्पीडित राष्ट्रहरूमा क्रान्तिको निशाना स्पष्ट पार्न मद्दत पुगेको छ । नोकरशाही पुँजीवादलाई ध्वंस गरी उनीहरूको सम्पत्ति कब्जा गरेर मात्र उत्पीडित राष्ट्रहरूबाट साम्राज्यवादलाई लखेट्न तथा समाजवादका लागि जग हाल्न सम्भव हुन्छ भन्ने निष्कर्षको ऐतिहासिक महत्त्व स्पष्ट छ ।
  2. समाजवादीकालको अर्थनीतिका आधारभूत सिद्धान्त (सोभियत सङ्घका अनुभवहरूको आलोचनात्मक अध्ययनसहित) को मजबुत जग बसाउने काममा माओको महत्त्वपूर्ण भूमिका रहेको छ । नोकरशाही आदेशद्वारा होइन, (सही अर्थनीतिको व्यापक प्रचारद्वारा) जनताको पहलकदमीमा वृद्धि गरेर नै समाजवादी अर्थव्यवस्थालाई मजबुत किसिमले विकास गर्न सकिन्छ भनी ‘क्रान्तिलाई दह्रोसँग पक्ड, उत्पादन बढाऊ (Grasp revolution and promote production)’ तथा ‘लाल र निपूण (Red & Expert)’ को नाराको क्रान्तिकारी महत्त्व स्पष्ट नै छ ।
  3. नयाँ जनवादी क्रान्तिका सन्दर्भमा ‘जमिन जोत्नेको’ आधारमा सामन्तहरूलाई ध्वंस गर्ने, एकाधिकार चरित्रका सम्पूर्ण वैदेशिक एवम् घरेलु आर्थिक निगमहरूलाई कब्जा गर्ने, जनजीवनलाई नियन्त्रण नगर्ने गरी व्यक्तिगत पुँजीलाई सीमित, नियन्त्रित र निर्देशित गर्ने, अर्थनीतिहरूको वैज्ञानिकता स्वयम् जीवनद्वारा प्रमाणित भइसकेका छन् । उपर्युक्त तथ्यहरूले माक्र्सवादी राजनीतिक अर्थशास्त्रको क्षेत्रमा माओद्वारा गरिएको विकास स्पष्ट हुन्छ ।

(ग) वैज्ञानिक समाजवादको क्षेत्र

  1. उत्पीडित राष्ट्रहरूमा नयाँ जनवादी क्रान्तिको समग्र अवधारणाको विकासमा माओको ऐतिहासिक योगदान सबैका अगाडि स्पष्ट छ ।
  2. साम्राज्यवादी युगको वर्गसङ्घर्षको अनुभवका आधारमा माक्र्सवादी सैन्यविज्ञानको उच्च शिखर जनयुद्धको सिद्धान्त (Theory of the peoples’ war) को विकासले अन्तर्राष्ट्रिय सर्वहारावर्गलाई एउटा शक्तिशाली हतियारले लैस गर्ने काम गरेको छ । यो सिद्धान्तअनुसार शक्तिशाली दुश्मनलाई परास्त गर्ने वैज्ञानिक विधि स्पष्ट भएको छ । ‘राजनीतिक सत्ता बन्दुकको नालबाट निस्कन्छ’ भन्ने माओको केन्द्रीकृत भनाइको महत्त्व पनि स्वयम् स्पष्ट छ ।
  3. समाजवादी कालभरी वर्गसङ्घर्ष जारी रहने र त्यससम्बन्धमा सोभियत सङ्घको प्रतिक्रान्तिमाथि ध्यान दिँदै माओद्वारा विकास गरिएको सर्वहारावर्गको अधिनायकत्वअन्तर्गत क्रान्तिलाई जारी राख्ने सिद्धान्त समाजवादी अवस्थामा पुँजीवादको पुनस्र्थापना रोक्ने एउटा मजबुत सैद्धान्तिक हतियार भएको छ । सर्वहारावर्गको नेतृत्वमा चलाइएको तेस्रो महान् क्रान्तिका रूपमा चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समग्र योजनाको सफल प्रयोग विश्व सर्वहारावर्गका लागि ऐतिहासिक दिशानिर्देश बनेको छ ।
  4. “साम्राज्यवाद र सबैखाले प्रतिक्रियावादी वर्ग कागजी बाघ हुन” तथा “आउँदा ५० देखि १०० वर्ष विश्व अजङ्गका हेरफेरबाट गुज्रनेछ” भन्ने भनाइहरूको असाधारण महत्त्व रहेको छ । यसले विश्व सर्वहारावर्गलाई क्रान्तिको रणनीति निर्धारणमा महान् योगदान पुर्याएको छ । रुसी संशोधनवाद र अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षमा माओ आफैँले तिनीहरूको प्रयोग गर्नुभएको छ ।

तत्कालीन नेकपा (एकताकेन्द्र) को दस्तावेज, २०४८ बाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर