newskoseli.Com

ओलीका कसरत : माधव पक्षसँग छलफल, प्रचण्डलाई फोन र ‘असान्दर्भिक’ चियापान

आफ्नै सनकी, उद्दण्ड र बहुलट्ठीपूर्ण कामहरूका कारण चरम राजनीतिक संकटमा फसेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीले परिस्थितिलाई आफूअनुकूल ढाल्ने प्रयासस्वरुप आइतबार र साेमबार अनेकौं कसरत अगाडि बढाएका छन् ।

कुनै सन्दर्भ र प्रसंगविनै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ‘चियापान’ कार्यक्रमको आयोजना गरी आफूसँग बिच्किएका नेताहरुलाई ओलीले आइतबारैदेखि ‘निम्तो बाँड्दै’ हिँडेका छन् । सोमबार उनले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्षीय नेताहरुलाई बोलाएर धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा छलफल गरे । सो छलफलमा वरिष्ठ नेता खनाल भने सहभागी भएनन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आइतबार नै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेर ‘भेटघाट गर्न’ प्रस्ताव राखे । खनाल–नेपाल पक्षले बुधबार र बिहीबार राजधानीमा छुट्टै राष्ट्रिय भेला बोलाएपछि र कांग्रेस तथा जसपा ओली सरकार टिकाउन सहमत नभएपछि चौतर्फी दबावमा परेका ओलीले प्रचण्डलाई फोन गरेर ‘भेट गरौं न’ भनेका खबरहरु प्रकाशित भएका छन् ।

खनाल–नेपाल पक्षले भने चैत ४ र ५ मा आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । अध्यक्ष ओलीसहितका नेताहरुसँग सोमबार दुई घन्टाभन्दा बढी छलफल गरेर फर्किएका नेपालले राष्ट्रिय भेला नरोकिने बताएका हुन् । ओली समूहसँगको सम्वाद सकारात्मक हुन नसकेकाले भेला नरोकिने उनको भनाइ छ ।

धुम्बाराहीमा ओली पक्षसँग छलफल गरेर फर्किएपछि खनाल–नेपाल पक्षले बानेश्वरमा केन्द्रीय सदस्य तथा सांसदहरुको भेला राख्यो । ओलीसँगको छलफल सकारात्मक दिशाउन्मुख नभएकाले कुनै पनि हालतमा राष्ट्रि भेला नरोकिने निर्णय उक्त भेलामा नेपालले सुनाए । ओलीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी नहुन खनाल–नेपाल पक्षले आफू पक्षधर नेता–कार्यकर्तालाई निर्देशित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर