newskoseli.Com

पदमुक्त भए प्रधानमन्त्री ओली : विपक्षमा १२४, पक्षमा ९३, तटस्थ १५, सांसद संख्या २७१

एमाले अध्यक्ष खड्गप्रसाद ओली प्रधानमन्त्रीबाट पदमुक्त भएका छन् । सोमबार अपराह्न संसद् भवन नयाँ बानेश्वरमा भएको मतविभाजनका क्रममा उपस्थित २३२ सांसदमध्ये १२४ जनाले ओलीको विपक्षमा मतदान गरेका छन् भने १५ जनाले पक्ष–विपक्षमा मत नदिई तटस्थ बसेका छन् । ओलीले भने ९३ मत मात्रै प्राप्त गरे, जबकि उनकै दल एमालेकै १२१ सांसद् छन् । प्रतिनिधिसभामा यतिबेला बहाल २७१ सांसदमध्येको बहुमत अर्थात् १३६ सांसदको विश्वास आर्जन गर्न नसकेपछि ओली पदमुक्त भएका हुन् ।

ओली पदमुक्त भएलगत्तै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त गर्ने गरी नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया सुरु गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका छन् । संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन तीन दलले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमार्फत त्यस्तो आग्रह गरिएको हो ।

  • प्रतिनिधिसभाको सिट संख्याः २७५
  • दलको कारबाहीका कारण निष्काशितः ४ जना (लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरी)
  • निलम्बितः ४ जना (जसपाका रेशम चौधरी जेलमा, हरिनारायण रौनीयार निलम्बित। कांग्रेसका विजय गच्छदार निलम्बित, मोहम्मद अफताफ आलम जेलमा) 
  • नियमअनुसार मत नदिनेः सभामुख अग्निप्रसाद सापकोटा।
  • उपस्थित भएर मत नहाल्नेः प्रेम सुवाल।
  • अनुपस्थितः नेकपा एमालेका २८ जना। जसपाबाट लक्ष्मणलाल कर्ण र रूहिनाज। नेकपा माओवादी केन्द्रबाट सुरेन्द्र कार्की र गजेन्द्र महत। राप्रपाका राजेन्द्र लिङ्देन।

ओलीले आह्वान गरेको विश्वासको मत दिने बैठकमा एमालेका २७ सांसद अनुपस्थित रहे भने एक जना उपस्थित भएरै पनि मत नदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आरोप लगाएका छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका ४ सांसद पदमुक्त भएका छन् भने ४ सांसद निलम्बित भएकाले पद त छ तर भोट हाल्न पाउँदैनन् । तीबाहेक ३३ सांसद् सोमबार सदनमा अनुपस्थित रहे ।

थापाले सार्वजनिक गरेको सूचीअनुसार एमालेका निम्न सांसदले ओलीलाई मत दिएनन्–

१. योगेश भट्टराई
२. झलनाथ खनाल (अस्पतालमा)
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६. यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणि चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४. कल्याणी खड्का
२५. निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भोट नहालेकी)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर