newskoseli.Com

एकताका मापदण्डबारे नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपालबीच ९ बुँदे सहमति (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले पार्टी एकताका बाँकी काम पूरा गर्ने मापदण्डमा सहमति गरेका छन् । तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको एकता प्रक्रियाले पूर्णता नपाउँदै ओली समूह अलग्गिएपछिको सन्दर्भअनुरुप एकता पूरा गर्न अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले मापदण्डमा सहमति जुटाएका हुन् ।

अध्यक्षद्वयबीच सहमति भएको मापदण्ड यस्तो छ–

१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं‌ पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो, त्यही पक्षबाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।

२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कूल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी गर्ने, विशेष परिस्थितिमा विशेष व्यवस्था गर्न सकिनेछ ।

३. पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । वरियतामा ध्यान दिँदा साविक घटकको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भए पनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेको वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।

४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भए पनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ताअनुसार प्रदेश कमिटीले निर्णय गर्ने । यसो गर्दा सक्रियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्न सक्नेमा विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने ।

५. पार्टी केन्द्रीय कमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिका रूपमा उपयुक्त व्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।

६. साविक नेकपा (एमाले) पंक्तिमा रहेका गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्न सक्ने कुरामा विशेष ध्यान दिने ।

७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गीय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा मापदण्डहरुअनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधानअनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।)

८. पार्टी पंक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्न सक्ने स्थिति निर्माण हुन सक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।

९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर