
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भई बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम आफ्नो पार्टीको नामसँग जुधेको भन्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपाले सर्वोच्च अदालतमा मुद्धा हालेको थियो । उक्त मुद्धाको सुनुवाइ गर्दै न्यायाधीशहरू कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले रिट निवेदकको मागदावी र मुद्धाको सन्दर्भ एवं प्रसंगभन्दा बाहिर गएर नितान्त असान्दर्भिक र हाँसोउठ्दो किसिमले खास राजनीतिक समूहको स्वार्थपूर्ति गरिदिने हिसाबले २३ फागुनमा ‘फैसला’ सुनाएको थियो ।
नेकपाको समग्र एकता प्रक्रिया नै ‘खारेज’ गरी पूर्वतत एमाले र माओवादी केन्द्र ‘ब्युँताउने’ गरी सर्वोच्च अदालतका नामबाट आएको उक्त ‘फैसला’ प्रति असहमति जनाउँदै सो ‘फैसला’ बारे पुनरावलोकन गर्न माग गर्दै तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गराएका छन् ।
सर्वोच्चको ‘फैसला’ चित्त बुझ्दाे र स्वाभाविक किसिमको नभएको निष्कर्षका साथ पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय माओवादी केन्द्रले यसअघि नै गरेको थियो । कानुन व्यवसायीहरुसँग पटक–पटक गरेको छलफलमा पनि माओवादी केन्द्रलाई फैसलाको पुनरावलोकनमा जान सुझाव दिएपछि माओवादी केन्द्र पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो ।