newskoseli.Com

विप्लवले आह्वान गरे माघ १० मा नेपाल बन्द : धर्मेन्द्र बास्तोलाको गिरफ्तारीविरुद्ध साताव्यापी संघर्ष

विद्रोही नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माघ १० गते नेपाल बन्दको आह्वान गरेका छन् । सो पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को बुधबार भएको गिरफ्तारीविरुद्ध बिहीबार विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले माघ ३ देखि १० गतेसम्मको साताव्यापी संघर्ष र नेपाल बन्द घोषणा गरेका हुन् ।

‘२०७७ पुस २९ गते दिउँसो ३ बजे हाम्रो पार्टीका केन्द्रीय समिति सचिवालयका कमरेड कञ्चनलाई सामाजिक दलाल पुँजीवादी केपी ओली सरकारले पार्टी काममा खटिरहेका बेला ललितपुरबाट गिरफ्तार गरेको छ,’ विज्ञप्तिमा विप्लवले लेखेका छन्– ‘उहाँसँगै ब्युरो सदस्य कमरेड विवेक र कमरेड विशाललाई पनि पुलिसले गिरफ्तार गरेको छ । सर्वप्रथमतः हामी कमरेड कञ्चनलगायत कमरेडहरूको गिरफ्तारीको कडा विरोध एवम् घोर भर्त्सना गर्दछौं ।’

‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौं धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो,’ विप्लवले अगाडि लेखेका छन्– ‘यो निरङ्कुश, तानाशाही एवम् फासिस्ट प्रवृत्ति हो । यस खालको दमनका विरुद्ध आवाज उठाउन सबै राजनीतिक पार्टी, बुद्धिजीवी र आम नागरिकहरूलाई हामी विशेष अपिल गर्दछौं । साथै, हाम्रो पार्टीपङ्क्ति र श्रमिक जनतालाई गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका साथ सङ्घर्षमा अगाडि बढ्न निर्देशन गर्दछौं ।’

‘हामी केपी सरकार र राज्यलाई क्रान्तिकारी पार्टी, नेता–कार्यकर्तामाथिको दमन बन्द गर्न, गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई मुक्त गर्न साथै एकीकृत जनक्रान्तिलाई राजनीतिक विषयका रूपमा आत्मसात् गर्न आग्रह गर्छौं,’ विज्ञप्तिको अन्त्यमा महासचिव विप्लवले लेखेका छन्– ‘राज्यको फासिस्ट दमनले न्यायपूर्ण सङ्घर्ष कहिल्यै नरोकिने, बरु त्यसले एकपछि अर्को उचाइ पकड्दै गएर एक दिन दमनकारी राज्य र यसका सञ्चालक नै समाप्त हुने सत्य स्पष्ट गर्दछौं । केपी सरकारले बेलैमा यसलाई बुझोस् भन्ने हाम्रो चेतावनी छ ।’

यस्ता छन् विप्लवले घोषणा गरेका संघर्षका कार्यक्रमः

२०७७ माघ ३ गतेः देशव्यापी विरोध जुलुस
२०७७ माघ ५ गतेः देशव्यापी विरोध सभा
२०७७ माघ ७ गतेः देशव्यापी विरोध प्रदर्शन
२०७७ माघ ९ गतेः देशव्यापी मशाल जुलुस
२०७७ माघ १० गतेः नेपाल बन्द

यी समाचार पनि पढ्नुहाेस्–
संसद विघटन गर्ने ओलीको ‘कदम’ प्रति विप्लव ‘सकारात्मक’ !
वार्ताको तयारी चलिरहेकै बेला विप्लव नेकपा वार्ताटोलीका उच्च नेता पक्राउ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर