newskoseli.Com

माधव–ओली भेटघाट : २ घन्टासम्म के–के भए कुराकानी ?

एमाले अध्यक्ष खड्ग ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयदेखिको संवादहीनता तोडिएको छ । काठमाडौंस्थित होटल मेरियटको कोठा नम्बर ९०१ मा बुधबार २ घन्टा चलेको छलफलमा नेपालले भने ‘पार्टी जोगाउन’ ओलीसँग अनुरोध गरे ।

छलफलका क्रममा सुरुको एक घन्टा ओली मात्रै बोलेको त्यहाँबाट फर्किएपछि नेपालले निकटस्थहरूलाई ब्रिफिङ गरेका छन् । ‘उहाँले एमाले र माओवादीबीचको एकीकरणको पृष्ठभूमिदेखिका कुरा गर्नुभयो, त्यसपछि नेकपामा भएका गतिविधि, एक–अर्कालाई गरेको कारबाहीका सबै कुरा उठाउनुभयो,’ नेपालले आफूनिकट नेताहरूलाई भने– ‘मैले उहाँका कमजोरीबारे बताएँ, एकताका लागि पहल गर्नोस् भनें; कुनै ठोस प्रस्ताव आएन, अर्को पटक फेरि बस्ने भनेर उठ्यौं ।’

२०७५ जेठ ३ अघिको अवस्थाबाट अघि बढे फुटबाट पार्टीलाई जोगाउन सम्भव हुने नेता नेपालले बताएका थिए । जवाफमा ओलीले नयाँ परिस्थितिमा एमाले निकै अगाडि बढिसकेको बताएका थिए । ‘नेकपामा आफ्नो बहुमत हुँदा तपाईंहरूले मलाई चार पटक कारबाही गर्नुभयो, पार्टीको साधारण सदस्यबाट समेत निकाल्नुभयो, म भुइँमा पछारिएको मान्छे, धूलो टकटक्याउँदै उठें,’ ओलीको जवाफ उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो– ‘निर्णयहरू यथावत् छन्, गुटगत वार्ताभन्दा पनि आउने १० गतेको बैठकमा सहभागी हुन आउनोस् म आग्रह गर्छु, त्यहीं छलफल गरौं ।’

नेपाल–ओली दुई घन्टा सँगै बसे पनि आपसी गुनासोमै समय बिताएको सम्बद्ध स्रोतहरूको भनाइ रहेको खबर बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर