
नेकपाका प्रभावशाली नेता घनश्याम भुसालले नेपाल कम्प्युनिस्ट पार्टीको सिद्धान्त र नेतृत्वको विचार फरक हुँदा समस्या जटिल बनेको बताएका छन् । तत्कालीन एमालेको महाधिवेशनबाट अध्यक्ष चयन हुँदा नै फरक विचार र सिद्धान्तबाट प्रेरित भएको नेतृत्व अगाडि आएका कारण अहिले पार्टी विभाजन भएको उनले बताएका छन् ।
संसद् पुनर्स्थापना नभए देशमा अस्थिरता उत्पन्न भई विद्रोह हुने समेत उनले बताए । पाल्पाको तानसेनमा शनिबार भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा संसद् पुनर्स्थापना हुने कुरामा विश्वस्त रहेको भुसालले बताए । संसद् पुनर्स्थापना नभए देशमा आगो बल्ने समेत उनले बताए ।
पूर्वकृषिमन्त्री समेत रहेका भुसालले ओलीको अहमताका कारण देशमा भयंकर स्थिति निम्तन सक्ने बताउँदै भने– ‘यदि संसद् पुनर्स्थापना भएन भने हरेक जात, हरेक क्षेत्र, हरेक ठाउँ त्यो द्वन्द्वमा फस्ने कुरालाई सदर गरेको ठहरिने छ । ओलीको कुबाटोबाट त्यहाँ पुगिने हो, तर स्थिति त्यस्तो छैन, न्यायाधीशहरूले पनि कहिलेकहीं के भनेर निर्णय गर्छन् भने हाम्रो यस्तो निर्णय भयो भने मुलुकमा के हुन्छ ?’
लुम्बिनी प्रदेश इन्चार्च युवराज ज्ञवालीले दुनियाँ बदल्छु भनेर हिँड्नेहरू नै आफू बदलिन नसक्दा समस्या निम्तिएको बताए । उनले भने– ‘नेता, नेतृत्व र पार्टी एक–अर्काका परिपूरक सिद्धान्तका रूपमा रहेका हुन्छन् तर सिद्धान्तअनुसारको पार्टी नेतृत्व चयन हुन सकेन, आफू बदलिन नसक्ने तर अरूलाई बदल्छु भन्दै हिँड्नु मूर्खता हो ।’
पूर्वसभामुख ओनसरी घर्तीले केपी शर्मा ओलीले दम्भका कारण देशमा भएको ठूलो परिवर्तनलाई संस्थागत गर्न नसकिएको बताइन् । देशलाई अप्ठ्यारोमा पारेर मनोमानी गर्ने ओलीवाद एक दिन सकिने उनले बताइन् ।
विश्वमा नै नभएको कम्युनिस्टको खोल ओढेर ओलीले नेकपाको मूल सिद्धान्तलाई नै खलबल्याएको विभिन्न नेताहरूले बताएको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।