
एमाले अध्यक्ष एवं प्रधानमन्त्री खड्ग ओलीका ‘दाहिने हात’ मानिएका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आइतबारै उनको राजीनामा स्वीकृत गरेर अर्को सरकार गठन नहुँदासम्म मुख्यमन्त्री गुरूङसहित मौजुदा मन्त्रिपरिषदले कार्यसञ्चालन गर्ने जिम्मेवारी तोक्दै तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान समेत गरिसकेकी छन् ।
मुख्यमन्त्री गुरुङविरूद्ध प्रदेशसभामा २ वैशाखमै अविश्वासको प्रस्ताव पेस भएको थियो । सो अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची रहेकै बेला आफू अपदस्थ हुने सुनिश्चित देखेका गुरुङले आइतबारै अकस्मात राजीनामा दिएका हुन् । राजीनामापछि गुरुङले ‘आफूलाई काम गर्ने वातावरण नै नदिइएको’ गुनासो गर्दै सात पेज लामो राजीनामा वक्तव्य जारी गरेका छन् ।
सोमबारै विश्वासको मत हासिल गर्ने प्रयास गरिरहेका प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न नसक्ने सुनिश्चितता बढिरहेकै पूर्वसन्ध्यामा हतास मुद्रामा दिएको गुरुङको राजीनामाले ओली समूहको पराजय–यात्रा अघि बढेको प्रतिक्रिया माधवकुमार नेपाल पक्षधरहरुले दिएका छन् । गण्डकीका गुरुङसँगै, केन्द्रमा ओली, लुम्बिनीमा शङ्कर पोखरेल र प्रदेश– १ मा शेरधन राई समेत छिटै सत्ताच्युत हुने दावी नेपालपक्षीय एक नेताले गरे ।