newskoseli.Com

बर्बादीतर्फ बादल : ओली कृतघ्नताको यसरी बने शिकार

तत्कालीन नेकपा (माओवादी केन्द्र) मा रहँदा पार्टीको दोस्रो वरियतामा रहेका पूर्वमाओवादी नेता रामबहादुर थापा ‘बादल’ लाई नेकपा (एमाले) को ओली समूह (सग्लो एमाले नभई केवल ओली समूह) को पनि चौथो वरियतामा खुम्च्याइदिएर प्रधानमन्त्री खड्ग ओलीले ‘राजनीतिक बर्बादी’ को बाटोतर्फ धकेलिदिएका छन् ।

विघटित नेकपामा द्विपक्षीय शक्ति–संघर्ष चर्केका बेला सो पार्टीमा सचिवालय सदस्य रहेका गृहमन्त्री बादल दुवै पक्षको तानातानमा थिए । ९ सदस्यीय सचिवालयमा बादल जता खुल्यो, त्यत्रै बहुमत पुग्ने हुँदा उनी दुवै पक्षको तानातानमा थिए । नेकपा विभाजित भइसक्दा समेत बाहिर–बाहिर ‘तटस्थ’ देखिँदै भित्र–भित्रचाहिँ प्रचण्ड–माधव पक्षका विरूद्ध ओलीलाई सघाइरहेका बादल गृहमन्त्रीको ‘जागिर’ जोगाउनकै लागि अन्तिम घडीमा एक्लै ओलीतिर लागेका थिए ।

तीसौं वर्ष सहकार्य गरेका अध्यक्ष प्रचण्ड र आफूपक्षीय भनेर चिनिएका दर्जनौं माओवादी नेताहरुको साथ छाडेर बादल एक्लै एमालेमा पस्दा धेरैले उदेक मानेका थिए । कम बोल्ने र हमेशा प्रतिक्रिया जनाइनहाल्ने स्वभावका बादलले हरहिसाब र सोचविचार गरेरै यस्तो निर्णय लिएको हुन सक्ने धेरैको अनुमान थियो । प्रचण्ड(नेपाल र ओली दुबै पक्षसँग समानान्तर छलफल चलाउँदै ‘बार्गेनिङ’ गरिरहेका बादल प्रधानमन्त्री ओलीले पार्टीमा सहअध्यक्ष र सरकारमा उपप्रधानमन्त्री बनाइदिने उधारो कागज गरेपछि उतै मोडिएको चर्चा थियो ।

झन्डै चार दशक लामो राजनीतिक इतिहासलाई दाउमा राखेर एमाले बनेका बादल अहिले भने कन्तबिजोगको अवस्थामा पुगेका छन् । ओलीले उनलाई उपप्रधानमन्त्री त बनाएनन् नै, जेठपछि राष्ट्रियसभाको चुनाव हार्दा छँदाखाँदाको गृहमन्त्री पद समेत गुम्ने निश्चित भएको छ । अर्कातिर उनलाई पार्टीमा पनि सहअध्यक्ष बनाउने त परकै कुरा भयो, शुद्ध ‘ओली गुट’ मा समेत चौथो वरियतामा झारिएको छ ।

जेठ ६ मा हुने भनिएको उपचुनावमा बादलले हार्ने ग्यारेन्टीजस्तै छ । ‘जेको सुरक्षा खोज्दै उहाँ एमालेमा पस्नुभएको थियो, त्यही नपाउने भएपछि बिजोग त हुने नै भयो नि’– जनयुद्धकालदेखि नेकपा विघटना हुँदासम्म ‘बादल गुटको’ भनेर चिनिएका माओवादी केन्द्रका एक नेताले भने ।

शुक्रबार गठन गरिएको ओली समूहको स्थायी कमिटीमा बादललाई ओली, वामदेव गौतम र ईश्वर पोखरेलपछिको चौथो वरियतामा राखेर ओलीले उनको ‘हैसियत’ प्रष्ट्याइदिएका छन् । यसअघि विभिन्न बैठक तथा कार्यक्रमहरुमा ईश्वर पोख्रेल र पूर्वसभामुख सुवास नेम्बाङलाई दाँया–बाँया राखेर ओलीले बादललाई नेम्बाङभन्दा पनि तल राख्ने संकेत दिइसकेका थिए । यद्यपि आज गठित स्थायी कमिटी सदस्यको नामावलीमा भने नेम्वाङभन्दा माथि नै राखिएको छ ।

पार्टी विभाजनको कठिन घडीमा साथ दिए पनि ओलीले चौथो वरियतामा थन्क्याइदिएपछि माओवादी आन्दोलनको लामो पृष्ठभूमि त्यागेर एमालेमा मिसिएका बादललाई अहिले ‘थाल खाउँ कि भात खाउँ’ को अवस्था आइलागेको उनीनिकट नेताहरु बताउँछन् । ‘बादल कमरेडलाई ओलीले उठ्नै नसक्ने गरी थान्को लगाइदिए । अब केही समय झन्डा हल्लाए पनि राजनीतिमा उहाँको केन्द्रीय भूमिका सकियो’– माओवादी केन्द्रका ती नेताले भने ।

‘यसै पनि एक्लै एमालेमा मिसिनुभएका बादललाई एमालेको राजनीतिमा जम्न सहज थिएन,’ ती नेताले भने– ‘अब त उहाँ झन् खतरामा पर्नुभयो ।’ बादल अब एमालेको राजनीतिबाट मात्र होइन राजकीय भूमिकाबाट समेत बर्बादीको दिशातर्फ धकेलिने देखिँदैछ । माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि बादल ओली सरकारको म्यादी मन्त्रीका रुपमा सिंहदरबारको जागिरे जस्तै मात्र भएका छन् । अब फेरि माननीय जितेर आउने सम्भावना निकै कम भएकाले ६ महिनापछि बादलले मन्त्री पदबाट हात धुनुपर्ने अवस्था आउँदै छ ।

‘माधव नेपाल पक्षले बादललाई भोट हाल्दैन, माओवादी केन्द्र र काङ्ग्रेसले पनि माया गर्ने कुनै ठाँउ बाँकी छैन,’ ती नेता भन्छन्– ‘खै कसरी जित्नुहोला र बादलले अबको राष्ट्रियसभा निर्वाचन !’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर