newskoseli.Com

‘मतियार नबन्न’ दबावपछि ओलीगुटको भेलामा बादल गएनन्, लेखराज गए

अकस्मात संसद् विघटन गरेर प्रतिगमनकारी कदम चालेका प्रधानमन्त्री खड्ग ओलीले सोमबार बिहान सरकारी निवास बालुवाटारमा बोलाएको गुटभेलामा पूर्वमाओवादी नेता, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गएनन् । ओलीको प्रतिगमनकारी कदमलाई सघाउ पुर्‍याएर उनको मतियार नबन्न आफ्नै समूहका प्रायः सबै नेताले तीव्र दबाव दिएपछि यसअघि सधैंजसो ओलीका कदमलाई सघाउँदै आएका बादल ओली गुटको भेलामा नगएका हुन् ।

पूर्वमाओवादी नेता लेखराज भट्ट भने ओली गुटको भेलामा सहभागी भए । उद्योगमन्त्री समेत रहेका भट्ट गुटभेलामा ओलीकै लहरमा महासचिव विष्णु पौडेलसँगै बसेको तस्बिर सार्वजनिक भएको छ । ओलीको स्वेच्छाचारी कदमको प्रतिवाद गर्दै प्रचण्ड–माधव नेपाल समूहका पक्षधर ७ मन्त्रीले आइतबारै राजीनामा दिए पनि गृहमन्त्री बादल र उद्योगमन्त्री भट्टले भने राजीनामा दिएनन् । तर, बादल सोमबार भएको ओलीगुटको भेलामा नगए पनि भट्ट भने सहभागी भएका हुन् ।

‘ओलीको मतियार नबन्न हामीले बादल कमरेडलाई प्रेसर दिइरहेका छौ,’ मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट अलग्गिएर तत्कालीन माओवादी केन्द्रमा बादलसँगै समाहित भएका एक नेताले भने– ‘वैद्यबाट छुट्टिएर यता आएका हामी ३५ केन्द्रीय सदस्यमध्ये सबै नै ओलीको विपक्षमा छौं, बादल कमरेड भने अझै खुल्नुभएको छैन, उहाँलाई मनाउने प्रयास हामीले गरिरहेका छौं ।’

ओलीको मतियार बनेर प्रतिगमनलाई सहयोग पुउनु नहुने स्पष्ट दृष्टिकोणका साथ आफूहरू क्रियाशील रहेको उनीहरूको भनाइ छ । गृह मन्त्रालयमा बादलका ‘सल्लाहकार’ रहेका सूर्य सुवेदी ‘पथिक’ समेत कतै खुलेका छैनन् । तर, केन्द्रीय सदस्य रहेकी सुवेदीकी श्रीमती ज्ञानु बस्नेतले भने ओलीको कदमको प्रतिगमनकारी रहेको भन्दै फेसबुकमार्फत विरोध गरेकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर