newskoseli.Com

ओलीद्वारा एमाले एकलौटी कब्जा : महासचिवबाहेक सबै पदाधिकारी बर्खास्त !

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले एकलौटीरूपमा एमाले कब्जा गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार दिउँसो २०५ सदस्यीय साविक केन्द्रीय कमिटीमा २०० जना र सोह्र सदस्यीय पदाधिकारीमा ९ जना रहेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा उपाध्यक्ष वामदेव गौतम पक्षधरहरू कसैलाई पनि सहभागी नगराई ओलीले आफ्नो समूहका मात्रै केन्द्रीय सदस्य र पधाधिकारीहरूको ‘बैठक’ राखेर एमाले कब्जा गरेका हुन् ।

ओली समूहको उक्त बैठकले महासचिवबाहेक सम्पूर्ण पदाधिकारीलाई बर्खास्त गरेको छ र विघटित नेकपाको ओली समूहले एकलौटीरूपमा यसअघि केन्द्रीय कमिटीमा मनोनीत गरेका सबैलाई ‘एमालेका केन्द्रीय सदस्य’ घोषणा गरेको छ । यसरी शुक्रबारको निर्णयले वैधानिकता पाउने र लागू हुने हो भने अब झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायतका समूहका तर्फबाट चानचुन २०० जनाजति मात्रै तर ओली समूहका भने लगभग १२०० जनाजति केन्द्रीय सदस्यहरू रहन पुगेका छन् ।

ओली समूहले देशभरका सबै प्रदेश र केन्द्रीय विभागहरूको नेतृत्व समेत एकलौटी ढंगले कब्जा जमाएको छ । शुक्रबारको ‘बैठक’ बाट प्रदेश– १ मा सुवास नेम्बाङ, प्रदेश– २ मा सत्यनारायण मण्डल, वागमती प्रदेशमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्टलाई पार्टीको प्रदेश इन्चार्ज तोकेको छ । सोही बैठकले संगठन विभागको प्रमुखमा विष्णु पौडेल र विदेश विभागको इन्चार्जमा डा. राजन भट्टराईलाई तोकेको छ । यसैगरी, प्रदीप ज्ञवालीलाई प्रचार विभाग प्रमुख तथा प्रवक्ता तोकिएको छ भने स्कुल विभाग प्रमुखको जिम्मेवारी ओली आफैंले लिएका छन् ।

असार, २०७१ मा भएको एमालेको नवौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए । साेही महाधिवेशनबाट विद्या भण्डारी, वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल उपाध्यक्षमास ईश्वर पोखरेल महासचिवमास विष्णु पौडेल र घनश्याम भुसाल उपमहासचिवमा तथा पृथ्वीसुब्बा गुरुङ, प्रदीप ज्ञवाली, भीम आचार्य, योगेश भट्टराई र गोकर्ण विष्ट सचिवमा चुनिएका थिए । तर, शुक्रबारको ओली समूहको बैठकले केन्द्रीय पदाधिकारीमा अध्यक्ष र महासचिव मात्रै रहने भन्दै अरु सबै पदाधिकारीलाई बर्खास्त गरिदिएको छ ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका पार्टीका सबै कमिटी र जनसंगठनका नेतृत्व समेत यथावत रहने जानकारी अध्यक्ष ओलीले बैठकमा दिएको बताइएको छ । शुक्रबार बसेको औली समूहको सोही बैठकले एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुने भनी मिति समेत निर्धारण गरेको छ । ओलीले अब केन्द्रीय कमिटीको अर्को बैठक चैत ७ मा बस्ने जानकारी दिँदै शुक्रबारको बैठकमा नबोलाइएका झलनाथ, माधव, वामदेवलगायत पनि उक्त बैठकमा भने आमन्त्रण गर्न महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको बताइएको छ ।

न्युजकोसेलीको भिडियो सेवा के तपाईंले हेर्ने गर्नुभएको छ ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर